काठमाडौं । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा डिभिजन वन कार्यालयका कर्मचारीले एक महिलाको टेम्पो भिरबाट खसालेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जेठ २९ गते शुक्रबार दिउँसो भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ स्थित बासपानी (गाइमारे डाँडा) मा घटेको उक्त अमानवीय घटनाले कर्मचारीतन्त्रको असंवेदनशीलतालाई उदाङ्गो पार्नुका साथै डिभिजन वन कार्यालय कैलालीका कर्मचारीमाथि चौतर्फी प्रश्न उठिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गरिबमाथि राज्यले बर्बरता मच्चाएको टिप्पणी गरिरहेका छन् भने राज्य संयन्त्रको व्यवहारमाथि गम्भीर बहस सृजना भएको छ ।
भिरबाट खसालिएको टेम्पो गोदावरी नगरपालिका–४ की स्थानीय महिला धनादेवी धामीको हो । उनी सोही टेम्पोमा पानी, चाउचाउ, बिस्कुट, अण्डालगायतका खुद्रा सामग्री बिक्री गरेर आफ्नो परिवारको दैनिक गुजारा चलाउँदै आएकी थिइन् ।
सदाझैं शुक्रबार पनि धनादेवी बेचेर परिवारको छाक टार्ने आशा बोकेर घरबाट निस्किएकी थिइन्, तर सायदै सोचेकी थिइन् कि त्यही दिन उनको जीवनयापनको मुख्य आधार बनेको टेम्पो भिरबाट हुत्याइनेछ ।
उनका अनुसार वन कार्यालयका कर्मचारीले टेम्पो हटाउन दबाब दिएपछि आफूले ‘टेम्पो घर लैजान्छु, बरु सामान जफत गर्नुस्’ भन्दै अनुरोध गरेकी थिइन् । तर, आफ्नो हारगुहार नसुनिएको र अन्तत: टेम्पोलाई जबर्जस्ती धकेलेर भिरबाट खसालिएको उनको दाबी छ ।

‘मेरो सामान लैजानुस्, तर टेम्पोलाई केही नगर्नुस् । म आफैं घर लगेर राख्छु भनेकी थिएँ,’ धनादेवीले पत्रकारहरूसँग भनेकी छिन्, ‘तर कर्मचारीहरूले मेरो कुरा सुनेनन् र टेम्पोलाई जबर्जस्ती भिरबाट धकेलेर खसालिदिए ।’

घटनासम्बन्धी भावुक दृश्य सार्वजनिक भएपछि धेरैले प्रश्न उठाएका छन्– ‘कुनै व्यक्तिको सम्पत्ति यसरी नष्ट गर्ने अधिकार राज्यका कर्मचारीलाई कसले दियो ? यदि अतिक्रमण हटाउनु नै उद्देश्य थियो भने त्यसका अन्य वैकल्पिक उपाय अपनाउन सकिँदैनथ्यो र ?

