काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । शनिबार काठमाडौँ र मकवानपुरको विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सफल बनाउन आम नागरिकको सक्रियता जरुरी रहेको उल्लेख गरेका थिए ।
सरकारको प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गरे । निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन सम्बन्धी विषयमा गृहमन्त्री अर्यालसँगै गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) रमेश थापा लगायत उच्च पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो । मन्त्री अर्यालसहितको टोलीले दक्षिणकाली नगरपालिका–९ फर्पिङ स्थित सेतीदेवी माविको मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका थिए ।
साथै, गृहमन्त्री अर्यालले कीर्तिपुरस्थित सशस्त्र प्रहरीबल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट गणको अनुगमन र निर्देशनसहित जिल्लाको समग्र सुरक्षा व्यवस्थापनको जानकारी लिएका थिए । यस्तै, गृहमन्त्री अर्यालले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१८ को मतदान केन्द्रको अनुगनम गर्नुभएको छ । सो क्रममा मकवानपुर जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीसहितको उपस्थितिमा अनुगमन तथा निर्वाचन सुरक्षा सम्बन्धी विषयमा छलफल भएको थियो । त्यसैगरी मन्त्री अर्यालसहितको टोलीले इन्द्रसरोवर नगरपालिकाको चौकी निरीक्षण गरी जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको थियो । काठमाडौँ र मकवानपुर जिल्लाका जिल्ला सुरक्षा प्रमुखसहितको संयुक्त टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेका हतिय । दुबै जिल्लाका सीमा आसपासका क्षेत्रको सुरक्षा, मतदान केन्द्रलगायत सुरक्षाकर्मीको परिचालन गरिरहेको ब्रिफिङ लिनुकासाथै सुरक्षा व्यवस्थापन र परिचालन सम्बन्धी आवश्यक निर्देशन दिएका थिए ।
२- केन्द्रीय सुरक्षा समितिको बैठकमा रौतहटमा भएको घटना र निर्वाचनको सुरक्षाको तयारीका विषयमा छलफल भएको छ । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार सुरक्षा निकायका चारवटै प्रमुखसहित बसेको बैठकमा एकीकृत सुरक्षा योजना र रौतहटमा सद्भाव कायम गर्न आग्रह गरिएको विषयमा छलफल भएको जानकारी दिए । निर्वाचनका लागि एकीकृत सुरक्षा योजना र निर्वाचनका प्रचारप्रसारका क्रममा देखिएका गैह्रकानुनी गतिविधिलाई कानुनी दायरामा ल्याउने र दलहरुलाई आचारसंहिता पालना गरेर अगाडि बढ्न आग्रह गरिएको छ । त्यस्तै कानुनी विपरीत गर्नेलाई कारबाही गर्न प्रशासनलाई पनि निर्देशन दिइएको छ ।

रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग समन्वय गरेर उच्च संयमता र सद्भाव कायम गर्नका लागि आग्रह गरिएको छ भने घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । त्यसैगरी तराई क्षेत्रमा हुनसक्ने गतिविधि प्रतिवेदन पेश गर्ने निर्देशन दिइएको बताए। बैठकले निर्वाचनका संवेदनशील क्षेत्रमा गएर संगठनमार्फत प्रतिवेदन बनाउन निर्देशन दिइएको छ । निर्वाचनका क्रममा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रतिवेदन तयार गरेर प्रतिवेदन पेश गर्नका लागि प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको छ ।

३- थाइल्याण्डको उत्तरी चियाङ माई प्रान्तका पर्यटकीय वन्यजन्तु पार्कहरूमा फैलिएको घातक भाइरसका कारण कम्तीमा ७२ वटा बन्दी बाघको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार फेब्रुअरी ८ देखि १९ बीच टाइगर किङडम माए टाएन्ग मा ५१ र टाइगर किङडम माए रिममा २१ बाघ मरेका हुन् । प्रारम्भिक परीक्षणमा मृत बाघहरूमा ‘फेलाइन पार्भोभाइरस’संक्रमण पुष्टि भएको छ । यसका साथै केही नमूनामा क्यानाइन डिस्टेम्पर भाइरस (सिडीभी) र माइकोप्लाज्मा ब्याक्टेरिया समेत भेटिएको जनाइएको छ । इन्फ्लुएन्जा ए (बर्ड फ्लु) भने नदेखिएको अधिकारीहरूले स्पष्ट पारेका छन् । फेलाइन पार्भोभाइरस अत्यन्त संक्रामक र प्रायः घातक रोग हो, जसले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउँछ। क्यानाइन डिस्टेम्परले फोक्सो, पेट र कहिलेकाहीँ मस्तिष्कमा असर गर्ने जनाइएको छ ।

थाइल्याण्डको पशुधन विकास विभागका महानिर्देशक सोमचुआन रतनामुङ्क्लानोनले बाघको उपचार कुकुर-बिरालोभन्दा जटिल हुने बताए । उनका अनुसार बन्दी बाघहरूमा इनब्रिडिङ (नजिकको रक्तसम्बन्धीय प्रजनन) का कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनसक्छ, जसले संक्रमण तीव्र बनाएको छ । अधिकारीहरूले मे रिम पार्क १४ दिनका लागि अस्थायी रूपमा बन्द गरेका छन् भने दुवै पार्कमा प्रवेश सीमित गरिएको छ । बाँकी जीवित बाघहरूलाई क्वारेन्टाइन तथा विशेष हेरचाह केन्द्रमा सारिएको छ र स्वस्थ जनावरलाई खोप लगाउने तयारी भइरहेको छ । यस घटनापछि पशु अधिकारवादी संस्था पेटा एशियाले बन्दी अवस्थामा राखिएका बाघहरूको संरक्षण र व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ । यसअघि पनि सन् २००४ मा बर्ड फ्लु फैलिँदा थाइल्याण्डका चिडियाखानामा १४७ बाघ मरेका वा मारिएका थिए । अहिलेको प्रकोपले फेरि एकपटक बन्दी वन्यजन्तु व्यवस्थापनप्रति चिन्ता बढाएको छ।

४- बलिवुड अभिनेता शत्रुघ्न सिन्हाले आफ्नो व्यक्तित्व अधिकारको बारेमा बम्बई उच्च अदालतबाट राहत पाएका छन् । अभिनेताको प्रसिद्ध संवाद, ‘खामोश’ दशकौं पछि पनि प्रशंसकहरूको मनपर्ने संवादमा पर्दछ । अब अदालतले ‘खामोश’ संवाद शत्रुघ्न सिन्हाको व्यक्तित्वसँग विशिष्ट रूपमा सम्बन्धित रहेको ब्याख्या गरेको छ । अदालतले उनको सहमति बिना अनलाइन सामग्रीको लागि उनको नाम, छवि र अन्य व्यक्तिगत सामानहरू प्रयोग गर्न पनि निषेध गरेको छ । उच्च अदालतले आफ्नो एउटा फिल्ममा आफ्नो अनौठो र विशिष्ट शैलीमा दिएको संवाद केवल उनको व्यक्तित्वसँग सम्बन्धित छ भनेर प्रमाणित गर्न आवश्यक नरहेको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

शत्रुघ्न सिन्हाले हालै अदालतमा निवेदन दायर गरेका थिए । अदालतले सबै वेबसाइटहरू र सामाजिक सञ्जाल प्लेटफर्महरूलाई यस्तो सामग्री हटाउन निर्देशन दिएको थियो । साथै भविष्यमा अनुमति बिना यस्तो सामग्रीको प्रयोग गर्न पनि निषेध गरिएको छ । शत्रुघ्न सिन्हाका वकिल, हिरेन कमोदले अभिनेताको नाम, छवि र उनको प्रसिद्ध पंचलाइन, ‘खामोश’ को अनधिकृत प्रयोगको विरुद्धमा स्थायी निषेधाज्ञाको माग गर्दै निवेदन दायर गरे जसले गर्दा उनको व्यक्तित्व अधिकारको रक्षा भएको बताएका छन् । यसअघि बलिवुडका काजोल, अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन, नागार्जुन, अजय देवगण, अनिल कपूर र अभिषेक बच्चनले आफ्नो व्यक्तित्व अधिकारको सम्बन्धमा अदालतबाट सुरक्षा पाएका छन् ।
५- प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशपछि लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा आज बिहान लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी थिइन् । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृतनाका पृतनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं अन्य सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख सचिव काप्री र पृतनापति विष्टले प्रदेशभित्र रहेका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, चुनावको तयारी र सुरक्षाको योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
अन्य सहभागीहरुले पनि आ-आफ्नो क्षेत्रको विवरण प्रस्तुत गरेका थिए । प्रधानमन्त्री कार्कीले छोटो अवधिमा निकै मिहिनेत गरेर निर्वाचनको वातावरण बनाएको र मिहिन कुराहरुलाई पनि ध्यानमा राखी सुरक्षाको योजनासमेत तयार गरेकोमा सन्तोष व्यक्त गर्दै सम्बद्ध अधिकारीहरुलाई धन्यवाद दिएकी थिइन् । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकि थिइन् । उनले निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूको पहिचान गरी निर्वाचन केन्द्रित सुरक्षामा पूर्ण ध्यान दिन निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले जनतामा जान नसक्ने केही व्यक्ति र समूहले आफ्नो अस्तित्व देखाउन पनि निर्वाचन बहिष्कारको हल्ला फैलाउने गरेको उल्लेख गर्दै यस्ता गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिइन् । आफ्नो उपस्थिति देखाउन जनजीवनलाई आतंकित पार्ने र रकम असुली (एक्सटर्सन) गर्ने प्रवृत्ति पनि पाइएको र त्यसलाई समयमै निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो । उनले भनिन्- ‘बहिष्कार पनि अहिले सजिलो व्यवसायजस्तो भएको छ। जनतामा जानुपरेन । मत माग्नुपरेन । पार्टीको संगठन बनाउनुपरेन । दुईचार जना मिलेर बहिष्कार भन्दियो । जनतालाई आतंकित बनायो। चन्दाका नाममा एक्सटर्सन गर्यो। यस्तो प्रवृत्ति छ। यसलाई समयमै निरुत्साहित गर्नुपर्छ। राजनीति गर्ने हो भने त जनतामा मत माग्न जानुपर्यो नि ।’ उनले अगाडि थपिन- ‘अहिले सबै सम्हालिएर संयमित भएर देशलाई निकास दिने गरी निर्वाचन सफल बनाउन लाग्नुपर्ने समय हो। यो देश हाम्रो हो। हामीले नै बनाउनुपर्छ। यही देशमा बाँच्नुपर्छ। त्यसैले जस्तासुकै चुनौती आए पनि हामीले सामना गरेर नै अघि बढ्नुपर्छ। देशको माया हुनेहरु सबैले शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्नुपर्छ। निर्वाचन सफल बनाउँदै देशलाई निकास दिन लाग्नुपर्छ।’
निर्वाचन आफैमा जित-हारको प्रतिस्पर्धा भएकाले सम्भावित झडपप्रति पनि चनाखो हुनुपर्ने उनले बताइन् । प्रधानमन्त्री कार्की नेतृत्वको टोली आजै गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न पुगेको थियो ।
६- आयोजक सहारा क्लब २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । १२ वर्षपछि आहा रारा गोल्डकप जित्ने क्रममा सहाराले शनिबार सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । सहाराको जितमा मुकुन्द कुमार नुईरे र टाय डिनिएल बाडारुले एक एक गोल गरेका थिए । मुकुन्दले खेलको २५औं मिनेटमा गोल गरेका थिए भने टायले खेलको ७३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । यो सहाराको दोस्रो उपाधि हो । सहाराले यसअघि २०१४ मा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै पहिलो उपाधि जितेको थियो । आहा रारा पोखरा गोल्डकपको उपाधि सबै भन्दा बढी पटक जित्ने क्लब भने नेपाल पुलिस र मनाङ मर्स्याङ्दी हो । दुवैले ६-६ पटक यो उपाधि जितेका छन् ।
७- जिल्ला प्रशासन कार्यालय, रौतहटले धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीचको एकता, शान्ति र सद्भाव कायम गर्न सबैलाई अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गौर न.पा.-६ स्थित सबगढा गाँउमा भएको विवादलाई लिई स्थानीय समुदायलाई उत्तेजित बनाउने र समुदाय समुदाय वीच मनमुटावको स्थिति सिर्जना गर्न खोजेको घटना प्रति जिल्ला सुरक्षा समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रशासनले भनेको छ- ‘मिति २०८२ । ११।०७ गते बेलुकी ९:३० बजेको समयमा गौर न.पा.-६ स्थित सबगढा गाँउमा भएको विवादलाई लिई स्थानीय समुदायलाई उत्तेजित बनाउने र समुदाय समुदाय वीच मनमुटावको स्थिति सिर्जना गर्न खोजेको घटना प्रति जिल्ला सुरक्षा समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।
उक्त घटनाका सम्बन्धमा स्थानीय जनप्रतिनिधि समेतको सहभागितामा स्थानीय समुदायका अगुवाहरु वीच छलफल गरी देखिएका समस्याको लिखित रुपमै समाधान गरिएकोमा पुन: परिस्थिति असामाञ्जस्य बन्दै गएको हुँदा कर्फ्यू आदेश जारी गर्नुपर्ने अवस्था श्रृजना भएको छ । यस्तो अवस्था जारी हुँदा स्थानीय नागरिककै धनजनको क्षति हुने व्यहोरा विदितै छ ।’ प्रशासनले धार्मिक, सामाजिक र सांस्कृतिक विविधता विचको एकता, शान्ति र सद्भाव कायम गर्न सम्पूर्ण राजनीतिक दल, नेतृत्व वर्ग, जनप्रतिनिधिहरु, स्थानीय सरकारहरु, सामाजिक अभियन्ता तथा धार्मिक अगुवाहरु, समाजसेवी बुद्धिजीवी, गैरसरकारी संघसंस्था तथा उद्योगी व्यवसायीहरु, संचारकर्मीहरु, नागरिक समाजका अगुवाहरु, शिक्षक, विद्यार्थी तथा नवयुवाहरु, कर्मचारी तथा सुरक्षाकर्मीहरु तथा रौतहटवासी नागरिकहरुको सार्थक पहल गर्न अपिल गरेको छ ।
८- आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशनमा निर्माण हुन लागेको चलचित्र जिरो डिग्रीमा अभिनेत्री सनिशा भट्टराई अनुबन्धित भएकी छन् । निर्माण पक्षले उनलाई चलचित्रको प्रमुख महिला पात्रका रूपमा चयन गरेको हो । अभिनय यात्रामा यो सनिशाको तेस्रो चलचित्र हुनेछ । यसअघि उनले एक्सन शैलीका चलचित्र ‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’मा अभिनय गरिसकेकी छन् । सनिशाको प्रवेशसँगै चलचित्रको कलाकार सूची अझ सशक्त बनेको निर्माण पक्षको दाबी छ । यसअघि नै कीर्तिमानी अभिनेता विजय बराल चलचित्रमा आबद्ध भइसकेका छन् । यद्यपि विजय र सनिशाको जोडी देखिने हो वा दुवैको भूमिका फरक-फरक रहने हो भन्ने विषयमा भने निर्माण पक्षले खुलासा गरेको छैन । चलचित्रमा अनुबन्धित भएसँगै सनिशाले अभिनयसम्बन्धी कार्यशाला पनि सुरु गरिसकेकी छन् ।
निर्देशक द्वय आकाश बराल र साजन काफ्ले को लेखन तथा निर्माणमा बन्ने यस चलचित्रको कथा राजन भुसालले लेखेका हुन् । चलचित्रमा राजन भुसालको अभिनय पनि रहनेछ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता मोती कार्की रहेका छन् भने छायांकन निशाल पौडेल र सम्पादन चानस मगरले गर्नेछन् । चलचित्रको कथावस्तु सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आधारित छ । आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआउँदासम्म शव सुरक्षित राख्न सहरबाट ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याइएपछि सिर्जना हुने अवस्थालाई कथाको केन्द्रमा राखिएको निर्देशक काफ्लेले जानकारी दिए । उनका अनुसार चलचित्रमा एउटा फ्रिज गाउँसम्म पुर्याउने घटनामात्र होइन, हल्का हास्यरस मिसिएको संवेदनशील कथा पनि प्रस्तुत गरिनेछ ।
९- जारी जय ट्रफीमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशमाथि जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको १३७ रनको लक्ष्य पछाएको एपीएफले २ विकेट गुमाएर लक्ष्य पुर्याएको हो । एपीएफको जितमा कप्तान रोहित पौडेलले अविजित ५६ रन बनाएका थिए भने आसिफ सेखले ५९ रन बनाएका थिए । रोहितको यस खेलका दुवै इनिंगमा अर्धशतक प्रहार गरेका छन् ।
उनले पहिलो इनिंगमा ८७ रन बनाएका थिए । यस अघि पहिलो इनिंगमा बागमतीले २०७ रन बनाएको थियो भने एपीएफले पहिलो इनिंगमा २३९ रन बनाएको थियो । त्यस्तै बागमतीले दोस्रो इनिंगमा १६८ रन बनाएपछि एपीएफले १३७ रनको लक्ष्य पाएको थियो । अब एपीएफले अर्को खेल दोस्रो खेल सोमबारदेखि नेपाली पुलिस क्लबसँग खेल्ने छ भने बागमतीले सोमबारदेखि नै आफ्नो अर्को खेल त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।
