वीरगञ्ज । सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को भदौसम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई भदौसम्म नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर भदौसम्मको लक्ष्य पछ्याउन भने सकेन । कार्यालयले चालू आवको साउनमा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार सङ्कलन गरेको छ भने भने चालु आवकै भदौमा भने चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व सङ्कलन गरेको छ ।
सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले चालु आवको दुई महिनामा राजस्व सङ्कलन सकारात्मक बताए । ‘भन्सार विभागले दिएको लक्ष्यको साउनमा ७९ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भयो भने भदौमा पनि मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन गरेका छौँ’, उनले भने, ‘भदौमा चाडपर्व लक्षित आयात भएर लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्ने अपेक्षा भए पनि शतप्रतिशत सङ्कलन हुन भने सकेन ।’ भन्सार विभागले कार्यालयलाई ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य दिएको छ । कार्यालयले चालू आवको दुई महिनासम्मको अवधिसम्म कुल वार्षिक लक्ष्यको १३ दशमलव ९८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत बरुवालले दशैँ र तिहारजस्ता चाडपर्व नजिकै आउन लागेकाले पनि विदेशी तयारी मदिराजन्य आयात बढेको बताए । कार्यालयले आव २०८०/०८१ को भदौसम्ममा भने आठ अर्ब ६५ करोड २० लाख ५९ हजार राजस्व सङ्कलन गरेको थियो । त्यस्तै आव २०७९/०८० को भदौसम्ममा रु सात अर्ब ६० लाख २२ लाख ३४ हजार राजस्व सङ्कलन गरेको थियो ।
FACEBOOK COMMENTS