काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्कीले आज कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छन् । सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोसी प्रदेशको अवस्थाका बारेमा छलफल गरेकी हुन् ।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लका मुख्य निर्वाचन अधिकृतहरु, नेपाली सेना, सशस्त्र प्रहरीका, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु, प्रमुख जिल्ला अधिकारीहरुको पनि उपस्थिति थियो । कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोसी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै आउँदा दिनमा पनि सबै निकायबीच समन्वयका साथ अघि बढ्न र चुस्त दुरुस्त व्यवस्थापन गर्न निर्देशन दिएकी थिइन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले भनिन्- ‘उनले ‘छोटो समयमा तपाईँहरुले राम्रो काम गर्नुभएको छ। यो सबैको समन्वयात्मक र एकीकृत प्रयासको प्रतिफल हो। मैले आज जे जति जानकारी पाएँ र आफ्नै आँखाले पनि देखेपछि लाग्यो कि अब जनताले मत हाल्न मात्र बाँकी छ। बाँकी सारा तयारी सकियो ।
आउँदा दिनमा पनि सबै सुरक्षा निकायबीच यस्तै एकताबद्ध र समन्वयात्मक रुपमा अघि बढ्नुहोस् । यसको प्रतिफल राम्रो आउनेछ र देशले पनि निकास पाउनेछ ।’ साथै उनले कुनै तत्त्वले निर्वाचनको वातावरण बिगार्न खोजेमा तत्कालै त्यस्ता तत्त्वलाई निरुत्साहित गर्न पनि निर्देशन दिइन् । उनले भनिन्- ‘सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि कसैले वातावरण बिगार्न खोज्लान्। त्यस्ता तत्त्वलाई पहिचान गरी तत्काल निरुत्साहित गर्नुहोस्। यसमा कुनै सम्झौता नगर्नुहोस्। यतिखेर देशले निकास पाउनका लागि निर्वाचनभन्दा ठूलो कुरा अर्को कुनै छैन।’ यसअघि आजै प्रधानमन्त्री कार्कीले सोलुखुम्बुका नाम्चे र सल्लेरी तथा भोजपुर सदरमुकाममा पनि निर्वाचनको तयारी र वस्तुस्थितिको बारेमा जानकारी लिएकी थिइन् । आज प्रधानमन्त्री कार्की सुनसरीको इटहरीमै बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

२- बागलुङमा न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा विद्यार्थीहरु घाइते भएका छन् । बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको भ्यान दुर्घटना भएको हो । बागलुङ बजारबाट मध्यपाहाडी लोकमार्गतर्फ जाँदै गरेको स्कुलको ग ३ च ८६२१ नं को भ्यान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । धौलागिरी प्रादेशिक अस्पतालमा उपचारत २४ विद्यार्थीमध्ये ४ जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा भ्यान चालकसमेत घाइते भएको प्रहरीले जानकारी दिएको छ । स्कुल भ्यान विद्यालयबाट विद्यार्थीहरूलाई घरतर्फ पुर्याउने क्रममा सडकबाट अन्दाजी ५०-६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

३- नेपालले इटालीसँग लज्जास्पद हार बेहोरेको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इटालीले नेपाललाई १० विकेटले पराजित गरेको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटालीले १२.३ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।इटालीका ओपनर दाजुभाई जस्टिन मोस्का र एन्थोनी मोस्काले शानदार ब्याटिंग गरेका थिए । जस्टिनले ६० रन बनाए भने एन्थोनीले ६२ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.३ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको थियो । नेपालका लागि आरिफ सेखले २७, कप्तान रोहित पौडेलले २३ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २० र दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए ।