१०- भारत र बंगलादेशबीचको सम्बन्धमा सुधार आउने संकेत देखिएको छ । बंगलादेशमा नयाँ सरकार आएसँगै दिल्लीस्थित बंगलादेश उच्चायोगले शुक्रबार भारतीय नागरिकहरूको लागि भिसा सेवा पुनः सुरु गरेको छ । बंगलादेशका नयाँ प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहण गरेको तीन दिनपछि यो निर्णय आएको हो । डिसेम्बरमा दुई देशहरूबीच तनाव बढेपछि भिसा र कन्सुलर सेवाहरू निलम्बन गरिएको थियो । यसलाई अब सम्बन्ध सुधार गर्ने दिशामा पहिलो कदमको रूपमा हेरिएको छ । रिपोर्ट अनुसार, भारतीयहरूका लागि सबै वर्गका भिसा सेवाहरू पुनर्स्थापित गरिएको छ ।
डिसेम्बरमा भारत विरोधी युवा नेता शरीफ उस्मान हादीको हत्यापछि दुई देशहरूबीचको सम्बन्ध बिग्रिएको थियो । हादीको मृत्युले बंगलादेशमा व्यापक विरोध प्रदर्शन निम्त्यायो । यी विरोध प्रदर्शनहरूमा भारत विरोधी नाराहरू समावेश थिए र धेरै हिन्दूहरूलाई लक्षित गरी मारिएको थियो । दुई देशहरू बीचको कूटनीतिक तनाव उल्लेखनीय रूपमा बढ्यो, जसले गर्दा भिसा सेवाहरू निलम्बन भए । ढाकामा मुहम्मद युनुसलाई पदच्युत गरेपछि र तारिक रहमानलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गरेपछि, भारतसँगको सम्बन्धमा सुधारको संकेत देखिएको छ । दिल्लीमा भिसा सेवाहरू पुनर्स्थापित गर्ने निर्णयलाई यस दिशामा पहिलो कदमको रूपमा हेरिएको छ ।
११- सहमति पालना नभएर पुन: विवाद बढेपछि पछि रौतहटमा प्रशासनले कर्फ्यु लगाएको छ । गौर नगरपालिका-६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए । शनिबार बिहानदेखि पुन: विवाद सुरु भई झडप र आगजनी सुरु भएको झडपमा ६ जना घाइते भएका थिए । प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन् । प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडीमा आगजनी गरेका छन् भने १२ वटा मोटरसाइकल तोडफोड भएको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
१२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव जित्न सकिन्न भन्ने निष्कर्ष निकालेको आफुले बुझेको बताएका छन् । झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले चुनाव हार्ने निष्कर्ष निकालेका कारणले झण्डा जलाउने, अभद्र व्यबहार गर्ने र तनाव बढाउने काम गर्न लागेको देखिएको भन्दै चुनाव भाड्ने तर्फ अगाडी बढेको देखिएको बताए । उनले भने- ‘यसको अर्थ आफ्नो पक्षमा नतिजा आउछ भने चुनाव हुने दिने, पक्षमा नतिजा आउदैन भने चुनाव हुन नदिने, मैले केहि दिन यताका घटनाक्रम हेर्दा रास्वपाले चुनाव भाड्न खोजेको जस्तो देखिन्छ ।’
निर्वाचन भनेको बलजफ्ती गर्ने विषय होइन भन्दै निर्वाचन स्वच्छ र निष्पक्ष र धाधली रहित चुनाव हुनुपर्ने ओलीले बताए । साथै उनले मतदाताले आफुले चाहेको दल र उम्मेदवारलाई निर्धक्क मत दिन पाउनुपर्ने बताए । ओलीले शान्ति भडकाउन खोज्ने प्रयास भइरहेको बताउदै सबै पक्षले चिन्ता जाहेर गरेको देखिएको बताए । निर्वाचनपछि पनि द्वन्द कायम रहने स्थिति देखिन्छ भन्दै अघि द्वन्दका कारण निराकरण गरेर बल्ल निर्वाचनमा जानु पर्ने विचार पनि रहेको भन्दै ओलीले राजनीतिक दलले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
१३- त्रिभुवन आर्मी क्लबले जय ट्रफीको पहिलो खेल जितेको छ । शनिबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ९ विकेटले पराजित गरेको हो । पुलिसले दिएको केवल ४२ रनको लक्ष्य पछाएको आर्मीले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पुलिसले पहिलो इनिंगमा १८७ रन बनाएको थियो भने आर्मीले २३४ रन बनाएको थियो । त्यस्तै दोस्रो इनिंगमा पुलिस क्लब केवल ८८ रनमा अलआउट भएपछि आर्मीले ४२ रनको लक्ष्य पाएको थियो । यस खेलमा आर्मीका लागि पहिलो इनिंगमा भिम सार्कीले १०५ रनको शतकीय पारी खेलेका थिए । अब त्रिभुवन आर्मी क्लबले अर्को खेल सोमबार बागमती प्रदेशविरुद्ध खेल्ने तालिका छ भने पुलिस क्लबले एपीएफ क्लबसँग खेल्ने छ ।
१४- निर्वाचन आयोगले दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाइएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरिएको भनिएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग स्पष्टीकरण सोधेको छ । आयोगले रास्वपाका कार्यकर्ताले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै ओलीविरुद्ध नाराबाजी गरेको भन्ने विषय सार्वजनिक भएपछि पार्टी सभापतिको नाममा स्पष्टीकरण सोधेको जनाएको छ ।
आयोगले २४ घण्टाभित्र आयोगमा लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। आयोगका अनुसार तुलसीपुरमा भएको भनिएको घटनाको वास्तविक अवस्था के हो, एमालेको झण्डा जलाउने कार्य भएको हो वा होइन, तथा अध्यक्ष ओलीविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गरिएको हो वा होइन भन्नेबारे स्पष्ट र तथ्यगत जवाफ दिनुपर्ने उल्लेख गरिएको छ ।
१५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः १० प्रतिशत विश्वव्यापी शुल्क लगाउने घोषणा गरेका छन् । उनले आजै आदेशमा हस्ताक्षर गरी उक्त शुल्क लागू गर्ने बताएका छन् । यसअघि शुक्रबार सर्वोच्च अदालतले ६-३ को बहुमतले दिएको फैसलामा संविधानअनुसार कर तथा आयात शुल्क लगाउने अधिकार केवल संसद (कांग्रेस) लाई मात्र रहेको स्पष्ट पारेको थियो । अदालतको निर्णयलाई कडा शब्दमा आलोचना गर्दै ट्रम्पले उक्त फैसला ‘अत्यन्त निराशाजनक’ भएको प्रतिक्रिया दिए । उनले केही न्यायाधीशमाथि लाज लागेको टिप्पणी गर्दै उनीहरूमा देशका लागि सही निर्णय गर्ने साहस नभएको आरोप लगाए । ट्रम्पले न्यायाधीशहरूलाई ‘कट्टर वामपन्थी शक्तिको प्रभावमा परेको’ आरोपसमेत लगाएका छन् ।
उनका अनुसार केही न्यायाधीशहरू देशभक्त नभएको र संविधानप्रति वफादार नरहेको दाबी गरेका छन् । उनले फैसलासँग असहमत रहेका तीन जना परम्परावादी न्यायाधीशको भने प्रशंसा गरेका छन् । अमेरिका-बेलायत, भारत तथा युरोपेली संघसहित व्यापार सम्झौता गरेका देशहरूले अब नयाँ आदेशअनुसार १० प्रतिशत विश्वव्यापी शुल्क सामना गर्नुपर्ने बताइएको छ । यसअघि तय गरिएका दरहरू लागू नहुने जनाइएको छ । अदालतको फैसलापछि उत्पन्न विवादका बीच ट्रम्प प्रशासनले नयाँ निर्णयमार्फत आफ्नो व्यापार नीति पुनः कार्यान्वयनमा ल्याउने संकेत दिएको छ । विश्लेषकहरूका अनुसार यस घटनाक्रमले अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा थप बहस र अनिश्चितता निम्त्याउने सम्भावना रहेको छ ।
१६- पन्ध्र महिना लामो कानुनी लडाईं पश्चा्त नेपाल वायुसेवा निगमले जबर्जस्ति हटाएको बरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई श्रम अदालत भक्तपुरले शुक्रबार पुनर्वहाली गरेको छ । श्रम अदालतका न्यायाधीशद्धय जनकराज पाण्डे र शैलेन्द्र कुमार चौरसियाको संयुक्त इजलासले बरिष्ठ विमान परिचारिका कार्कीलाई पुनर्वहाली गरिदिएको हो । सर्वाेच्च अदालतमा सेवासुविधा विभेदको रिट दायर गरी अन्तिरम आदेश लिएका कार्कीलाई निगमले २०८१ असोज १८ मा करार नविकरण नगरी जबर्जस्ति अवकाश दिएको थियो ।
कार्कीका तर्फबाट अधिवक्ताद्धय अनन्तराज लुईंटेल र विशाल थापाले शुक्रबार गरेको लामो बहसपश्चा्त श्रम अदालतले पुनर्वहालीको फैसला जारी गरेको हो । फैसलाको पूर्णपाठ आइनसकेको भएतापनि अदालतको वेभसाइटमा विमान परिचारिका कार्कीलाई पुनर्वहाली गरेको फैसला जनाइएको छ । सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात् समेत विमान परिचारिका कार्कीलाई निगमले जबर्जस्ति अवकाश दिएपछि उनी बाध्य भएर गैर कानुनी अवकाश बदर विरुद्ध श्रम अदालतमा मुद्दा लिएर गएको अधिवक्ता लुईंटेलले जानकारी दिए । असार १९ मा उनलाई श्रम अदालतका न्यायाधीशत्रय जनकराज पाण्डे, निशा बानिया र शैलेन्द्र कुमार चौरसियाको इजलासले अन्तरिम आदेश जारी गरी काममा फर्काउन निगमलाई आदेश दिएको थियो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा १ सय ३५ जना परिचारक र परिचारिकाको सेवासुविधा र उमेरहदको विभेद उपरको मुद्दा विचाराधिन अवस्थामा छ । नेपाल वायुसेवा निगम कर्मचारी प्रशासन विनियमावली २०५८ को नियम ६३(१)(ख) मा पचास बर्षसम्म सेवामा रहन पाउने प्रावधानको बर्खिलाफ मुद्दा दायर गरेकै प्रतिसोध सांधेर कार्कीलाई ४५ बर्ष पुग्ने वित्तिकै निगमले करार नविकरण नगरी जबर्जस्ति अवकाश दिएको थियो । जबर्जस्ती हटाएउपर सर्वाेच्च अदालतमा निगम संचालक समिति विरुद्ध समेत अवहेलनाको मुद्दा विचाराधिन छ । सर्वोच्च अदालतलका न्यायाधीशद्धय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इललासले गम्भीर संवैधानिक विषयको व्याख्याको प्रश्न रहेको उल्लेख गर्दै उक्त मुद्दा जेठ १३ मा संवैधानिक इजलासमा सुनुवाईको लागि पठाइ कसैलाई पनि कामबाट बञ्चित नगर्नू भनी अन्तरिम आदेशमा निरन्तरता दिएको छ । एक बर्ष अघि नै जारी अन्तरिम आदेश समेत विरुद्ध राष्ट्रिय ध्वजावाहक निगमले कार्कीलाई हटाएको थियो । पुनर्वहालीको फैसला पश्चात् कार्कीले न्याय पाएकोमा खुसी व्यक्त गरिन ।
‘न्यायको लडाईंमा एउटा नयाँ आशा पलाएको छ, विभेद विरुद्धको लडाईंमा न्याय पाइन्छ भन्ने एउटा नयाँ अध्यायको सुरुवात श्रम अदालतको फैसलाले गरिदिएको छ,’ बरिष्ठ विमान परिचारिका कार्कीले भनिन । सर्वोच्च अदालतमा विचाराधिन रिट निवेदनमा नेपाल वायुसेवा निगमका कर्मचारीहको सेवा, शर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको उल्लेख गर्दै विनियमावलीका कतिपय प्रावधान बदर गर्न माग गरिएको छ । कर्मचारीको अवकाश उमेर ५८ वर्ष कायम गरेकोमा विमान परिचारक र परिचारिकाको हकमा कतै ४० बर्षमा वर्षमा अवकाश दिने, कतै ४५ बर्षमा अवकाश दिने, कतै ५० बर्षमा अवकाश दिने मनलाग्दी व्यवस्था भएकोले सेवाको असुरक्षा भएको, एक महिनाको तलब दिएर जहिल्यसुकै हटाउनसक्ने, सेवाअवधिभर करार सेवामा राखी अवकाश गराउने र उपदान पनि नदिनेलगायतका प्रावधान रहेको भन्दै त्यस्ता विभेदकारी व्यवस्थालाई बदर माग गरिएको छ ।
१७- दाङको तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहारी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–४ हलवारका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर –६ का २४ वर्षीय बिक्रम परियारलाई शुक्रबार राति पक्राउ गरेको जानकारी दिएको हो । प्रहरीले यसअघि तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो ।
बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि दाङ तुलसीपुरको वीरेन्द्र चोकका भेला भएका व्यक्तिले एमालेको झण्डा जलाएका थिए । उक्त भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो । रास्वपाका कार्यकर्ताले झण्डा जलाएको भन्दै नेकपा एमाले आपत्ति जनाएको छ, भने शुक्रबार बेलुका दाङको तुलसीपुर काठमाडौंलगायत विभिन्न ठाउँमा मसाल जुलुस तथा विरोध र्याली निकालेका थिए । दाङ प्रहरीले झण्डा जलाउने कार्यमा संलग्न अन्यको खोजी कार्य जारी रहेको जनाएको छ ।
