काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जु झाले लिङ्ग परिवर्तन र हर्मोनल क्लिनिक गैरकानुनी रहेको बताएकी छिन् ।
आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले लिङ्ग परिवर्तन र हर्मोनल क्लिनिक नेपालमा गैरकानुनी रहेको बताएकी हुन् ।
हर्मोन क्लिनिक र लिङ्गी परिवर्तन गराउन उक्साउने काम तत्काल नरोके यसले विकराल रूप लिने बताउँदै उनले भनिन्, ‘उहाँहरू महिला र पुरुष भएर नागरिकता लिने तरखरमा हुनुहुन्छ, नेपाल सरकारले दिएको पाइएको छ । त्यसको पनि म ध्यानाकर्षण गराउन चाहान्छु, त्यस्तो गलत प्रवृत्ति, गलत काम, गैरकानुनी कामलाई सरकारले रोकोस् ।’
नागरिकता ऐन २०६३ मा भएको संशोधन अनुसार समलिङ्गी, तेस्रो लिङ्गीलाई पहिचान अनुसार अन्य विधामा नागरिकता दिने व्यवस्था भए पनि महिला, पुरुष र पुरुष, महिला बन्ने गलत अभियान यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको हक अधिकारमा काम गर्ने गैरसरकारी संस्थाहरूले चलाएको उनको आरोप छ ।
‘व्यक्तिगत स्वार्थका लागि समुदायको स्वास्थ्यमा गम्भीर असर पर्ने मात्र नभई मृत्यु समेत हुन थाल्दा समेत नेपाल परिवार नियोजन सङ्घसँग मिलेर हर्मोन क्लिनिक नै सञ्चालन गरेका छन् । लिङ्ग परिवर्तनका लागि उक्साउने गरेका छन्,’ उनले भनिन् । देशभरका ७५३ स्थानीय तहमा सिटामोल पुग्न नसकेको अवस्थामा फेसनको रूपमा हर्मोन क्लिनिक सञ्चालन गर्ने काम तत्काल रोकिनुपर्ने उनको जोड छ ।
FACEBOOK COMMENTS