त्यसैगरी करण केसीले अविजित १८ रन बनाएका थिए । त्यस्तै इटालीका बलर क्रिशान कालुगामाजले ३ र बेन मानेनटीले २ विकेट लिएका थिए । त्यस्तै जेजे स्मुटस, जसप्रित सिंह र अलि हसनले एक एक विकेट लिएका थिए । यो हारपछि नेपालको सुपर ८ मा पुग्ने सम्भावना कठिन बनेको छ । अब नेपालले अर्को खेल आइतबार वेस्ट इण्डिज सँग खेल्ने छ भने फेब्रुअरी १७ मा स्कटल्याण्डसंग खेल्ने छ । त्यस्तै इटालीले भने पहिलो पटक विश्वकप खेल्दै नेपालविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । पहिलो खेल स्कटल्याण्डसँग हारेको इटालीले यो खेल जितेर २ महत्वपूर्ण अंक हासिल गरेको छ ।

४- भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का सांसद डा. निशिकान्त दुबेले लोकसभामा प्रमुख प्रतिपक्षी नेता राहुल गान्धीको सदस्यता रद्द गर्न र भविष्यमा निर्वाचन लड्न प्रतिबन्ध लगाउन माग गर्दै प्रस्ताव पेश गरेका छन् । डा. दुबेले सोरोस फाउन्डेशन तथा देश विभाजन गर्न खोज्ने शक्तिसँग मिलेर राहुल गान्धीले भारतलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । उनले लोकसभा नियम ३५२(५) र ३५३ अन्तर्गत गान्धीको सदस्यता खारेज गरी भविष्यमा चुनाव लड्न रोक लगाउनुपर्ने मागसहित मोशन दर्ता गरेको बताएका छन् । उक्त नियमअनुसार यदि कुनै सांसदका गतिविधि संविधान र राष्ट्रिय एकताको विपरीत ठहरिएमा संसदले सदस्यता रद्द गर्न वा भविष्यका निर्वाचनमा भाग लिन रोक लगाउने प्रक्रिया अघि बढाउन सक्छ ।

राजनीतिक विश्लेषकहरूले भने यस प्रस्तावलाई अत्यन्त संवेदनशील राजनीतिक विषयका रूपमा हेरेका छन्। संसदमा हुने बहस र निर्णयले भारतीय राजनीतिक माहोलमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । यसैबीच वरिष्ठ भाजपा नेतृ वानाथी श्रीनिवासनले राहुल गान्धीलाई राष्ट्रिय सुरक्षाको विषयमा राजनीति नगर्न आग्रह गरेकी छन् । उनले लोकसभामा एक पूर्व सेनाप्रमुखको आत्मकथासम्बन्धी विषयलाई लिएर भएको हंगामाको आलोचना गर्दै कांग्रेसले जानाजानी राष्ट्रिय सुरक्षालाई राजनीतिक मुद्दा बनाएको आरोप लगाइन् । श्रीनिवासनले जनताबाट अस्वीकृत भइसकेका राहुल गान्धीले लोकसभामा अराजकता सिर्जना गरिरहेको दाबी गर्दै देशको सुरक्षाजस्तो संवेदनशील विषयलाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न चेतावनी दिएकी छन् ।
५- नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ मा कारोबार भएको थियो । आज होटल्स, माइक्रोफाइनान्स, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज मध्य भोटेकोशीको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने रसुवागढी हाइड्रोको ९.८८ प्रतिशतले बढेको छ । त्यसैगरी आज कालिन्चोक दर्शनको सबैभन्दा बढी ७.५९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनगाडीको ७० करोड ५३ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ४३ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।
६- पूर्व शिक्षामन्त्री महावीर पुनले नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीलाई गाली नगर्न आग्रह गरेका छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै पुनले झाँक्रीले दिएको अभिव्यक्तिप्रति उनलाई गाली नगर्न आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘रामकुमारी झाँक्री बहिनीलाई केही नभन्नु, तनाव होला, माफ गर्नु। जानिनन् त भनिन् । के बोल्नुपर्ने, कसरी बोल्नुपर्ने भन्ने नजानेपछि बोलिन् । त्यसैले उनलाई कसैले गाली नगर्नुहोला ।’
केहि दिनअघि झाँक्रीले निर्वाचन गराउने सरकारकै मन्त्री चुनाव लड्न गएको भन्दै महावीर पुनप्रति टिप्पणी गर्दै ‘बेबकुफ मन्त्री’ भनेकी थिइन् । झाँक्रीको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचना र गालीगलोज भइरहेको छ । पुनले झाँक्रीले गरेको टिप्पणीमाथि व्यंग्य गर्दै आफू ‘बेबकुफ’ नै भएको र झाँक्रीले सहि भनेको समेत उल्लेख अग्रेका छन् । उनले भनेका छन्- ‘झाँक्रीले भनेको कुरा पनि ठीकै हो, म बेबकुफै हुँ क्या । बेबकुफ नभएको भए किन नेपाल आएर यसरी डुल्थेँ त ? यत्रो अमेरिका पढेको मान्छे, अहिलेसम्म जागिर गरेको छैन, केहि व्यवसाय गर्न जानेको छैन । गाउँगाउँ डुलेको छ स्थानीयलाई सघाउछु मात्र भन्छ, गाउँलेहरूले जे दिन्छन् त्यही खाने, जहाँ सुताउँछन् त्यही सुत्ने मान्छे बेबकुफ नभएर के हुन्छ? ‘ पुन फागुन २१ गते हुने आम निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।
७- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचनलाई राष्ट्रको रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताएका छन् । बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै प्रचण्डले राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन गएको बताए । उनले भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको बताए ।
उनले भने- ‘२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं ।’ यो घटनाबाट संविधान केही हदसम्म ‘घाइते’ भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उनको भनाइ थियो। संयोजक प्रचण्डले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहनेबीचको लडाइँ भएको बताए ।
उनले भने- ‘२४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ। यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो ।’ उनले विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सानो देश पनि ठूला शक्तिको प्रतिस्पर्धाका लागि दुरुपयोग हुन नहुने बताए । उनले भने- ‘नेपालको खनिज वा स्रोतसाधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुन सक्छ भन्ने खतरा देखिएको छ ।’ युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गरे । निर्वाचनलाई राष्ट्र र स्वाधीनताको रक्षा गर्ने अवसरका रूपमा लिन आह्वान गर्दै उनले जनतालाई एकजुट भएर देशविरुद्धका जालझेल र षड्यन्त्र रोक्न सक्रिय हुन आग्रह गरे ।
८- श्रीलंकाले ओमानलाई १०५ रनको फार्किलो अन्तरले पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १०५ रनको अन्तरले पराजित गर्दै जारी विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । श्रीलंकाले दिएको २२६ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । ओमानका लागि मोहमद नादीमले ५३ रन बनाए भने वासिम अलीए २७ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै २२५ रन बनाएको थियो । यो यस विश्वकपको अहिलेसम्मको सबै भन्दा धेरै टोटल हो । श्रीलंकाका लागि कुशल मेन्डिसले ६१, पवन राथानायकले ६० र कप्तान दसुन शानकाले ५० रन बनाएका थिए । त्यस्तै कामिन्दु मेन्डिसले ७ बलमा अविजित १९ रन बनाएका थिए । त्यसैगरी ओमानका बलर जितें रामानान्दीले २ विकेट लिए भने जय ओडेड्रा, सुफयान मेहमूदले एक एक विकेट लिएका थिए । यो श्रीलंकाको जारी विश्वकपमा लगातार दोस्रो जित हो भने ओमानले लगातार दोस्रो हार बेहोरेको छ । अब श्रीलंकाले अर्को खेल आगामी सोमबार अस्ट्रेलियासँग खेल्ने तालिका छ भने ओमानले आगामी शनिबार आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
९- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयले भनेको छ- ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६२/१०/२६ को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।’ राष्ट्रिय सभाको १९औँ अधिवेशन माघ ५ गतेदेखि सुरु भएको थियो । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएपछि सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन गरिएको थियो ।
१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टीबाट राजीनामा दिएका छन् । विहिबार राजीनामाको घोषणा गर्दै राणाले पार्टीमा विशेष परिस्थितिको नाममा भएको बेथितिलाई मुखदर्शक भएर हेर्न नसक्ने भन्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । उनले भनेका छन्- मेरो राजीनामाको निर्णयबाट प्रभावित हुने स्वदेश र विदेशमा रहनुभएका संगठन एवं शुभेच्छुक साथीहरू समक्ष क्षमायाचना गर्न चाहन्छु । राजनीतिमा कहिले पनि सामान्य परिस्थिति हुँदैनन् । त्यसैले नै सबै भैपरि आउन सक्ने परिस्थितिहरुलाई आकलन गरेर पार्टीले विधान बनाएको हुन्छ ।
अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दै गर्दा भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने ? आफ्नो आन्तरिक अभ्यास सही ढङ्ग नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास म गर्न सक्दिन र अन्धभक्ति गर्न पनि चाहन्न !’ राणाले उम्मेदवार छनौटमा प्राइमेरी चुनाव नगरेको आरोप लगाउदा पार्टीको विधान अनुसार काम नगरेको, आधिकांश केन्द्रमा बसेका पदाधिकारी र केन्द्रीय सदस्यहरु बेथितिको साझेदार बनेको बताउदै उनले सुशासन, आर्थिक पारदर्शिता र जवाफदेहिता नारामा मात्र सिमित भएको र अभ्यासमा नभएको आरोप लगाएका छन् । राणा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट काठमाडौँ- ५ को उम्मेदवार बनेर ५ हजार ४७७ मत प्राप्त गर्दै तेस्रो भएका थिए ।
११- नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तानको फ्रेन्चाइज टी-२० लिग पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्ध भएका छन् । दीपेन्द्रलाई इस्लामाबाद युनाइटेडले अक्सनबाट ६० लाख पाकिस्तानी रुपैयाँ अर्थात ३१ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । पाकिस्तानी सुपर लिगको ११औँ संस्करण यही मार्च २६ देखि ३ मे सम्म हुदैछ । इस्लामबाद युनाइटेडपीएसएलको सफल टिम मध्ये एक हो । यसले तीन पटक पीएसएलको उपाधि जितेको छ ।
इस्लामबादले २०१६ को पीएसएलको पहिलो संस्करण जितेको थियो भने त्यसपछि २०१८ र २०२४ मा जितेको थियो । इस्लामावादको टिमको कप्तान पाकिस्तानका राष्ट्रिय टिमका खेलाडी शडाब खान रहेका छन् भने यस टिममा न्यूजील्याण्डका डेभोन कोनवे, मार्क च्याम्पम्यान, पाकिस्तानका हैदर अली लगायतका खेलाडी रहेका छन् । योसँगै दीपेन्द्र नेपालबाट पीएसएल खेल्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि सन्दीप लामिछानेले पनि पीएसएल खेलेका थिए ।
