काठमाडौ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको कमलपोखरीमा छठ पर्वको पूजाआजामा सरिक भएकी छन् । सोमबार दिउसो कमलपोखरी पुगेकी प्रधानमन्त्री कार्कीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी थिइन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका थिए ।
छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ । भोली बिहान उदाउदो सूर्यलाई अर्घ दिएसँगै यस बर्षको छठ पर्व सकिन्छ ।
२- प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मास्केलाई बालुवाटारमा आमन्त्रण गरी सम्मान गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले भनिन्- ‘ तपाईँले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ। एकपटक भेट्ने इच्छा थियो। आज पूरा भयो। सरकारका तर्फबाट धेरै केही गर्न नसके पनि भेटेर सम्मान प्रकट गरौँ भनेर यो कार्यक्रम गरिएको हो । यहाँलाई सम्मान गर्न पाउँदा हामी आफू पनि सम्मानित भएको महसुस भएको छ।
यहाँको निःस्वार्थ भावनाबाट समाजमा सत्कार्यका लागि अरूलाई पनि प्रेरणा मिलिरहेको हामीले ठानेका छौँ।’ काठमाडौँको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र भएर पनि भाइटीकाका दिन भेट्न नभएका दाजुभाइहरूको निधार खाली नहोस् भनेर टीका लगाइदिएका कारण परिचित छन् । उनले वीर अस्पतालमा बेवारिसे तथा विपन्न बिरामी र तिनका कुरुवाका लागि निःशुल्क खानपिनको व्यवस्था गरिदिएर पनि समाजमा योगदान गरेकी थिइन् । त्यस्तै काष्ठमण्डपमा सामूहिक व्रतबन्धको व्यवस्थापन पनि उनले गर्दै आएकी छन् ।

यी सबै काम उनले आफ्नै निजी खर्चमा गर्दै आएको पनि प्रधानमन्त्रीसमक्ष जानकारी गराएकि थिइन् । मास्केले भनिन्- ‘मैले कसैसँग केही अपेक्षा राखेर यी काम गर्दिनँ । जे सक्छु, आफ्नै खर्चमा गर्छु। अहिले छोरा कमाउने भएपछि सोचेको काम गर्न थप सजिलो भएको छ।’ मास्केले सरकारबाट पनि कुनै अपेक्षा नराखेको प्रतिक्रिया दिइन् । उनले भनिन्-‘मलाई केही चाहिएको छैन। हामीले आ–आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ। एकले अर्कालाई सघाउनुपर्छ। सबैले अरूको सेवा गरून्। सेवाको भावना राखेर काम गरून्। सरकारसँग हामीले अपेक्षा राख्ने होइन, सरकारलाई हामीले सघाउनुपर्छ।

अनि सरकारबाट देशको कल्याण हुन सक्छ।’ प्रधानमन्त्री कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बनेको सुनेकै दिनदेखि निकै खुसी र भरोसा जागेको पनि मास्केले बताइन् । उनले भनिन्- ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभयो, त्यहाँ साहसिक काम गर्नुभयो । यस्तो मान्छे देशको प्रधानमन्त्री हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको थियो। आज त्यो दिन देख्न पाइयो। एकदम खुसी र भरोसा लागेको छ। पहिलाजस्तै नडराइकन काम गर्नुहोला।’ अफ्ठ्यारो परिस्थितिमा देश सम्हाल्न आउनुभएको भन्दै प्रधानमन्त्री कार्कीप्रति मास्केले कृतज्ञता पनि व्यक्त गरिन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

३- जल तथा मौसम विज्ञान विभागले आजराती देखि पर्सि बिहानसम्म सात जिल्लामा सतर्क रहन आग्रह गरेको छ । विभागले हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की र पर्वतसहित आसपासका जिल्लाहरुमा सतर्क रहन चेतावनी दिएको हो ।

विभागले पर्सि विहानसम्म गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा-हिमपातको पनि सम्भावना रहेको जानकारी दिएको छ । त्यस्तै दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम (पूर्व), रुकुम (पश्चिम), बागलुङ, सुर्खेत, बाँके, बर्दिया र आसपासका जिल्लाका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, हिमाली भू-भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकोले मौसमसम्बन्धि जानकारी अध्यावधिक रहन आग्रह गरेको छ ।

४- आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको अभियोगमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ भदौरे बस्ने ५२ वर्षीय बखत सिंह लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर नजिकै बारी बखतले भरूवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दुर्दिम्बाबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
५- अनमोल केसीको फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । चलचित्र विकास बोर्डले फिल्मको गत शनिबारसम्मको सार्बजनिक गरेको आधिकारिक ग्रस कमाइमा देशभर ६ करोड ५१ लाख रूपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको १ लाख ९९ हजार ३९६ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ । निर्माण पक्षले भने आइतबार १० दिनमा फिल्मले विश्वभर १२ करोड ग्रस कमाई गरेको जानकारी दिएको थियो ।
फिल्मलाई दर्शकले रुचाएका कारण अहिले पनि देशभरका धेरै जसो हलमा हाउसफुलका साथ चलिरहेको छ । सुयोग गुरूङ निर्देशित एड्भेन्चर–लभस्टोरी जनराको ‘जेरी अन टप’ मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङले मुख्य अभिनय गरेका छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ । बोर्डले सार्बजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार दशैमा रिलिज भएको फिल्म बलिदानले ५ करोड ७ लाख ३१ हजार ३५२ ग्रस कमाई गरेको छ भने हरि बहादुरको जुत्ताले ४ करोड ७० लाख ४३ हजार ८८७ ग्रस कमाई गरेको छ । त्यस्तै माइतीघरले ४ करोड १२ लाख १७ हजार २०८ कमाई गरेको छ ।
६- दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त भएका छन् । अमेरिकी नौसेनाको प्यासिफिक फ्लीटले पहिलो घटनामा, एमएच- ६० आर सी हक हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ । नियमित अपरेशनको क्रममा विमानवाहक युएसएस निमिट्जबाट उडान भरेपछि हेलिकप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टरमा रहेका सबै तीन जना चालक दलका सदस्यहरूलाई उद्धार गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
अमेरिकी नौसेनाले लगभग आधा घण्टा पछि, नियमित अपरेशनको क्रममा युएसएस निमिट्जबाट उडान भर्ने क्रममा बोइङ एफ/ए-१८एफ सुपर हर्नेट लडाकु जेट पनि दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको थियो । अमेरिकी नौसेनाको अनुसार, लडाकु जेटमा सवार दुवै चालक दलका सदस्यहरू बाहिर निस्किए र सुरक्षित रूपमा उद्धार गरियो । दुबै घटनाको कारण अनुसन्धान भइरहेको अमेरिकी सेनाले जानकारी दिएको छ । दुवै घटनाहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको भ्रमणमा रहेका बेला भएका हुन् । ट्रम्प सोमबार जापान आइपुगे र पहिले इन्डोनेसियामा समय बिताए । यस वर्षको सुरुमा, अमेरिकी नौसेना विमानवाहक ह्यारी एस. ट्रुम्यानको सञ्चालनको क्रममा मध्य पूर्वमा दुई अमेरिकी लडाकु विमानहरू खसालिएका थिए ।
७- राष्ट्रपति रामचन्द्र पौडेल छठी माताको पूजा आराधाना एवं अर्घ दिएका छन् । राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले गुहेश्वरी मन्दिरअघि बागमती किनारामा निर्माण गरिएको छठघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् । काठमाडौं उपत्यकाका कमलपोखरी, गुहेश्वरी गौरीघाटलगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठीमाताको पूजाअर्चना भइरहेको छ । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात् मुख्य दिन आज साँझ तराई–मधेशको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।
८- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजवाट सोमवार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँ दिल्लीमा १०—१३ कात्तिकमा हुदैछ । आइएसएमा आवद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालकोतर्फबाट सहभागिता जनाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो । मन्त्री घिसिङले बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना बारे सभाको विषयगत सत्रमा विशेष सम्बोधन गर्ने छन् ।
९- नेपाल बंगलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबलको अन्तिम लिग खेलमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ । सोमबार सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
श्रीलंकाले नेपाललाई २५-१८, २५-१७, २५-२० ले पराजित गरेको छ । नेपालको यो पाँचौं खेलमा चौथो हार हो । नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । यसअघि नेपाल तुर्कमेनिस्तान, अफगानिस्तान र बंगलादेशसँग पराजित भएको थियो । अब लिग चरणमा ५ खेलबाट ४ अंक जोडेको नेपालले पाँचौ स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोली खेल्ने तालिका रहेको छ ।
१०- भारत र चीनबीच सिधा हवाई उडान लगभग पाँच वर्षपछि पुनः सुरु भएको छ । भारतको कोलकाताबाट लगभग १८० यात्रु बोकेको इन्डिगोको उडान सोमबार चीनको ग्वाङ्झाउ पुगेको छ । कोभिड-१९ महामारीको समयमा २०२० को सुरुवातमा दुई देशबीचको सिधा उडानहरू निलम्बित गरिएको थियो । त्यही वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपपछि उडानहरू पुनः सुरु भएका थिएनन् ।
यद्यपि, दुई देशबीचको सम्बन्ध बिस्तारै सुधार हुँदै गइरहेको छ । गत वर्ष, दुवै पक्षले सीमा गस्तीमा ऐतिहासिक सम्झौतामा पनि हस्ताक्षर गरेका थिए । यस वर्षको अगस्टमा, प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि चीनको भ्रमण गरेका थिए र सोही महिना चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारतको भ्रमण गरेका थिए । भारत सरकारले उडानहरू पुनः सुरु गर्नाले जनता-जनताको सम्पर्क बढाउने र बिस्तारै द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउन मद्दत गर्ने बताएको छ ।
११- ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पताल तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले प्रदर्शन गर्दै ढुंगामुढासहित तोडफोडमा उत्रिदा अवस्था तनावग्रस्त बनेको हो । अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आइतबारदेखि नै प्रदर्शन गरेका थिए । उनीहरुले सोमबार बिहान पनि प्रदर्शन गरेपछि अस्पतालमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
ठुलो संख्यामा उपस्थित रहेको प्रहरीको घेरा तोडेर मृतकका आफन्त र परिवारका सदस्यहरु अस्पताल भित्र पसेर ढुंगामुडा गरेका छन् । गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ । आफन्तहरुले अस्पताल बन्द गर्नुपर्ने, मीनालाई न्याय दिनुपर्ने लगायतका माग राख्दै आएका छन् ।
१२- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने भएको छ । विप्लवले स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेट्न आव्हान गरेका छन् । महासचिव विप्लवले देशमा व्याप्त भ्रष्टाचार, कमिसनखोरी, तस्करी, दलाल प्रवृत्ति र परजीवी शक्तिहरू समाप्त भए मात्रै राष्ट्रले आत्मसम्मानका साथ उन्नति हासिल गर्ने बताउदै स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेट्न आव्हान गरेका हुन् ।
उनले भनेका छन्- नेपाललाई अरूले होइन हामी आफैंले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौ साथीहरू ।
१३- अमेरिकाको ५० प्रतिशत भन्सार शुल्क लगाएपछि, भारतले चीनमा आफ्नो निर्यात बढाएको छ । २०२५-२६ को पहिलो छ महिनामा, गत वर्षको सोही अवधिको तुलनामा निर्यात २२ प्रतिशतले बढेको छ । अप्रिल देखि सेप्टेम्बर २०२५ सम्म, भारतले चीनलाई ८.४१ बिलियन डलर मूल्यका सामानहरू बेचेको छ, जुन गत वर्ष ६.९० बिलियन डलर थियो । यो वृद्धि टेलिफोन सेटका पार्टपुर्जा, झिंगे माछा र आल्मुनियम जस्ता वस्तुहरूबाट भएको हो ।
