काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले राज्य सत्ता र शक्तिको स्रोत पूर्णत: नागरिकलाई मानेको बताएका छन्।
१९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताएका हुन्।
‘हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो, जनता आफैंले बनाएको संविधानमार्फत यसलाई हामीले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाएका छौं, अत: संसारमै यो भन्दा उन्नत अर्को कुनै व्यवस्था छैन।’,
राष्ट्रपति पौडेलले भने, ‘यो यसकारण पनि कि, यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ, राज्य सत्ता र शक्तिको स्रोत पूर्णत: नागरिकलाई मानेको छ, हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रुपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौं, यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुर्याएको छ।’
उनले गणतन्त्रले सबैलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताए।

पौडेलले भने, ‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो।’

बलियो जनादेशसहितको सरकार बनेको छ

मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको र यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको उनको भनाई छ।
उनले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति भएको बताए । उनले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यीनै बेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्नेमा जोड दिए।
‘जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा हुँदैन’ , राष्ट्रपति पौडेलले भने ।
उनले आज नागरिकले सुशासनसहितको समृद्धि खोजेकाले स्रोतहरूको उच्चतम् प्रयोग गर्न आवश्यक भएको बताए। शासकीय चरित्रलाई बदल्नुपर्ने बताउँदै उनले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने धारणा व्यक्त गरे ।
‘गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु’, उनले भने ।
राष्ट्रपति पौडेलले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक सम्बृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिए । ‘हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्दछ, हाम्रा शासकीय संरचना र राज्यअंगहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ, हामीले सुशासनको प्रत्याभूति दिनै पर्दछ’, उनले भने ।
आज ऐतिहासिक दिन हो
राष्ट्रपति पौडेलले स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिमको जिम्मेवारी निर्वाह गरिरहेको बताउँदै यस शासकीय व्यवस्थामा जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको दाबी गरे।
राष्ट्रपति पौडेलले भने, ‘नागरिकको गुनासो भए शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भैरहेको छ, यसले लोकतन्त्रको जरा बलियो बनाउँछ, लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ।’
उनले आजको दिन हाम्रा लागि विशेष भएको र यो दिन मात्र एक साधारण दिन नभई एक ऐतिहासिक दिन भएको बताउँदै आजभन्दा ठिक १९ वर्ष अगाडि हामीले नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको स्मरण गरे।