काठमाडौं । विवादित व्यवसायी दीपक भट्टसँगको सङ्गतका कारण प्रतिष्ठित व्यावसायिक घराना पनि विवादमा तानिन थालेका छन् ।
यही क्रममा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । व्यवसायी भट्टसँग व्यावसायिक सहकार्य गर्दै आएको देखिएकाले आवश्यक अनुसन्धानका लागि अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टलाई प्रहरीले गत बिहीबार पक्राउ गरेको थियो । ट्टमाथि विभिन्न ठूला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप लागेका भट्टको अनुसन्धान जारी रहँदा उद्योगी शंकरलाल अग्रवाल समेत पनि पक्राउ परेका हुन् । त्यतिमात्र होइन उही आरोपमा शंकरका छोरा सुलभलाई समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ ।
अनुसन्धान तीव्र बन्दै जाँदा शंकर समूहअन्तर्गत सञ्चालनमा रहेका ४० भन्दा बढी उद्योग तथा व्यवसाय प्रत्यक्ष प्रभावित हुने देखिएको छ । समूहको वार्षिक कारोबार करिब सवा खर्ब रुपैयाँ रहेको छ भने १५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ ।
यो समूहका विभिन्न कम्पनीमा बैंक तथा वित्तीय संस्थाबाट करिब दुई खर्ब रुपैयाँभन्दा बढी ऋण लगानी भएको अनुमान गरिएको छ । शंकर समूहअन्तर्गत जगदम्बा स्टिल्स, जगदम्बा मोटर्स, सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, युनियन लाइफ इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स, जगदम्बा इन्टरप्राइजेज, जगदम्बा फ्लोर एण्ड एग्रो, जगदम्बा मोबाइल्स, जगदम्बा अल्कोबेभ, जगदम्बा ओभरसिज, मोदीखोला हाइड्रोपावर, बलेफी हाइड्रोपावर तथा जगदम्बा हायर पर्चेज लगायतका प्रमुख कम्पनीहरू छन् ।

शंकरलाल अग्रवालले सन् १९७९ मा जगदम्बा समूह स्थापना गरेका थिए । पछि उनका दुई छोरा सुलभ अग्रवाल र साहिल अग्रवाल पनि व्यवसायमा सक्रिय छन् । हाल साहिल अग्रवाल जगदम्बा समूहका अध्यक्ष छन् भने सुलभ अग्रवाल ‘जगदम्बा होल्डिङ्स’ का अध्यक्ष छन् ।

यो पनि पढ्नुहोस्–
