काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि बनाएको छ । बोर्डको रिक्त अध्यक्ष नियुक्तीका लागि गठन भएको समितिले कार्यविधि तयार पारेको छ ।
बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी आवेदन माग गरिने छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको व्यक्ति अध्यक्ष बन्ने छन् ।
बोर्डको अध्यक्षमा दरखास्त दिनका लागि कुनै राजनीतिक दलको सदस्य नभएको, नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफै वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नरहेको वा बोर्डसँग निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरुजू बाँकी नरहेको व्यक्ति हुनुपर्ने उल्लेख छ ।