१२- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाविरुद्धको आचारसंहिता उल्लंघन गरेको आरोपमा अफगानिस्तानका अलराउन्डर मोहम्मद नबीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ । आईसीसीले नबीलाई लेभल–१ को आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उनको म्याच फीको १५ प्रतिशत जरिवाना गर्ने निर्णय गरेको हो । उनले खेलाडी तथा खेल सहयोगी स्टाफसम्बन्धी आईसीसी आचारसंहिताको धारा २.४ उल्लंघन गरेको जनाइएको छ, जुन अन्तर्राष्ट्रिय खेलका क्रममा अम्पायरको निर्देशन अवज्ञा गर्नेसँग सम्बन्धित छ ।
घटना अफगानिस्तानको इनिङ्सको १४औँ ओभर सुरु हुनुअघि भएको थियो । उक्त समयमा नबीले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडीले लगाएको हातको ब्यान्ड (रिस्ट ब्यान्ड) सम्बन्धमा अम्पायरसँग विवाद गरेका थिए । सो क्रममा अम्पायरको निर्देशन नमानिएको भन्दै आईसीसीले कारबाही गरेको हो । यो खेल भने अत्यन्त रोमाञ्चक बनेको थियो । निर्धारित ओभरमा नतिजा ननिस्किएपछि दुई पटक ‘सुपर ओभर’ खेलाइएको थियो । अन्ततः दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गर्दै जित हात पारेको थियो ।
१३- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको एक सय घटेर तोलाको ३ लाख ६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ५३४० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५२९० मा कारोबार भएको थियो ।
१४- जिल्ला प्रशासन कार्यालय, काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले अन्तराष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील क्षेत्र र सो आसपासको क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा कार्यकमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने भन्दै एक महिनाका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।
प्रशासनले भनेको छ- ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) को व्यवस्था बमोजिम मिति २०८२/१०/२९ गतेदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्म १ (एक) महिनासम्मका लागि विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायतको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ ।’ साथै निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा नेपालको संविधान बमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवम् बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला जम्मा भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको प्रति स्थानीय प्रशासन सदैव प्रतिवद्ध रहेको उल्लेख छ । फागुन १ गते पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किन लागेकाले उनको स्वागतमा राप्रपासहितका राजावादी दल र समुहले कार्यक्रमको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
१५- क्यानडामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफको विरोधमा अमेरिकी कांग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’मा भएको मतदानमा ट्यारिफ खारेज गर्ने प्रस्ताव पारित भएको छ । प्रस्ताव २१९ विरुद्ध २११ मतले पास भएको हो । मतदानका क्रममा दलगत सीमाभन्दा बाहिर गएर समेत केही सांसदहरूले मत दिएका थिए । ट्रम्पकै रिपब्लिकन पार्टीका ६ सांसदले प्रस्तावको समर्थनमा मतदान गरेका छन् भने डेमोक्रेटिक पार्टीका एक सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । यसले विषयलाई लिएर दुवै दलभित्र मतभेद रहेको संकेत गरेको छ । मतदान अघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत रिपब्लिकन सांसदहरूलाई चेतावनी दिएका थिए ।
उनले ट्यारिफको विरोधमा मतदान गर्ने जो कोही सांसदले आगामी निर्वाचनमा ‘गम्भीर परिणाम’ भोग्नुपर्ने बताएका थिए । ट्रम्पले क्यानडाले वर्षौंदेखि व्यापारका नाममा अमेरिकाको ‘फाइदा उठाउँदै’ आएको छ, त्यसैले ट्यारिफ आवश्यक कदम हो । ट्रम्प प्रशासनले क्यानडामाथि विभिन्न वस्तुमा ट्यारिफ लगाइसकेको छ । हालै क्यानडा र चीनबीच प्रस्तावित व्यापार सम्झौताको सन्दर्भमा ट्रम्पले क्यानडामाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी समेत दिएका छन् । यस कदमले दुई देशबीचको व्यापार सम्बन्धमा थप तनाव सिर्जना गरेको छ । अब यो प्रस्ताव अमेरिकी संसदको माथिल्लो सदन ‘सीनेट’मा जानेछ, जहाँ रिपब्लिकन पार्टीको बहुमत रहेको छ । विश्लेषकहरूका अनुसार सीनेटबाट प्रस्ताव पारित भए पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्ने सम्भावना उच्च रहेकाले यसलाई कानुनको रूप दिन कठिन देखिन्छ । यस घटनाक्रमले अमेरिका-क्यानडा व्यापार सम्बन्ध र अमेरिकी आन्तरिक राजनीतिमा नयाँ बहस सुरु गराएको छ ।
१६- इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । गएराती सम्पन्न खेलमा लिभरपुलले सन्डरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको थियो । लिभरपुलको जितमा खेलको ६१औं मिनेटमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । त्यसैगरी गएराती नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
म्यानचेस्टर सिटीको जितमा एन्टोनी सेमेन्यो, निको ओ’ रेइली र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । गएराती नै सम्पन्न खेलमा एस्टन भिल्लाले ब्राइटनलाई १-० ले, बर्नलीले क्रिस्टल प्यालेसलाई ३-२ गोल अन्तरले पराजित गरेका थिए । यी खेलपछि म्यानचेस्टर सिटीको २६ खेलमा ५३ अंक भएको छ र दोस्रो स्थानमा छ भने एस्टन भिल्लाको २६ खेलमा ५० अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी लिभरपुलको २६ खेलमा ४२ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।
१७- आईसीसी टी-२० विश्वकप २०२६ प्रति विश्वभरका क्रिकेट समर्थकले ठुलो साथ दिएका छन् । भारत र श्रीलंकामा सम्पन्न पहिलो छ खेल अत्यन्त रोमाञ्चक बनेका छन् भने रंगशालामा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । यससँगै डिजिटल माध्यममा पनि अभूतपूर्व संलग्नता वृद्धि भएको आईसीसीले जनाएको छ । प्रतियोगिताको पहिलो दुई दिनलाई सन् २०२४ को संस्करणसँग तुलना गर्दा आईसीसीका डिजिटल प्लेटफर्महरूमा ५३ प्रतिशतले वृद्धि देखिएको छ । सबै प्लेटफर्ममा गरी ६४७ मिलियन भिडियो भ्युज पुगेका छन् । आईसीसी एप प्रयोगकर्तामा ८३ प्रतिशतको वृद्धि भएको छ भने वेबसाइट प्रयोगकर्तामा १६ प्रतिशतले बढोत्तरी भएको छ। विशेषगरी फुल मेम्बर देशबाहिरका समर्थकबाट उल्लेखनीय वृद्धि देखिएको छ । समूह ‘सी’ मा आइतबार इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेको नेपाल डिजिटल वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ ।
नेपालबाट आईसीसी प्लेटफर्म प्रयोगकर्ता ४४२ प्रतिशतले बढेका छन्, जुन आश्चर्यजनक वृद्धि हो । त्यस्तै, यूएईबाट १९६ प्रतिशत र अमेरिकाबाट ४९ प्रतिशतले प्रयोगकर्ता बढेका छन्, जसले क्रिकेटको विश्वव्यापी विस्तारलाई संकेत गर्छ । मैदानतर्फ पनि उत्साहजनक उपस्थिति देखिएको छ । मुम्बईको वानखेडे रंगशालामा भारतले अमेरिकालाई पराजित गरेको खेलमा सबैभन्दा बढी २४ हजार ९९७ दर्शक उपस्थित थिए । अन्य पाँचमध्ये चार खेलमा १५ हजारभन्दा बढी दर्शक रंगशालामा पुगेका थिए । २० टोली सहभागी प्रतियोगिताको समूह चरणका खेलहरू आठ वटा रंगशालामा भइरहेका छन् । टिकट मूल्य निर्धारण रणनीति र खेल तालिका समयमै सार्वजनिक गरिएकाले दर्शक उपस्थिति उत्साहजनक बनेको आईसीसीले जनाएको छ ।
उद्घाटन सप्ताहन्तमा मात्र कुल एक लाख ७ हजार ७८१ दर्शकले प्रत्यक्ष खेल अवलोकन गरेका छन् । स्ट्रिमिङतर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ । आइसीसीको टिभीमा कुल भ्युज २९६ प्रतिशतले बढेका छन् भने युनिक प्रयोगकर्तामा १९२ प्रतिशत वृद्धि भएको छ । जापान, जर्मनी, दक्षिण कोरिया, फ्रान्स, मलेसिया, इटाली र नेदरल्यान्ड्स जस्ता परम्परागत क्रिकेटबाहेकका देशबाट आएको भ्युज अहिले आइसीसी टिभीको कुल भ्युजको एक चौथाइभन्दा बढी हिस्सा ओगट्न थालेको छ । पहिलो पटक आइसीसी टिभीमा गैर अंग्रेजी कमेन्ट्री सुरु गरिनु यस वृद्धिको प्रमुख कारण मानिएको छ । इंग्ल्यान्ड-नेपाल खेलमा नेपाली भाषाको कमेन्ट्री र भारत-अमेरिका खेलमा हिन्दी कमेन्ट्री सबैभन्दा बढी हेरिएका स्ट्रिम बनेका छन् । यसले क्रिकेटलाई अझ समावेशी र पहुँचयोग्य बनाएको आईसीसीले जनाएको छ ।
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच ह्वाइट हाउसमा करिब दुई घण्टा लामो भेटवार्ता भएको छ । भेटपछि ट्रम्पले आफ्नो इरानसँगको परमाणु सम्झौताबारे वार्ता जारी राख्नुपर्ने कुरा आफूले स्पष्ट रूपमा राखेको बताएका छन्।ट्रम्पले बैठक राम्रो भए पनि कुनै अन्तिम निर्णय भने भएको नभएको बताए । उनले भने- ‘यदि इरानसँग राम्रो सम्झौता सम्भव छ भने त्यो उत्तम हुनेछ, नत्र आगामी कदमबारे विचार गरिनेछ । ट्रम्पले यसअघि इरानले सम्झौता अस्वीकार गरेपछि अमेरिका सैन्य कारबाहीमा उत्रिएको स्मरण गराउँदै ‘अपरेशन मिडनाइट ह्यामर’को उल्लेख समेत गरेका छन् । भेटवार्तामा गाजाको अवस्था र मध्यपूर्वमा शान्ति प्रयासबारे पनि छलफल भएको जनाइएको छ । नेतन्याहूले ट्रम्पसँग भेट्नुअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग समेत भेट गरेका थिए ।
यसैबीच, नेतन्याहूले विगतमा गाजा युद्धका क्रममा अमेरिका तर्फबाट हतियार र गोला–बारुद आपूर्ति रोकिँदा इजरायली सैनिकको ज्यान गएको आरोप लगाएका थिए । उनले प्रत्यक्ष रूपमा पूर्व राष्ट्रपति जो बाइडेनको नाम नलिए पनि हतियार आपूर्ति ट्रम्प राष्ट्रपति बनेपछि मात्र पुनः सुरु भएको दाबी गरेका छन् । नेतन्याहूले अलग फिलिस्तिनी राष्ट्र गठनको सम्भावना अस्वीकार गर्दै गाजा र कब्जामा रहेको वेस्ट बैंकमा इजरायलले नियन्त्रण कायम राख्ने बताएका छन् । उनले ‘टु–स्टेट सोलुसन’ लागू हुन नदिएको दोहोर्याउँदै जोर्डन नदीदेखि समुद्रसम्म इजरायलको नियन्त्रण रहने दाबी गरे । इरानबारे ट्रम्पको पछिल्लो अभिव्यक्तिको उल्लेख गर्दै नेतन्याहूले इरानले आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिएका छन् । अमेरिका हाल क्षेत्रीय सुरक्षालाई ध्यानमा राख्दै एयरक्राफ्ट क्यारियर स्ट्राइक समूह तैनाथ गरिसकेको छ ।
