काठमाडौं । सर्वोच्च अदालत आगामी मंसिर १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।
गत भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले आशिंक रूपमा सेवा प्रवाह गर्दै आएको छ ।
सर्वोच्च अदालतको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटसमेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरुको नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले सेवा अवरुद्ध भएका सुरू मुद्दा, पुनरावेदन पत्र, दोहोर्याइ पाऊँ भन्ने निवेदन एवम् पुनरवलोकन निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवम् सुनुवाइ गर्ने निर्णय गरेको हो ।
सर्वोच्चले भनेको छ—

मिति २०८२ । ०५ । २४ गते भएको आगजनी, ढुङ्गामुडा, तोडफोड र लुटपाटसमेतका कारणबाट यस अदालतको अधिकांश भौतिक संरचना, इजलासहरू, चालु मुद्दा तथा सूचना प्रणालीसमेतमा क्षति पुगेको कारण यस अदालतको पूर्व सूचनाअनुसार सबै प्रकारका रिट निवेदनहरू, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ का निवेदनहरू मात्र दर्ता एवम् सुनुवाइ हुँदै आएकोमा आज मिति २०८२।०७।२० मा बसेको पूर्ण बैठकको निर्णयानुसार मिति २०८२।०८।०१ गतेदेखि सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोरÞ्याई पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू नियमित रूपमा दर्ता एवम् सुनुवाइ हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

FACEBOOK COMMENTS