काठमाडौं । काठमाडौं र भक्तपुरको सीमाना हो मनोहरा खोला ।
उक्त खोलाको भक्तपुरतर्फको किनारमा अहिले रेष्टुराँ नै रेष्टुराँले भरिएको देखिन्छ अर्थात् सानोठिमीबाट अत्यन्तै नजिक पर्ने मनोहरा खोला किनार रेष्टुराँको हब बन्दै गएको छ ।
रियलस्टेट व्यवसायीले नयाँ प्लानिङ गरेसँगै उक्त क्षेत्रमा रेष्टुराँहरू खुल्ने क्रम शुरू भएको हो । अहिले उक्त क्षेत्रमा बर्गर डटकम, छानो, ह्वाइट र्याबिट, सिलौटो सेकुवा घर, म्याड्रिक्स, माछा हाउस, बर्गर हाउस एन्ड क्रन्ची फ्रायड चिकेन, शानदार मःम, ससुराली, पेरुङ्गो लगायत दुर्इ दर्जन भन्दा बढी रेष्टुराँ सञ्चालनमा आइसकेका छन् ।
रेष्टुराँहरू खुलेसँगै यहाँका व्यवसायीहरूले मिलेर ‘मनोहरा रिभर साइड रेष्टुराँ व्यवसायी समिति’ समेत गठन गरिसकेका छन् । समिति गठन भएपछि उक्त क्षेत्रमा हुने विभिन्न समस्याहरू तथा आउने ग्राहकहरूका लागि पनि सहज वातावरण बनाउन सहज अवस्था बन्ने भएकाले समिति गठन गरिएको समितिका अध्यक्ष सुकदेव नेपालले जानकारी दिए ।
अहिलेको विषम् परिस्थिति र कोभिडको महामारीलाई ध्यानमा राख्दै समितिले विभिन्न सुरक्षा अपनाएको समितिका उपाध्यक्ष आभाष अधिकारी बताउँछन् । केही हप्तायता सो क्षेत्रमा प्रवेश गर्ने सर्वसाधारणका लागि निःशुल्क मास्क वितरण कार्यको शुभारम्भ समेत गरिएको छ ।
मनोहरा ‘रिभरसाइड’ क्षेत्रलाई पर्यटकीय क्षेत्रकारूपमा समेत विकास गर्ने योजना रहेको व्यवसायीहरू बताउँछन् । काठमाडोंबाट नजिक, भीडभाडबाट थोरै पर, शान्त एरियामा भेराइटी रेष्टुराँ र ती रेष्टुराँले प्रदान गर्ने विभिन्न खानाको स्वादले जो कोहीलाई लोभ्याउने गरेको व्यवसायीहरू बताउँछन् ।
मनोहरा खोलाको किनार र शान्त बातावरणसँगै खुलेका विभिन्न विशेषतायुक्त रेष्टुराँले सेवाग्राहीलाई समेत सहज वातावरण बनेको छ ।
सो क्षेत्रमा एकाधबाहेक फ्रेन्चाइज रेष्टुराँ छैन । अधिकांशले यही थलोमा आफ्नो पहिलो व्यवसाय शुरू गरेका हुन् । बर्गर डटकम, छानो, म्याड्रिक्स, माछा हाउस, सिलौटो, ह्वाइट र्याबिट, ससुरालीलगायत रेष्टुराँ शुरूवाती व्यवसाय हुन् ।
ग्राहकहरू खान मात्र आउँदैनन् । यहाँका अधिकांश रेष्टुराँ घुमेपछि यस्तै लाग्छ । किनभने सबै रेष्टुराँले ग्राहकका लागि यस्तो संरचना बनाइदिएका छन् कि, जहाँ टिकटक बनाउन सकियोस् । फोटो खिच्ने वा टिकटक बनाउनकै लागि आन्तरिक सज्जामा विशेष ध्यान दिइएको छ ।
‘यहाँ ग्राहकहरू टिकटक बनाउनका लागि मात्रै पनि आउँछन्,’ माछा हाउसका आभाष अधिकारी भन्छन्, ‘धेरैजसो युवा खाँदै टिकटक बनाउँछन् ।’
त्यस्तै ‘म्यड्रिक्स’ रेष्टुराँका सञ्चालक पनि ग्राहकहरू यहाँ आएपछि टिकटक बनाउन रुचाउने बताउँछन् । ‘त्यही भएर हामीले उनीहरूलाई फोटो खिच्न, टिकटक बनाउन मिल्ने संरचना बनाइदिएका छौं,’ उनी भन्छन् ।
त्यसो त शुरू शुरूमा यहाँ टिकटक बनाउनकै लागि युवायुवती आउने गर्थे । प्लटिङका लागि व्यवस्थित बाटो र पार्क बनाइएपछि सनसिटी अपार्टमेन्ट अनि मनोहरा खोलालाई पृष्ठभूमिमा राखेर टिकटक बनाउनेको ओइरो लाग्यो ।
FACEBOOK COMMENTS