काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो ।
सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमांक रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रूपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको छ ।
‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । यसप्रकारको बीमा योजना नेपालमा पहिलो पटक सन नेपाल लाइफबाट शुभारम्भ भएको हो । अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रूपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजनाअन्तर्गत आपतकालीन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले सन्देशमूलक भिडिओ पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तयार गरिएको म्युजिक भिडिओमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देशहरू रहेका छन् ।
आठौं वर्ष प्रवेशसँगै कम्पनीले सूचना सुरक्षा व्यवस्थापन (इन्फरमेसन सेक्युरिटी म्यानेजमेट) सँग सम्बन्धित आईएसओ २७००१:२०२२ संपरीक्षण भएको भन्दै आगामी दिनमा कम्पनीलाई स्तरीकरण गर्न उक्त व्यवस्था लागु गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि प्रमाणीकरण गर्ने निकायबाट अडिट सम्पन्न भएको छ ।
सातौं वार्षिकोत्सवका अवसरमा कम्पनीले ‘७ वर्ष, ७ प्रदेश, ७ दिन, ७ सत्कमर्’ नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरू सम्पन्न गरेको छ । सात सत्कर्मअन्तर्गत प्रभातफेरी, वृक्षरोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठमन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्याशाला तथा शैक्षिक सामग्री वितरण गरिएको छ । सो अवसरमा देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका वर, पीपल, रूद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी ७ थरी वनस्पतिको वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
यसै अवसरमा महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ । ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थीमाझ वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सञ्चालन सम्पन्न गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा आइतबार बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकताबारेको सन्देशसहित काठमाडौंलगायत विभिन्न शहरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरी समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्त्वबारे प्रकाश पारेका थिए । यस अवसरमा कम्पनीमा स्थापनाकाल देखी कार्यरत कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको छ ।
सुरूदेखि हालसम्म मार्गदर्शन, निर्देशन, समन्वय, सहयोग गर्ने नियामक निकाय, अभिकर्ता, आमसञ्चार, बीमित एवं कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा ग्राहकमैत्री सर्वसुलभ बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS