काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित बैंकको विवरण झिकाउन आदेश भएको छ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको पौडेलको बचत तथा मुद्दती खाता सम्बन्धी विवरण र त्यहाँ भएको रकमको विवरण झिकाउन आदेश दिएको हो।
अदालतले नेपाल राष्ट्र बैंकबाट बैंकिङ प्रक्रियामार्फत विवरण यथाशक्य झिकाउन आदेश दिएको हो।
‘सुनिल पौडेलका नाममा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको भनिएको बचत तथा मुद्दती खाता सम्बन्धी विवरण र सोमा भएको बचत रकमको विवरण नेपाल राष्ट्र बैंकबाट बैंकिङ प्रक्रिया मार्फत सिंगापुरको केन्द्रीय बैंकको सहयोग र समन्वयमा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडबाट यथाशक्य छिटो झिकाउन लगाई पेस गर्नू,’ आदेशमा भनिएको छ।
विशेष अदालतले सिंगापुरसँग नेपालको हालसम्म पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता भइनसकेको अवस्थामा त्यस बमोजिमको विवरण सिंगापुरको उक्त बैंकबाट प्राप्त गर्न सकिने भए र नसक्ने भए त्यसअनुसारको जबाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट छिटो जबाफ मगाउन पनि आदेश गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध उपकरण खरिद गरी घुस रकम सिंगापुरको बैंकमा राखेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

FACEBOOK COMMENTS