काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालका बहुमत सचिवालय सदस्य मंगलबार दिउँसो सिंहदरबारमा भेला भए ।
असार १९ गते अहिले नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेका तत्कालीन नेकपाका सचिवालय सदस्य वामदेव गौतमको पहलमा बैठक बसेको थियो । जसको निरन्तरता आजको बैठक भएको नेताहरुले बताए ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुनै लाग्दा गठबन्धनमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका साथमा वामदेव गौतम छलफलमा जुटेका हुन् । छलफलमा आगामी निर्वाचन, सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एवं नेकपा कालको एक दल एमालेका पछिल्ला निर्णयहरुबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकपछि सबैभन्दा पहिला वामदेव गौतम, माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएका थिए । बाहिरिने क्रममा रहेका नेताहरुलाई सञ्चारकर्मीले बैठकका बारेमा प्रश्न राखे । अगाडि रहेका वामदेवले नारायणकाजीले बोल्नु हुन्छ भन्दै टार्न खोजे । माधव नेपाल र झलनाथ खनाल केही बोलेनन् ।
लिफ्ट खुल्नु अघि वामदेवलाई पत्रकारले फेरि प्रश्न गरे, ‘ वामदेव काम्रेणले केही प्रस्ताव राख्नु भएको हो नेकपाकालीन?’ तर उनले जवाफ दिएनन् । हात हल्लाउँदै हास्दै बसे ।
लिफ्ट खुलेसँगै गौतम, नेपाल र खनाल प्रवेश गरे । पत्रकारले वामपन्थी दलहरुबीचको एकताबारे प्रश्न गरे । जवाफ झलनाथले दिए । उनले भने, सिंगै राष्ट्रलाई एक बनाउने ।
त्यसपछि प्रचण्ड आइपुगे । उनले बैठकबारे जानकारी दिए । ‘बसेको थाहा भइहाल्यो नेकपा कालका सचिवालयका बहुमत सदस्य । पहिला पनि बसेका थियौं’ उनले भने, ‘गठबन्धनलाई कामय राखेर अघि जानु पर्छ भन्नेमा विमति छैन । स्थानीय तहको निर्वाचनको परिणामलाई समेत ध्यान दिएर गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने बारे छलफल भयो । ‘
उनले अगाडि भने, ‘नेकपा एउटै पार्टी भयौं हिजोका सचिवालयका बहुमत हौं हामी । विचार मिल्नेका बीचमा एकताको सम्भावनाबारे छलफल गरिरहेका छौं, त्यो भनेको गठबन्धनको विरुद्ध भनेको होइन ।’ भारत भ्रमणबारे सोधिएको प्रश्नमा भने उनले जवाफ दिएनन् ।
FACEBOOK COMMENTS