काठमाडौँ । राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् ।
महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरुको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ ।
नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संग आश्रममा छन् । उनीहरुमध्ये अपाङ्गता भएका १ जना सहित ६२ जना पुरुष, ३ जना सुत्केरी र २ जना गर्भवती सहित ८० जना महिला, ३१ जना बालिका र ३० बालक छन् ।
यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरको छन् । ४ जनाले यस वर्ष एसईई दिए । उनीहरु कम्प्युटर, सिलाइ बुनाइ जस्ता सिप सिक्न चाहन्छन । महानगरपालिकाले उहाँहरुले चाहेको सिपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको शिक्षा अधिकारी नमराज ढकालले बताए ।
विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर पढाउने चाहना राखे । अभिभावकको चाहना बुझ्न भराइएको फाराममा ५ जना छात्रा र ६ जना छात्रले छात्राबासमा बस्न अनिच्छा व्यक्त गर्नुभयो । अन्य अभिभावकबाट स्पष्ट धारणा प्राप्त हुन सकेको छैन ।

शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीका अनुसार छात्राबास बस्न इच्छुकहरुमा ११ जना छात्रा र १९ जना छात्र छन् । सुवेदीका अनुसार विद्यार्थीहरुलाई आवश्यक पर्ने पोशाक तथा शैक्षिक सामग्री सम्बन्धी आवश्कयता समेत माग गरिएको छ ।

छात्राबासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि प्याब्सन, एनप्याब्सन र हिसानमार्फत अनुरोध गरेका छौँ । महानगरपालिकाका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्राबासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि हामीले त्यही अनुरुप व्यवस्थापनको प्रयास गरिरहेको छ ।