काठमाडौं । युरोपेली नेसन्स लिगको नयाँ सिजनको पहिलो खेलमा स्पेनले इंग्ल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ । वेम्बली रंगशालामा शनिबार राति भएको रोमाञ्चक खेलमा स्पेनले २-१ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो ।
खेलको दोस्रो मिनेटमै लामिन यामालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। इंग्ल्यान्डका मार्क गुएहीको गल्तीको फाइदा उठाउँदै यामालले गोल गरेका थिए ।
तर इंग्ल्यान्डले पहिलो हाफमै खेल उल्टायो । एन्थोनी गोर्डनले ३६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसको चार मिनेटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाएका थिए । दोस्रो हाफमा स्पेनले आक्रामक खेललाई निरन्तरता दियो । एलेक्स बाएनाले ६०औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएका थिए । त्यसपछि मिकेल ओयार्जाबालले ७४औँ मिनेटमा गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाए । बाँकी समयमा इंग्ल्यान्डले बराबरी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन ।
इंग्ल्यान्डले बराबरी गर्ने अर्को महत्वपूर्ण अवसर पनि गुमाएको थियो । ह्यारी केनले पेनाल्टीमा प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो ।

यस जितसँगै स्पेनले राष्ट्र लिगको समूह ए ३ मा विजयी सुरुवात गरेको छ । समूहमा स्पेन र इंग्ल्यान्डसँगै क्रोएसिया र चेक गणतन्त्र रहेका छन् । स्पेन र इंग्ल्यान्डबीचको अर्को खेल नोभेम्बर १५ मा स्पेनको मैदानमा हुनेछ ।
