काठमाडौं । एलाइभ वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ र १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका–२७ अशनमा केन्द्रीय कार्यालयको सहकारीले शनिबार आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को वार्षिक साधारण सभा एकैसाथ सम्पन्न गरेको हो ।
संस्थाका उपाध्यक्ष दलबहादुर श्रेष्ठको सभापतित्वमा कार्यालय प्राङ्गणमै साधारण सभा सम्पन्न गरिएको संस्थाका प्रबन्ध निर्देशक उमेश खड्काले जानकारी दिए । उनका अनुसार साधारण सभामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र संस्थाका प्रबन्ध निर्देशकका तर्फबाट विभिन्न प्रतिवेदनहरू पेश गरिएका थिए । ती सबै प्रतिवेदनहरू व्यापक छलफलपछि सर्वसम्मतरूपमा पारित गरिएको छ ।
संस्थाले आर्थिक वर्ष २०७९/०८० मा ७६ लाख ७४ हजार र आर्थिक वर्ष २०८०/०८१ म २ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी साधारण सभामा दिइयो । त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा संस्थाको शेयरपुँजी चार करोड ४२ लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।
संस्थाभित्रको केही आन्तरिक समस्याका कारण गत आर्थिक वर्षको साधारण सभा समयमै हुन नसकेकाले दुईवटै आर्थिक वर्षको साधारण सभा एकैपटक आज सम्पन्न गरिएको संस्थाका उपाध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिए। ‘केही वर्षयता सहकारीप्रति आमरूपमा देखिएको समस्याका कारण एलाइभ बचत तथा ऋण सहकारी संस्थामा पनि केही समस्या उत्पन्न हुनपुग्यो । त्यसकारण हामीले समयमै साधारण सभा गर्न सकेका थिएनौँ,’ उपाध्यक्ष श्रेष्ठले भने। यसबीचमा संस्थाभित्र जेजस्ता समस्या आए पनि अहिलेसम्म संस्थालाई निरन्तरता दिइँदै आएको र आगामी दिनमा थप सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता उपाध्यक्ष श्रेष्ठको छ ।
संस्थाका प्रबन्ध निर्देशक उमेश खड्काले संस्था र संस्थाका जिम्मेवार व्यक्तिहरू बचतकर्ताको बचत रकमको सुरक्षा र संस्थाको स्थायित्वका निम्ति चिन्तित रहेको बताउदै सहकारीको मूल्यमान्यता र सिद्धान्तका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। संस्थाभित्रको आन्तरिक समस्या समाधान हुँदै गएको जानकारी दिदै उनले ढुक्क भएर एलाइभ वचत तथा ऋण सहकारीमा रकम जम्मा गर्न सदस्यहरूलाई अपिल समेत गरेका छन्।
FACEBOOK COMMENTS