काठमाडौं । लगातार ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको सेयर बजार उच्च अङ्कले सुधारिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि दुई अर्ब २० करोड रुपियाँभन्दा बढी भएको छ ।
पछिल्ला दिनमा एक अर्बभन्दा पनि तल सीमित रहेको कारोबार रकम तीन महिनायताकै उच्च सुधार आएको हो । सेयर बजारमा तीन महिनापछि दुई अर्बमाथि कारोबार भएको हो ।
साताको तेस्रो दिन मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ५१.३१ अङ्कले उकालो लागेर एक हजार ९४२.६३ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.८३ अङ्कले उकालो लागेर ३६७.७२ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से २.७१ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि २.४६ प्रतिशतले उकालो लागेको छ ।
मङ्गलबार दिनभर २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर ३८ हजार ७९६ पटक खरिदबिक्री हुँदा दुई अर्ब २० करोड २३ हजार ९४५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
मङ्गलबार १० करोड पाँच लाख १५ हजार ४३९ रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ भने नेपाल टेलिकमको आठ करोड ९९ लाख २७ हजार ९४५ रुपियाँ, एनआइसी एसिया बैङ्कको सात करोड २३ लाख ६१ हजार २१३ रुपियाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको सात करोड १९ लाख ९७ हजार २३३ रुपियाँ र हिमालय डिस्टिलरीको छ करोड ७९ लाख छ हजार ३७५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । तेस्रो दिन कारोबारमा आएका १३ उपसमूहकै सूचक उकालो लागेको छ ।
सोमबार मात्रै नेपाल बैङ्कर्स सङ्घ (एनबिए) का अध्यक्ष सुनील केसीले ब्याजदर अझै घट्ने बताउनुभएको थियो । सङ्घले सोमबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले तरलता सहज हुँदै गएको र ब्याजदर अझै घट्ने सङ्केतले बजारमा सकारात्मक भूमिका खेलेको हो । बैङ्क तथा वित्तीय संस्थाको पुँजी पर्याप्त अनुपात कसिलो हुँदै गएकाले कर्जा विस्तार घटेको भन्दै सङ्घका अध्यक्ष केसीले स्प्रेडदर चार प्रतिशत कायम गर्नुपर्ने भएकाले पनि असारपछि ब्याजदर थप घट्ने बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS