दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घोराही–तुलसीपुर चार लेन सडक निर्माणकार्यमा राजनीति नगर्न सुझाव दिएकी छिन् ।
नारायणपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणपुरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको उद्घाटन गर्दै उनले भनिन्, “जनदबाब हुँदा त्यसले माथि दबाब दिन पनि सहज हुन्छ, तर चार लेनमा राजनीति गरेर अस्वाभाविक विरोध गर्दा त्यसले फाइदा दिँदैन ।”
चार लेन सडक नबन्दा कष्टकर रहेको भन्दै निर्वाचन जितेदेखि नै पहिलो प्राथमिकतामा राखेर चार लेनकै प्रक्रिया अगाडि बढाइरहेकोसमेत उनको भनाइ छ । अब आउने बजेट भाषणभन्दा अघि नै चार लेनको ठेक्का तोड्ने गरी तयारी गरेकोसमेत उनको भनाइ छ । “ठेक्का नतोड्दासम्म त्यसमा ठेकेदारकै अधिकार हुने र सरकारले चाहेर पनि केही गर्न सक्ने अवस्था रहँदैन”, उनले भनिन्, “त्यसैले पहिले ठेक्का तोड्छौँ, त्यसपछि अहिले दुई लेनकै मर्मत कार्य गर्छौँ ।”
भारतीय एक्जिम बैंकको लगानीमा भारतीय तथ्य कम्पनीले काम गरिरहेको भए पनि यो ठेकेदार कम्पनीको ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया अगाडि बढाएर काम अगाडि बढाउने गरी तयारी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसपछि नयाँ ठेकेदारमार्फत चार लेनको काम अघि बढ्नेसमेत उनको भनाइ थियो ।
त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्रीसहित भारतीय राजदूतावास र सोही प्रोजेक्ट हेर्ने सचिवसँग पनि छलफल भइसकेको छ । एक्जिम बैंकले लगानी गरेका दाङमात्रै नभई नेपालकै दर्जन बढी स्थानको हालत यस्तै रहेको मन्त्री शर्माले बताइन् ।
साथै उनले दाङमा विमानस्थल विस्तारको पनि उत्तिकै विवाद आउने भन्दै दाङवासीलाई सहज हुने गरी विमानस्थल विस्तार गर्नुपर्ने बताइन् । “म घोराहीवासी भएर नारायणपुर नै हुनुपर्छ भन्ने पनि छैन”, उनले भनिन्, “समग्र दाङवासीलाई जहाँ बनाउँदा सहज हुन्छ, त्यहीँ बनाउने हो, त्यसका लागि दाङबाट नेतृत्व गर्ने नेता एकजुट हुनुपर्छ ।”
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएको भन्दै अबको केही समयमा ब्याचलर र एमडीस्तरका शैक्षिक कार्यक्रम सुरु गर्ने गरी तयारी गरेको समेत उनले बताइन् । त्यस्तै अहिले वृद्धभत्ता कटौती गर्न लागेको भनी गलत प्रचार हुने गरेको भन्दै त्यो सत्य नभएको समेत बताइन् ।
मन्त्री शर्माले सरकारले वैदेशिक रोजगारमा गएकालाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता दिने कुरासमेत रहेको बताइन् । दाङ जिल्लाको लाइफ लाइनका योजनाअन्तर्गत खङ्ग्रा नाकाबाट नारायणपुर हुँदै होलेरी, रक्षाचौरको बाटो, मुर्कुटी प्यूठानको बाटो, प्रहरी चौकी, स्वास्थ्य चौकीको स्तरोन्नतिलाई सरकारले प्राथमिकताका साथ लिएको पनि मन्त्री शर्माले बताइन्यो । साथै अत्यावश्यक कानून निर्माणको काम पनि अघि बढिरहेको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS