काठमाडौं । छैटौं संस्करणको हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को छैटौं संस्करण आयोजना हुने भएको हो । आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै अवार्डका लागि आवेदन खुला गरेको जानकारी दिएको छ ।
राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको अवार्डका लागि यही वैशाख २१ गते सोमबारबाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभएको छ । अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार २०८२ वैशाख एक गतेदेखि चैत मसान्तसम्म (एक वर्षभित्रमा) बजारमा आएका गीत, संगीतका स्रष्टा एवं प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ ।
गीत तथा सिर्जनाहरू दर्ता गर्न आवेदनको अन्तिम म्याद जेठ १५सम्म तोकिएको छ । अवार्ड समारोहमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याउनु भएका एकजना विशिष्ट व्यक्तिलाई दीर्घसाधना सम्मान प्रदान गरिनेछ । गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने देश विदेशका नेपाली संगीतकर्मी र सञ्चारकर्मी पत्रकारलाई समेत अवार्डमा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
यसअघि यो अवार्डका संस्करण काठमाडौं, थाइल्याण्ड, सिंगापुर र मलेसियामा सम्पन्न भएका छन् । छैटौं संस्करण विशेष र भव्य बनाउने तयारीमा रहेको संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो ।