धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सम्पूर्ण नतिजा बदर गर्ने निर्णय गरेको छ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रमा कैलाली जिल्ला अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया विधान तथा निर्वाचन कार्यविधिविपरीत भएको निष्कर्ष निकाल्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणाम रद्द गरिएको जनाइएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रियामा न्यूनतम आधारभूत विधि र प्रक्रिया पालना नभएको, मतदान तथा मतगणनामा स्थापित नियम उल्लंघन भएको, अधिकांश मुख्य उम्मेदवारहरूले लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको तथा योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको पाइएको छ।
केन्द्रीय निर्वाचन आयोगले प्राप्त उजुरी र संलग्न प्रमाणहरूको अध्ययनपछि निर्वाचन प्रक्रिया त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको हो। यससँगै कैलाली जिल्ला समितिको नेतृत्व चयनका लागि फेरि निर्वाचन हुने भएको छ।




