काठमाडौं । राप्रपाले सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा जेन जीका माग पूरा नभएसम्म संसद पुनर्स्थापना गर्न नहुने धारणा राखेको छ ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले सबैभन्दा पहिला जेन जीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, गैरदलीय स्थानीय तह, भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुन, विदेशमा रहेका नेपालीका लागि अनलाइन मतदान प्रणालीको व्यवस्थालगायतका विषय टुङ्गो लगाउनुपर्ने धारणा बैठकमा राखेको बताएका छन् ।
प्रवक्ता शाहीले सभामुख घिमिरेलाई यी बुँदाहरूमा राष्ट्रिय सहमति जुटाउन, राजनीतिक नेतृत्वलाई जिम्मेवार बनाउन र कार्यान्वयनको दिशामा अघि बढ्न मार्गप्रशस्त गर्न निर्णायक पहलकदमी लिनका लागि सुझाव दिएको बताउँदै यी विषयको टुङ्गो नलागेसम्म संसद पुनर्स्थापनाको कदम पूर्ण रूपमा अर्थहीन हुने आफूहरूको ठहर रहेको बताए ।
सभामुख घिमिरेले बोलाएको आजको बैठकमा नेकपा (एमाले) संसद पुनर्स्थापनाको पक्षमा उभिएको छ । एमालेका नेता महेश बर्तौलाले संसद पुनर्स्थापना गरेर संविधान संशोधनमार्फत जेन जीका माग पूरा गर्ने र निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए ।
FACEBOOK COMMENTS