अप्रिल-सेप्टेम्बरमा पेट्रोलियम उत्पादनहरूको निर्यात ११६ प्रतिशतले बढेर ६८६ मिलियन डलरबाट १.४८ बिलियन डलर पुगेको छ । टेलिफोन सेटका पार्टपुर्जाको निर्यात १६२ प्रतिशतले बढेको छ । जमेको झिंगे माछा र झिंगे माछाको निर्यात २५ प्रतिशतले बढेर १७८ मिलियन डलरबाट ४६७ मिलियन डलर पुगेको छ । जमेको झिंगे माछा र झिंगे माछाको निर्यात २५ प्रतिशतले बढेर ३७३ मिलियन डलरबाट ४६७ मिलियन डलर पुगेको ६ महिनाको रिपोर्टमा उल्लेख छ । त्यसैगरी आल्मुनियम निर्यात ५९ प्रतिशतले बढेर १९१ मिलियन डलर पुगेको छ र सल्फर निर्यात १७५ प्रतिशतले बढेर ११६ मिलियन डलर पुगेको छ ।
निर्यातमा केही नयाँ वस्तुहरू पनि थपिएका छन् । उदाहरणका लागि, गत वर्ष शून्य निर्यात भएको ओएलईडी फ्ल्याट प्यानल डिस्प्ले मोड्युलहरू अब २४६ मिलियन डलर पुगेको छ । भारतीय निर्यात संगठन महासंघका सीईओ अजय सहायले २२ प्रतिशत वृद्धिले निर्यातकर्ताहरूको प्रतिस्पर्धात्मकतालाई संकेत गरेको र विशेष गरी झिंगा, आल्मुनियम र टेलिफोन पार्टपुर्जामा यस्तो देखिएको बताएका छन् । उनले यसलाई अहिले नै संरचनात्मक परिवर्तन भन्न नसकिने बताएका छन् । अगस्ट २७ मा भारतबाट अमेरिका पठाइएका सामानहरूमा ५० प्रतिशत भन्सार लागू भएको थियो । ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभले यो भन्सार दरले भारतको लगभग ६१ हजार करोडको निर्यातलाई असर गर्न सक्ने बताएको छ ।
१४- शिक्षामन्त्री महावीर पुनले आफुलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले आफु युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको उल्लेख गर्दै आफुलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका हुन् ।
उनले जानै पर्ने र नगई नहुने मिटिङहरुमा मात्र केहि मन्त्रीहरु बिदेश गएको उल्लेख गर्दै बिदेश घुम्यो भनेर हल्ला नगर्न आग्रह समेत गरेका छन् । उनले भनेका छन्- सुचनाः कृपया कसैले पनि र कहिंबाट पनि हालको म मन्त्रीलाई उद्घाटन / शिलन्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नु होला । म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गईन र जाँदैन । जानै पर्ने र नगई नहुने मिटीङहरुमा मात्र केहि मन्त्रीज्यूहरु बिदेश जानु भएको हो । बिदेश घुम्यो भनेर हल्ला नगर्नु होला ।
१५- नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजारले घटेर तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २९८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।
१६- अमनप्रताप अधिकारीले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते संसद भवन परिसरमा आगजनीका क्रममा अपशब्द बोलेको प्रति स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि र उनको त्यति बेलाको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिएका हुन् । अधिकारीले आफ्नै आँखा अगाडि संसद् भवनभित्रबाट गोली चलाएर स्कुल ड्रेसमा भएका विद्यार्थीहरूको हत्या भएपछि आक्रोशमा आफूले अपशब्द बोलेको बताएका छन् ।
उनले त्यो दिन आफूले भ्रष्टाचार र हत्यारा सरकारविरुद्ध अपशब्द बोलेको र अहिले सुन्दा अफ्ठ्यारो सुनिएकाले माफीसमेत मागेका छन् । साथै अधिकारीले आफुले जसलाई लक्षित गरेर अपशब्द बोलेको हो त्यसमा आफूलाई पछुतो नभएको बताएका छन् । उनले भनेका छन्- ‘भाद्र २३ गते जेनजी आन्दोलनलाई समर्थन गर्दै म संसद् भवन पुगेँ । संसद् भवन अगाडि गोली चल्यो । ड्याङड्याङ गोली चल्दाखेरि भागमभाग दौडादौड ।
मेरै अगाडिपछाडि र दायाँबायाँ स्कुल ड्रेस लगाइरहेका विद्यार्थीहरू त्यहीँ ढले । उनीहरू त्यहीँ सहिद भए । २४ गते ती विद्यार्थीहरू झल्झली मेरो आँखामा मुटुमा आइरहेको अवस्थामा आक्रोश बोकेर म फेरि संसद भवन पुगेँ । …गोली प्रहार गर्ने, आदेश दिने तथा सरकार चलाउनेहरूलाई मैले तेरो देश सकियो बोलेँ । अहिले तपाईंको फोनमा मेरो भिडियो सुन्दा अफ्ठ्यारो लाग्छ अपशब्द । माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जोविरुद्ध मैले अपशब्द बोलेको हो, त्यसमा पछुतो गर्दिनँ ।’ उनले कुनै पनि सरकारी र व्यक्तिगत संरचनामा आगजनी गरेको प्रमाण ल्याउन पनि चुनौती दिएका छन् र प्रमाणित भए आफू जेल जान तयार रहेको बताएका छन् । अधिकारीले भदौ २४ गते पोष्ट गरेको भिडियोमा ‘जल्यो तेरो देश’ भन्दै अराजक र अश्लील भाषा प्रयोग गरेका थिए र अहिले सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
