काठमाडौँ । ऋषि धमला नेपाली सञ्चार जगतमा चर्चित नाम हो । उनैको नेतृत्वमा टेलिभिजन र रेडियो स्टेशनसमेत सञ्चालनमा छन् । धमला अरूका अन्यायमा चर्को गरी आवाज उठाउने गर्छन् । कतिपय घटनामा त उनी रोएजस्तो पनि गर्न भ्याउँछन् । मानौँ, त्यो उनको व्यक्तिगत पीडा नभए पनि त्यसले उनलाई पीडितलाई जति नै पीडा परेको होस् । यस्तोमा उनी आफैँबाट कसैलाई अन्याय होला भनेर प्रायः कसैले सोच्दैनन् । तर, सत्य यो हो कि उनीबाटै पनि कोही अन्यायमा परेका छन् । र, ती हुन्- स्वर्गीय पत्रकार श्यामसुन्दर पुडासैनी ।
धमलाको नेतृत्वमा सञ्चालित ‘प्राइम टाइम्स’ टेलिभिजनमा गरेको कामबापतको पारिश्रमिकको ठूलो रकम पत्रकार पुडासैनीको निधन भइसक्दासमेत भुक्तानी भएको छैन । यो विषय प्रकाशमा आएपछि अहिले यसले थुप्रैको ध्यान तानेको छ । प्राइम टाइम्स टेलिभिजनमा काम गर्दाको करिब २२ लाख रुपैयाँ पारिश्रमिक पुडासैनीको निधन भएको दुई महिना बितिसक्दा पनि नदिइएको भन्दै धमलाको आलोचना भइरहेको छ । पछिल्लो समय ‘नेपालभ्युज डटकम’ मा ‘कन्टेन्ट क्रियटर’ का रूपमा कार्यरत पत्रकार पुडासैनीको गत पुस १९ गते निधन भएको थियो ।
पत्रकार माधवप्रसाद तिवारीले यो विषय उजागर गरेपछि अहिले धमलाले पुडासैनीको भुक्तानी गर्न बाँकी पारिश्रमिकबापतको रकम तत्काल उपलब्ध गराउनुपर्ने आवाज उठिरहेको छ ।
नेपाल पत्रकार महासङ्घ एसोशियट प्रदेश समितिले विज्ञप्ति जारी गर्दै यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक श्रमजीवी पत्रकारको पसिनाको मूल्य मृत्युपछि पनि नपाउनु अत्यन्तै दुखःद कुरा रहेको भन्दै समितिले तत्काल रकम उलब्ध गराउन माग गरेको हो ।
टेलिभिजनका लेखा अधिकृतसँग भएको पुडासैनीको संवादमा २२ लाखमध्ये १७ लाख रुपैयाँ भुक्तानी गर्ने सहमति भएको आफ्नो जानकारीमा आएको समितिले बताएको छ ।
समितिका अनुसार सो रकममध्ये टेलिभिजनले विभिन्न समयमा १० लाख रुपैयाँको चेक दिएको थियो । तर, चेक काटिएको बैङ्क खातामा रकम नहालिदिँदा पुडासैनीले भुक्तानी लिन पाएका थिएनन् ।
धमलाले पटक-पटक पुडासैनीका दाजुलाई भुक्तानी दिने आश्वासन दिए पनि हालसम्म रकम भुक्तानी भएको छैन ।
समितिले धमलालाई पत्रकार पुडासैनीको पारिश्रमिक उनको परिवारलाई तत्काल उपलब्ध नगराए कडा आन्दोलनको चेतावनीसमेत दिएको छ ।
समितिका महासचिव अशेष अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिवङ्गत पुडासैनीको श्रमको पारिश्रमिक यथाशीघ्र उहाँको परिवारलाई हस्तान्तरण गरियोस्, अन्यथा हामी कडा आन्दोलनसहित मैदानमा उत्रने जानकारी सम्बन्धित पक्षलाई दिन चाहन्छौँ ।’
यस्तै, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकार पुडासैनीको निधन भएकै दिन धमलाले पारिश्रमिकबापतको बाँकी सबै रकम दिने भनेको तर अहिलेसम्म नदिएर उनले बदमासी गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष बस्नेतले यथाशीघ्र पुडासैनीको परिवारलाई पारिश्रमिकबापतको रकम दिन माग गरेका छन् । त्यसो नगरिए आफूहरू कडा कदम चाल्न बाध्य हुने बस्नेतको चेतावनी छ ।
हेर्नुहाेस् भिडिओ-
FACEBOOK COMMENTS