काठमाडौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
भारतको सिक्किम राज्यको गान्तोकस्थित पाल्जोर रंगशालामा हुने सो प्रतियोगिता सिक्किम एमेच्योर तेक्वान्दो एसोसिएसन (साटा) ले आयोजना गर्न लागेको हो । ११ वर्षीया वैभवीले सिक्किममा क्योरुगी र पुम्से दुई विधामा प्रतिष्पर्धा गर्ने छिन् ।
जेठ २३ देखि शुरु हुने सो प्रतियोगितामा विभिन्न देशका खेलाडीको सहभागिता रहने छ ।
वैभवीले केही दिन अघि सम्पन्न बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा भक्तपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेकी थिइन् ।
वैभवीलाई हालैमात्र भक्तपुर जिल्लाले २०८२ सालको उत्कृष्ट महिला खेलाडी घोषित गर्दै वर्ष खेलाडीको रुपमा सम्मान गरेको थियो ।

त्यसका लागि वैभवी जेठ २० गते बुधबार सिक्किम प्रस्थान गर्ने छिन् ।
