काठमाडौं । कुनै समय नेपाली कांग्रेसको सबैभन्दा सुरक्षित राजनीतिक किल्ला मानिने चितवन आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सबैभन्दा बलियो आधार भूमि बनेको छ ।
७० वर्षभन्दा बढी समय कांग्रेसको प्रभाव रहेको जिल्लामा अहिले घण्टी चुनाव चिह्नले लगातार विजयको इतिहास बनाइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन पनि असार ७ गतेदेखि चितवनमै सुरू भएको छ । चितवनको भरतपुरमा आयोजित महाधिवेशनमा चितवनवासीको व्यापक उपस्थिति देखिएको छ ।
लामो समय कांग्रेसको गढ मानिएको चितवनमा जनताले रुखको छहारी किन छाडे ? कांग्रेसको गढ कसरी रास्वपाको उर्वर भूमिमा परिणत भयो भन्ने प्रश्न अहिले उठिरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि चितवन रोज्नु संयोग होइन । पार्टीले चितवनलाई निलो क्रान्तिको उद्गमस्थल भन्दै आएको छ । चार वर्षअघि काठमाडौँको राष्ट्रिय सभागृहमा २१ जनाबाट सुरू भएको रास्वपा अहिले पाँच लाखभन्दा बढी सङ्गठित सदस्य भएको पार्टी बनेको छ । चार वर्षअघि स्थापना भएको पार्टीले साढे चार महिनामै २० सिट जित्दै राष्ट्रिय राजनीतिमा चौथो शक्तिका रूपमा उदाएको थियो । स्थापनाको साढे तीन वर्षपछि भएको निर्वाचनमा झन्डै दुई तिहाइ बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी देशको पहिलो शक्ति बनेको छ । 
चितवनसँग रास्वपाको सम्बन्ध चुनावी मात्र नभई भावनात्मक पनि छ । सञ्चारकर्मी रहेका बेला सभापति रवि लामिछाने आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ पर्दा चितवन नै आन्दोलनको केन्द्र बनेको थियो । त्यस बेला रवि लामिछानेको पक्षमा हजारौँ समर्थक चितवन पुगे र न्यायको पक्षमा उभिए ।

अदालतबाट सफाइ पाएपछि त्यही जनसमर्थनलाई राजनीतिक अभियानमा रूपान्तरण गर्दै रविले रास्वपा स्थापना गरे । त्यसपछि चितवन २ बाट लगातार जित, उपनिर्वाचनमा झन् ठुलो मतान्तर, र चितवनका तीनै निर्वाचन क्षेत्रमा रास्वपाको विजयले चितवनलाई पार्टीको सबैभन्दा बलियो आधार बनायो ।

तर चितवन सधैँ यस्तो थिएन । २००७ सालको जनक्रान्तिदेखि नै चितवन नेपाली कांग्रेसको गौरवसँग जोडिएको जिल्ला थियो । राणा शासन विरुद्धको आन्दोलनदेखि पञ्चायत विरुद्धको सङ्घर्षसम्म कांग्रेसका नेता कार्यकर्ताको आश्रय स्थल चितवन नै थियो ।

२०१८ सालमा राजा महेन्द्रको शासन विरुद्ध नेपाली कांग्रेसले ७२ घण्टासम्म चितवनलाई मुक्त क्षेत्र घोषणा गरेको इतिहास आज पनि राजनीतिक स्मृतिमा जीवित छ । जनआन्दोलन, प्रजातन्त्र पुनस्र्थापना र कांग्रेसको सङ्गठन विस्तारमा चितवनले खेलेको भूमिका असाधारण मानिन्छ ।

तर समयसँगै राजनीतिक समीकरण फेरियो । चितवनमा पञ्चायत कालमै कम्युनिस्ट सङ्गठन विस्तार भयो । २०४८ सालपछि कांग्रेसले स्थानीय तहमा सफलता पाए पनि संसदीय निर्वाचनमा क्रमश: कमजोर हुँदै गयो । २०६४ सालमा पाँचै निर्वाचन क्षेत्र माओवादीले जित्यो । २०७४ सालमा कांग्रेसले आफ्नै उम्मेदवार नउठाई राप्रपालाई समर्थन गर्नुपर्ने अवस्था आयो । २०७९ मा पनि भरतपुर महानगरमा रेणु दाहाललाई र प्रतिनिधिसभामा गठबन्धनका माओवादी उम्मेदवारलाई समर्थन गर्न कांग्रेस कार्यकर्ता बाध्य भए ।
यही निर्णय काङ्ग्रेसभित्र असन्तुष्टिको ठुलो कारण बन्यो । चितवनमा लामो समय नेपाली कांग्रेसको सङ्गठनात्मक भूमिका निर्वाह गरेका नेताहरूले केन्द्रबाट भएको हस्तक्षेपका कारण चितवनमा कांग्रेस कमजोर भएको दाबी गर्छन् । दुई पटक गठबन्धनका नाममा आफ्नै उम्मेदवार नउठाउँदा कांग्रेस कार्यकर्ताले दशकौँसम्म आफ्नै पार्टीलाई भोट हाल्ने अवसर पाएनन् । त्यसले सङ्गठन कमजोर बन्दै गयो र मतदाताले वैकल्पिक शक्ति खोज्न थाले भन्ने उनीहरूको बुझाइ छ ।
त्यही खाली ठाउँमा रास्वपाले प्रवेश गर्यो । सुशासन, भ्रष्टाचार विरोधी अभियान, पुराना दल प्रतिको निराशा र रवि लामिछानेको लोकप्रियताले चितवनमा नयाँ राजनीतिक लहर सिर्जना गर्यो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा हरि ढकाल र रवि लामिछाने निर्वाचित भए । २०८० सालको वैशाखमा भएको उपनिर्वाचनमा पनि रवि लामिछाने भारी मतान्तर सहित विजयी भए । २०८२ सालको निर्वाचनमा हरि ढकाल, रवि लामिछाने र सोविता गौतमले तीनै निर्वाचन क्षेत्र जिते ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले चितवनलाई निर्वाचन जितिएको जिल्ला मात्र नभई पार्टी जन्मिएको राजनीतिक चेतनाको केन्द्रका रूपमा व्याख्या गर्ने गरेका छन् । त्यसैले पहिलो महाधिवेशन यहीँबाट सुरू गरिएको नेताहरूको भनाइ छ । देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको महाधिवेशनले नयाँ नेतृत्व, सङ्गठनात्मक संरचना र भावी राजनीतिक दिशा तय गर्दैछ ।
एक समय कांग्रेसको गढ मानिएको चितवनमा अहिले रुखको छहारी भन्दा घण्टीको आवाज बढी सुनिन थालेको छ । यही परिवर्तनले नेपालको राजनीतिमा नयाँ अध्याय सुरू गरेको छ । जनताको यो अपार विश्वासलाई राष्ट्रिय स्वतन्त्र पार्टीले परिवर्तनका रूपमा सदुपयोग गर्छ वा सत्ता र शक्तिका लागि प्रयोग गर्छ रु त्यो भने हेर्न बाँकी छ ।
यदि राष्ट्रिय स्वतन्त्र पार्टीले जनताप्रति गरेका प्रतिबद्धता पूरा गर्न सक्यो भने यो विश्वास अझ बलियो हुनेछ । तर जनतालाई धोका दियो भने, हिजो रुखको छहारीमा बसेका जनताले आज घण्टी बजाएझैँ भोलि अर्को विकल्प रोज्न पनि पछि पर्ने छैनन् भन्नेमा दुई मत छैन ।