चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि ‘राम–लक्ष्मण इलेक्ट्रोनिक भोटिङ मेसिन’ प्रयोग गरिँदैछ ।
उक्त मेसिनको प्रयोगबाट मतदान सकिएको डेढ घण्टाभित्रै नतिजा आउने बताइएको छ । मेसिनका प्राविधिक रामप्रसाद रिमालका अनुसार ८० वटा भोटिङ मेसिनहरू पूर्ण रूपमा अफलाइन रहनेछन् । अर्थात् एकैपटक ८० जनाले मतदान गर्न सक्नेछन् ।
उम्मेदवारहरूको अन्तिम नामावली प्राप्त भएपछि प्रत्येक मेसिनमा अलग–अलग डाटा अपलोड गर्न टोली परिचालन गरी ५–६ घण्टाभित्र सेटअप सकिने छ ।
मतदाताले स्क्रिनमा उम्मेदवारको नाम र फोटो हेरेर टच गरी मतदान गर्न सक्नेछन् । प्रतिनिधिहरूलाई बुझाउन मतदान स्थलबाहिर दुईवटा ‘मक मेसिन’ (अभ्यासका लागि) र भिडिओसहितको क्यूआर कोडको व्यवस्था गरिएको छ । (भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्)
उनका अनुसार यो मतदान प्रक्रियामा प्रतिनिधिहरूले ९९ जनासम्म उम्मेदवार छान्नुपर्ने भएकाले एक व्यक्तिलाई मतदान गर्न १५ देखि १८ मिनेट लाग्न सक्छ । यसो गर्दा सम्पूर्ण मतदान प्रक्रिया सकिन १० देखि ११ घण्टा लाग्ने अनुमान छ ।

डिजिटल प्रणाली भएकाले मतदान पूर्ण रूपमा सकिएको १ देखि १.५ (डेढ) घण्टाभित्रै अन्तिम नतिजा सार्वजनिक हुनेछ । मेसिनमा उम्मेदवारको फोटो र नाम दुवै देखिने भए पनि आफूले रोजेको उम्मेदवारको क्रम सङ्ख्या (सिरियल नम्बर) पहिल्यै सम्झिएर जाँदा मतदान प्रक्रिया अझ छिटो र सहज हुने रिमालको भनाइ छ ।