१७- प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आग्रह गरेकी छन् । छठको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यमा जोड दिएकी हुन् । सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको भन्दै उनले आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि रहेको बताएकी छन् ।
उनले भनेकी छन्- ‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ। सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ- आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ। सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन । आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो। यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।’
छठसहित हाम्रा चाडपर्वहरु हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक भएको उनको भनाई छ। उनले अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको बताइन् । उनले भनेकी छन्- ‘सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले हामी नेपालीको सांस्कृतिक र सामाजिक रूपमा समेत तराई, पहाड, हिमाल जोड्ने सेतु बनिरहेको छ । पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसीयाली छाओस् । अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ ।’
१८- इजिप्टियन र रेडक्रसको अन्तर्राष्ट्रिय समिति टोलीहरूलाई बन्धकहरूको शव खोज्न अनुमति दिइएको छ । इजिप्टियन र रेडक्रसको अन्तर्राष्ट्रिय समिति टोलीले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमणको क्रममा हमासले बन्धक बनाएकाहरुको शव खोजिने बताइएको छ । इजरायली सरकारले यी टोलीहरूलाई गाजाको इजरायली सैन्य-नियन्त्रित क्षेत्रहरूमा अवस्थित तथाकथित ‘पहेंलो रेखा’ भन्दा बाहिर खोजी गर्न अनुमति दिइएको बताएको छ ।
हमास सदस्यहरूलाई रेडक्रस टोलीहरूसँग गाजाको इजरायली सेना नियन्त्रित भागमा प्रवेश गर्न र खोजी कार्यमा सहयोग गर्न पनि अनुमति दिइएको छ । अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको पहिलो चरणको रूपमा, हमासले २८ इजरायली बन्धकहरूमध्ये १५ जनाको शव हस्तान्तरण गरेको छ । सम्झौता अनुसार, हमासले सबै बन्धकहरूको शव फिर्ता गर्न आवश्यक छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्धकहरूको शव ‘चाँडो फिर्ता’ गर्न चेतावनी दिएका छन्, अन्यथा शान्ति प्रक्रियामा संलग्न अन्य देशहरूले उनीहरू (हमास) विरुद्ध कारबाही गर्ने बताएका छन् ।
१९- रियल म्याड्रिडले ला लिगाको एल क्लासिको जितेको छ । रियल म्याड्रिडले आइतबार राति सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र जुड बेलिङघमले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ५२औ मिनेटमा रियल म्याड्रिडले पाएको पेनाल्टी एम्बाप्पेले मिस गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल फेर्मिनो लोपेजले गरेका थिए । त्यसैगरी खेलको ९० मिनेटपछिको इन्जुरी समयमा बार्सिलोनाका पेड्रीले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए । यो जितपछि ला लिगाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडले आफ्नो अग्रता बढाएको छ । रियल म्याड्रिडको १० खेलमा २७ अंक भएको छ र बार्सिलोनाभन्दा ५ अंकले अगाडी भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोनाको १० खेलमा २२ अंक रहेको छ ।
२०- नेपाल प्रहरीका पाँच जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । जसमा पहिलो नम्बरमा भुपेन्द्रबहादुर खत्री, दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पाचौँ नम्बरमा अबिनारायण काफ्ले रहेका छन् ।
FACEBOOK COMMENTS