काठमाडौं । अभिनेता टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीन जनालाई राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ । मुम्बई प्रहरीले उनीहरू हत्या गर्ने योजनासहित आएको दाबी गरेको छ।
पक्राउ पर्नेमा हरियाणाका दुई र बिहारका एक जना छन् । उनीहरू जयपुर हुँदै नेपाल भाग्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लरेन्स बिश्नोई समूहसँग जोडिएका अनिल पण्डितले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आक्रमणको जिम्मेवारी लिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गोली लागेर टाइगर घाइते नभए पनि बारुद र सिसाका टुक्राले उनको बायाँ हातमा चोट लागेको छ । गोलीबारीमा उनका चालक पनि घाइते भएका छन् । प्रहरीले घटनाको योजना र यसमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान गरिरहेको छ ।