अमेरिका इजरायलको सबैभन्दा ठूलो सैन्य सहयोगी हो । सन् २०१६ मा भएको १० वर्षे समझदारीअनुसार अमेरिकाले सन् २०१९ देखि २०२८ सम्म कुल ३८ अर्ब डलर सैन्य सहायता दिने प्रतिबद्धता जनाएको छ, जसअनुसार हरेक वर्ष करिब ३.८ अर्ब डलर उपलब्ध गराइन्छ । यसमा ३.३ अर्ब डलर सामान्य हतियार खरिदका लागि र ५० करोड डलर मिसाइल प्रतिरक्षा प्रणालीका लागि छुट्याइन्छ । गाजा युद्ध सुरु भएयता थप अर्बौँ डलरको विशेष सहायता समेत दिइएको छ । ग्लोबल फायर पावर र्याङ्किङअनुसार सन् २०२६ सम्म इजरायल विश्वका १४५ देशमध्ये १५औँ स्थानमा छ भने अमेरिका पहिलो स्थानमा रहेको छ ।
१९- काठमाडौँ महानगरले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुनेछ । बुधबार ‘साना डाक्टर सम्बन्धी १ दिने कार्यशाला’मा यसको अवधारणा, कार्यक्रम सञ्चालन रणनीतिका विषयमा छलफल भएको छ । कार्यशालामा जनप्रतिनिधिहरु, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र हेर्ने महानगरपालिकाका विभागीय प्रतिनिधि, विद्यालय नर्ससहित साझेदार सहभागी थिए ।
कार्यशालामा बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिका बिचको सहसिकाइका लागि यो विधि उपयुक्त भएको उल्लेख गरेकी थिइन् । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रुप विकास गर्ने कार्यक्रमलाई साना डाक्टर कार्यक्रम दिइएको हो । विद्यार्थी आफू, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य हो ।
सहपाठी बालबालिकाबिचको आपसी सिकाइ, प्रयोगात्मक र भूमिका निर्वाह, अभिलेख र अनुगमन सिकाइका मुख्य विधि हुन् । पाठ्यक्रममा आधारित ३ महिना तालिम दिएपछि बाँकी ९ महिना विद्यार्थीहरुलाई समूहगत रुपमा निरोगात्मक स्वास्थ्य प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न दिइन्छ । एउटा स्वास्थ्य क्लवमा १५ जनादेखि २० जनासम्म छात्रछात्रा राखिनेछ ।
२०- पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको दायाँ आँखामा अहिले केवल १५ प्रतिशत दृष्टि मात्र बाँकी रहेको चिकित्सकीय प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन सर्वोच्च अदालतमा पेश गरिएको हो । पीटीआईका वकिल सलमान सफदरले अदियाला जेलमा भेटपछि पेश गरेको सात पृष्ठको प्रतिवेदन अनुसार इमरानको आँखामा रगतको थक्का (ब्लड क्लट) जम्दा गम्भीर क्षति पुगेको र उपचारका बाबजुद दृष्टि अत्यन्त कमजोर भएको जनाइएको छ ।
अदालतले सफदरलाई ‘एमिकस क्युरिए’ (अदालतका मित्र) का रूपमा नियुक्त गरी जेलमा भेट गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । प्रतिवेदनमा इमरानले आफूलाई केही महिनाअघि धुम्म देखिने समस्या सुरु भएको तर जेल प्रशासनले समयमै उपचारको व्यवस्था नगरेको गुनासो गरेका छन् । पछि दायाँ आँखाको दृष्टि अचानक पूर्ण रूपमा गुमेको र पिम्स अस्पतालका नेत्र विशेषज्ञले जाँच गर्दा रगतको थक्का जमेको पुष्टि भएको उल्लेख छ ।
७३ वर्षीय इमरानले नियमित स्वास्थ्य परीक्षण, दन्त उपचार र व्यक्तिगत चिकित्सकसँग भेटको अनुमति नदिएको समेत बताएका छन् । साथै, पाँच महिनादेखि आफ्ना मुख्य कानुनी सल्लाहकारसँग भेट्न नपाएको र परिवारका सदस्यहरूसँग भेटघाटमा पनि प्रतिबन्ध लगाइएको दाबी गरेका छन् । हाल उनीलाई हप्तामा एक पटक करिब ३० मिनेट पत्नीलाई भेट्न अनुमति दिइएको जनाइएको छ । इमरानको स्वास्थ्य अवस्था र जेलभित्रको सुविधाबारे अदालतमा बहस जारी रहेको छ ।
FACEBOOK COMMENTS