म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिए।
गाउँपालिकाको संयोजनमा गत फागुन र चैत महिनामा भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको छलफलमा जलविद्युत् आयोजनाले जनाएको पहुँच मार्गको रुपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न थालेका उनले बताए ।
आयोजनाहरुले प्रयोग गरेको सडक स्तरोन्नतिमा बेवास्ता, सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि जनप्रतिनिधि र स्थानीयवासीले आन्दोलन गरेका थिए । रघुगङ्गामा ३५.५ मेगावाट क्षमताको चिमखोला– राहुघाट–मङ्गले र २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण सकिएको छ।
४० मेगावाट क्षमताको राहुघाट, २२.५ मेगावाटको ठूलोखोला ‘ए’ र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । अध्यक्ष भण्डारीका अनुसार अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रबर्द्धक तुँदी पावरले मौवाफाँट–दग्नाम खण्डमा एक करोड ५० लाख रुपैयाँ खर्चेर विभिन्न ठाउँमा ढलान गरेको छ ।
‘तुदी पावरले थप २५÷२५ लाख रुपैयाँमा मौवाफाँट हुँदै झिँ र पाखापानी जोड्ने सडक स्तरोन्नतिको तयारी गरेको छ,’ गाउँपालिकाका अध्यक्ष भण्डारीले भने, ‘तुदी पवार, ठूलोखोला र माथिल्लो ठूलोखोला (ए)को ६७ लाख रुपैयाँ सहयोगमा दवाङ र अजिङ्गर भिरको साँघुरो सडक फराकिलो पारेर ढलान हुम्दैछ ।’
चिमखोला– मङ्गले– राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले ८० लाख रुपैयाँ खर्चेर रघुगङ्गा गाउँपालिका–७ चिमखोला गाउँको फेदी भएर बग्ने बगरखोलाको कटान र बाढी नियन्त्रणका लागि करिब एक सय ५० मिटर दुरीमा तटबन्ध गरेका छन् ।
बगरखोलामा आउने बाढीले कटान गरेर करिब दुई सय घरपरिवारको बसोबास रहेको चिमखोला गाउँ, रघुगङ्गा गाउँपालिका–७ र ८ नम्बर वडा जोड्ने सडक जोखिममा परेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले रु दश करोड खर्चेर बेनी–जोमसोम सडकको घुमाउने तालदेखि पिप्ले–मौवाफाँट–बुक्ल–बाँधस्थल खण्डको सडक स्तरोन्नति थालेको अध्यक्ष भण्डारीले बताए ।
सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले रघुगङ्गा हाइड्रोपावरसँग गरेको सम्झौता अनुसार ११ किलोमिटर पहुँचमार्ग सहायक ठेकेदार परिचालन गरेर ग्राभेल गर्न पूर्वाधार निर्माण थालेको हो । यस अन्तर्गत पिप्लेको हमालचोकदेखि रघुगङ्गा मावि मुनिसम्मको सडक पनि स्तरोन्नति हुने अध्यक्ष भण्डारीले बताए ।
ग्राभेल गरेपछि घुमाउने तालदेखि मौवाफाँटसम्म रघुगङ्गा हाइड्रोपावरको ८० र अन्य चार वटा जलविद्युत् आयोजनाको २० प्रतिशत लगानीमा कालोपत्र गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ ।
FACEBOOK COMMENTS