काठमाडौं, साउन २३। साताको पाचौं दिन आज विहिबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार प्रतितोला ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज ५०० रुपैयाँले बढेर ७० हजार रुपैयाँमा कारोबार भएको छ। सुनको मूल्य वृद्धि भएसँगै व्यवसायिक कारोबार ठप्प भएको सुनचाँदी व्यवसायीले जानकारी दिए।
त्यसैगरी आज तेजाबी सुनको मूल्य ६९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार तेजाबी सुन ६९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ६० हजार १५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५९ हजार ७६० रुपैयाँ कायम गरेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। बुधबार ७९५ रुपैयाँ कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर ८२५ रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७०७ रुपैयाँ ५० पैसा कायम गरेको छ।