धनादेवीले व्यवसाय दर्ता गरेरै व्यापार सञ्चालन गर्दै आएको र नियमित रूपमा कर तिर्दै आएको बताइन्छ । यस्ता अवस्थामा चेतावनी दिने, जरिवाना लगाउने वा स्थान खाली गराउन समय दिने विकल्प हुँदाहुँदै प्रत्यक्ष रूपमा टेम्पोलाई नष्ट गरिनु उचित थियो कि थिएन भन्ने प्रश्न उठ्न थालेको छ ।
अझ सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा टेम्पोलाई कर्मचारीहरूले धकेल्दै भिरतर्फ लगेको दृश्य देखिएपछि वन कार्यालयको भूमिकामाथि थप प्रश्न उठेको छ ।
यो घटनाले केही समयअघि सुर्खेतमा काफल बेचेर जीविका चलाउँदै आएकी एक महिलाको डालो नगर प्रहरीले घोप्ट्याइदिएको घटनालाई पनि धेरैले स्मरण गरेका छन् । गरिब नागरिकका साना व्यवसायमाथि राज्य संयन्त्रको व्यवहारबारे पुन: बहस सुरू भएको छ । आलोचकहरू प्रश्न गर्छन्– ‘के ठेला हटाएर, डालो घोप्ट्याएर वा टेम्पो भिरबाट खसालेर गरिबी न्यूनीकरण हुन्छ ? के श्रम गरेर पेट पाल्न खोज्ने नागरिक नै राज्यका समस्या हुन् ?’
शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ अन्तर्गत भीमदत्त राजमार्गको बासपानी क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले स्थानीय महिला धनादेवी धामीको टेम्पो हटाउने क्रममा धकेल्दै भिरबाट खसालेका थिए ।
धामीले आफ्नो घर नजिकै गाइमारे डाँडास्थित सडक किनारमा टेम्पो रोकेर दैनिक उपभोग्य सामग्री बिक्री गर्दै आएकी थिइन् । वन कार्यालयले भने उक्त स्थान वन क्षेत्र अतिक्रमण गरी व्यापार सञ्चालन गरिएको भन्दै टेम्पो हटाउन खोजेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार टेम्पोलाई भिरबाट खसाल्नुअघि त्यसमा राखिएका सामान भने निकालिएका थिए ।
घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै डिभिजन वन कार्यालय धनगढी, कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले संयुक्त हस्ताक्षरसहित आइतबार वक्तव्य जारी गरेका छन् । कार्यालयले टेम्पोलाई नियतवश भिरबाट धकेलिएको नभई अतिक्रमण हटाउने क्रममा बल प्रयोग गर्दा भिरालो भू–भागमा असन्तुलन भई खस्न पुगेको दाबी गरेको छ ।
वक्तव्यमा टेम्पो गुड्न नसक्ने अवस्थामा रहेको, चक्का तथा इञ्जिन बिग्रिएको र कवाडीसरह अवस्थामा रहेको उल्लेख गरिएको छ । गोदावरी–४ स्थित गोदावरी सामुदायिक वनको गाइमारे चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा उक्त घटना भएको कार्यालयको भनाइ छ ।
वन कार्यालयले संवेदनशील चुरे क्षेत्रको सार्वजनिक वन अतिक्रमण गरी छाप्रा तथा खोका निर्माण गरेर सरकारी जमिन कब्जा गर्ने क्रम लामो समयदेखि चलिरहेको र त्यसलाई नियन्त्रण गर्न अभियान चलाएको बताएको छ । कार्यालयका अनुसार उक्त क्षेत्रमा रहेका अन्य १० वटा छाप्रा पनि हटाइएको थियो । साथै, टेम्पो हटाउन एक महिनाअघि नै निर्देशन दिइएको भए पनि टेम्पो सञ्चालक घनश्याम धामीले अटेर गरेको दाबी गरिएको छ ।
वक्तव्यमा टेम्पोलाई ‘धकेलेर घरसम्म पुर्याउने प्रयास’ गरिएको तर भौगोलिक अवस्थाका कारण खस्न पुगेको उल्लेख छ । साथै, धामीले पुन: सोही स्थानमा व्यापार सञ्चालन गरेको र हटाउन जाँदा गालीगलौजसमेत गरेको आरोप वन कार्यालयले लगाएको छ । तर, धामी परिवारले भने टेम्पो पूर्ण रूपमा चल्ने अवस्थामा रहेको र जानाजानी धकेलेर भिरबाट खसालिएको दाबी गरिरहेको छ ।
घटनाबारे चौतर्फी आलोचना बढेपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ । कैलालीका प्रहरी प्रमुख नरेन्द्र चन्दले दुवै पक्षबाट फरक–फरक दाबी आइरहेकाले घटनाबारे तथ्यगत अनुसन्धान भइरहेको बताएका छन् ।
प्रहरीले टेम्पो चल्ने अवस्थामा थियो वा थिएन, वन कार्यालयको दाबी र धामी परिवारको भनाइमध्ये वास्तविकता के हो, तथा बल प्रयोग आवश्यक थियो वा थिएन भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाको निष्कर्ष जे आए पनि, एउटा भिडिओले अहिले राज्य संयन्त्रको संवेदनशीलता, गरिब नागरिकको जीविकोपार्जनको अधिकार र कानुन कार्यान्वयनको मानवीय पक्षबारे गम्भीर प्रश्न जबरजस्त उठाइदिएको छ ।