काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को औपचारिक अन्तिम बैठक चितवनमा सुरु भएको छ ।
महाधिवेशनमा लैजाने ‘एजेन्डा’ पारित गर्न अन्तिम बैठक भरतपुरको दियालो फुडल्यान्डमा सुरु भएको हो ।
बैठकले आइतबारदेखि हुने महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष झाले बताए । उनका अनुसार बैठकले विधान संशोधन प्रस्ताव पारित गर्ने छ । उनले भने, ’यो अन्तिम औपचारिक बैठक हो, भैपरी आएमा अनौपचारिक बैठक बस्न सक्छ ।’
यसअघि नै सचिवालयले केन्द्रीय समितिका लागि पठाएका एजेन्डाहरूमाथि छलफल गरेर आज पारित हुने उनले बताए । ती एजेन्डा महाधिवेशनमा लगिने छ । त्यहाँ अनुमोदनपछि कार्यान्वयन हुने उनको भनाइ छ ।
विधान संशोधन गरेर केन्द्रीय समितिको सङ्ख्या बढाउन लागिएको छ भने महिला सहभागितालाई पनि बढाइँदै छ । बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको हो ।

यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक केही ढिलो र ठाउँ परिवर्तन गरी सुरु भएको हो । महाधिवेशनका लागि केन्द्रीय समितिसँगै नेता र प्रतिनिधिहरू चितवन आउने क्रम सुरु भएको छ ।