१८- प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले दुवै प्रणालीअन्तर्गत आवश्यक पर्ने मतपत्र समयमै छपाइ गरी सम्बन्धित जिल्लामा पठाउने कार्य अगाडि बढाएको जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ कार्य पूरा भएको छ । मिति २०८२ माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरिएकोमा हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको छ भने अन्य प्रदेशमा ढुवानी कार्य जारी रहेको आयोगले जानकारी दिएको छ ।
मतपत्र बाहेकका अन्य निर्वाचन सामग्रीको ढुवानी भने सबै प्रदेशमा सम्पन्न भइसकेको छ । मतपत्र छपाइ कार्य आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा २०८२ पुस २२ गतेदेखि सुरु गरिएको थियो । प्रारम्भमा मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २ सय नमूना मतपत्र छपाइ गरिएको थियो । त्यसपछि २०८२ पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सुरु गरिएकोमा २०८२ माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको आयोगले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले तयारीलाई तीव्र बनाउँदै सबै सामग्री समयमै मतदान केन्द्रमा पुर्याउने व्यवस्था मिलाइएको जनाएको छ ।
१९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनगढी उपमहानगरका संस्थापक नगर सभापति ईश्वरी विष्टले पार्टी छोडेका छन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली- ५ बाट प्रत्यक्ष उम्मेदवार बनेका विष्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएका हुन् । विष्टले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको आरोप लगाउदै संगठनमा समर्पित नेता-कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि-विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाएका छन् ।
२०- जापानको प्रमुख सहर ओसाकालाई पुरानो बन्दै गएको पानी आपूर्ति प्रणाली सुधार गर्न उल्लेखनीय सहयोग प्राप्त भएको छ । सहरलाई करिब २१ किलोग्राम तौलका सुन दानस्वरूप प्रदान गरिएपछि यसको चर्चा व्यापक रहेको छ । करिब ५६ करोड येन (झण्डै ३६ लाख अमेरिकी डलर) बराबर मूल्यका ती सुनका इँटाहरू गत नोभेम्बर महिनामा आफ्नो परिचय सार्वजनिक गर्न नचाहने एक दाताले उपलब्ध गराएका हुन् ।
यसबारे जानकारी दिँदै ओसाकाका मेयर हिदेयुकी योकोयामाले पत्रकार सम्मेलनमा सहरलाई ठूलो आर्थिक राहत मिलेको जानकारी दिएका छन् । मेयर योकोयामाले पुरानो बन्दै गएको खानेपानी पाइपलाइन व्यवस्थापन र मर्मतका लागि ठूलो लगानी आवश्यक पर्ने उल्लेख गर्दै दाताप्रति कृतज्ञता व्यक्त गरे । ‘यस्तो सहयोगप्रति धन्यवाद दिनुबाहेक मसँग अरू शब्द छैन,’ उनले भने । उनका अनुसार प्राप्त सहयोग ‘अचम्मित पार्ने’ र ‘शब्दभन्दा पर’ को रहेको छ । उनले सोही दाताले यसअघि पनि नगरको पानी सेवा विभागका लागि पाँच लाख येन नगद सहयोग गरेको जानकारी दिए ।
करिब ३० लाख जनसंख्या रहेको ओसाका जापानको कन्साइ क्षेत्रमा अवस्थित एक प्रमुख व्यावसायिक केन्द्र हो र देशको तेस्रो ठूलो सहरका रूपमा चिनिन्छ । तर अन्य धेरै जापानी सहरहरूजस्तै ओसाकाको पानी तथा ढल निकास पाइपलाइन प्रणाली पनि पुरानो बन्दै गएको छ, जसले सुरक्षा र पूर्वाधार व्यवस्थापनबारे चिन्ता बढाएको छ । सहरको जल विभागका अनुसार आर्थिक वर्ष २०२४ मा ओसाकाका सडक मुनि रहेका पानीका पाइपलाइनमा चुहावटका ९० भन्दा बढी घटना दर्ता भएका छन् । अधिकारीहरूका अनुसार प्राप्त सुन दानलाई नगदमा रूपान्तरण गरी पानी पूर्वाधार सुधार र आधुनिकीकरणमा खर्च गरिनेछ ।
FACEBOOK COMMENTS