काठमाडौं । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकाको मेयर पदमा निर्वाचन लड्ने घोषणा गरेकी छिन् ।
उनले फेसबुकमार्फत अहिले नै आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । ‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु,’ उनले लेखेकी छिन्, ‘लहान नगरपालिकाका जनता मेयर मुनी साहबाट पीडित छन् । उनको अधिनायकवादलाई जनताले परास्त गर्ने छन् । अब ५ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्नेछु ।’
उनले आफूसँग सहयोग र सम्पर्कका लागि अपील गर्दै अगाडि लेखेकी छिन्, ‘म सबैसँग आजको दिनदेखि सहयोग र सम्पर्कका लागि हार्दिक अपील गर्दछु । स्थानीयस्तरमा लोकतन्त्र, समय सुहाउँदो विकास नीति र पारदर्शिता नभई सबैको विकास हुन सक्दैन ।’
‘फ्रान्सका राष्ट्रपति ज्याक चिराक पहिला राजधानी पेरिसको मेयर थिए । पछि उनी फ्रान्सको राष्ट्रपति भए । उनको विकास मोडेलबाट प्रभावित भइ जनताले उनलाइ राष्ट्रपति हुन मत दिए,’ गिरीले सामाजिक सञ्जालमा थप पोष्ट गर्दै लेखेकी छिन्, ‘आन्दोलनबाट शुरू गरेको राजनीतिमा मैले माथिका धेरै कुरा जानीबुझी सकेको छु, अब स्थानीय सरकार बुझ्नु छ र तलबाट सुधारको प्रक्रिया शुरु गर्नु छ ।’
FACEBOOK COMMENTS