काठमाडौंं, ४ असोज । सोमबार शेयर बजारमा भारी अङ्कको गिरावट आएको छ । आइतबार सार्वजनिक बिदा भएको कारण बन्द रहेर सोमबार खुलेको बजारमा नेप्से परिसूचक ४.०५ प्रतिशतले घटेको हो ।
यो दिन ११४.०२ अङ्कले घटेको बजार २ हजार ६९८.२५ बिन्दुमा झरेर थामिएको हो । यसैगरी आज १९.५१ अङ्कले घटेको सेन्सेटिभ परिसूचक ५०६.७ बिन्दुमा ओर्लिएको छ ।
शेयर बजारमा खरिद गर्नेको तुलनामा बिक्री गर्ने लगानीकर्ताको चाप बढेका कारण उच्च अंकले बजार घटेको हो । कारोबार अवधिभर आज २२५ कम्पनीको एक करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर एक लाख ७ हजार ५९६ पटकमा किनबेच हुँदा ८ अर्ब ४९ करोड ३४ लाख एक हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज कुन कुन रहे शीर्ष स्थानमा :
सोमबारको बजारमा सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । मनकामनाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।त्यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २.०४ प्रतिशत, लक्ष्मी लघुवित्तको १.९९ प्रतिशतले बढ्यो । हुनेमा सनराईज बैंक डिबेन्चर, नविल ब्यालेन्स फण्ड, नविल डिवेन्चर, सानीमा बैंक डिबेन्चर र नयाँसाथी लघुवित्तको सेयरपनि एक प्रतिशतभन्दा कम अंकले बढेको छ । सोमबारको कारोबारमा सनराईज बैंक डिबेन्चर ०.९५ प्रतिशत, नविल ब्यालेन्स फण्ड ०.६३, नविल डिवेन्चर ०.४९, सानीमा बैंक डिबेन्चर ०.१९ र नयाँसाथी लघुवित्तको सेयर ०.१४ प्रतिशतले बढेको छ ।
कारोबारका हिसाबले सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४३६ रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै हिमालयन डिस्टिलरी, नबिल बैंक, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआसी एशिया बैंक, अरुण काबेली पावर कम्पनीको, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ ।
आज कुन समुहको कति घट्यो :
आज वित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव ५६ प्रतिशतले घटेको छ । त्यसैगरी विकास बैंक समूहको परिसूचक ६ दशमलव ३५ प्रतिशत र जलविद्युत समूहको परिसूचक ६ दशमलव ८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ समूहको परिसूचक २ दशमलव ७ प्रतिशत, व्यापार समूहको ४ दशमलव ८ प्रतिशत, होटल एण्ड टुरिजम समूहको ४ दशमलव ७२ प्रतिशत, निर्जीवन बीमा समूहको ४ दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३९ प्रतिशतले घटेको छ ।त्यसैगरी, अन्य समूहको ३ दशमलव ८७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३ दशमलव शून्य ७ प्रतिशत, जीवन बीमा समूहको परिसूचक ५ दशमलव शून्य ७ प्रतिशत, म्युचुअल फण्ड समूहको ३ दशमलव शून्य ८ प्रतिशत र लगानी समूहको परिसूचक ५ दशमलव ३९ प्रतिशत घटेको छ ।
सिइडीबी हाइड्रोपावर, जानकी फाइनान्स, खानीखोला हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयरमूल्य रू. ९ दशमलव ९९ प्रतिशतले घटेको त्यस्तैगरी बजार घटेसँगै गुडविल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ७१८, पोखरा फाइनान्सको रू. ६१३, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू। ५१६, प्रोग्रेशिभ फाइनान्सको रू। ४२२, आँखुखोला जलविद्युतको रू ३४७, घलेम्दी हाइड्राको रू ३७७, माउन्टेन इनर्जी नेपालको रू १ हजार १६८, युनाइटेड इदी मार्दीको रू ६१४, सिइडीबी हाइड्रोपावरको रू ९३१, जानकी फाइनान्सको रू ६०६, खानीखोला हाइड्रोपावरको रू ३४५ र हिमालयन पावर पार्टनरकाको शेयरमूल्य प्रतिकित्ता रू ५४३ कायम भयो ।
किन यसरी घट्दै छ बजार :
सुरुमा सेयरबजार घट्नुमा नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति का कारण ठूला लगानीकर्ताहरु समस्यामा परेकाले सेयरबजार नकारात्मक बन्न पुगेको लगानीकर्ताहरुको भनाइ थियो। यो भनाइ संगसंगै मानिसहरु प्रमुख चाडको लागि खर्चको जोहो गर्ने तयारीमा पनि रहेका छन् अहिले बैंकहरुबीच उच्च ब्याजदरमा निक्षेप तान्ने होड चलेको छ। असोज १ गतेदेखि लागू हुनेगरि सबैजसो वाणिज्य बैंकहरुले ब्याजदर बढाएका कारणले पनि शेयर बजारमा त्यसको प्रत्यक्ष प्रभाव परेको जानकारहरु बताउछन ।
सरकारले पुर्णता लिन नसकेको लगायतका अन्य थुप्रै आधारहरुलाई विश्लेषण गर्दा अहिलेको अबस्थामा शेयर बजारको लगानीमा उत्साह थपीएको छैन । यसरी आधारभूतरुपमा पुँजीबजार नै सपोर्ट गर्ने कुनै पनि आधारहरु नबन्दा अहिलेको परिस्थितिमा आम मानिसहरु शेयर बजारलाई पर्खने र हेर्ने अवस्थामा रहेकाले अझै केहि समय बजारमा गिरावटको क्रम जारी रहने अनुमान रहेको समेत बताउछन ।
नेप्सेले गर्यो सूचीकृत कम्पनीहरुको वर्गीकरणमा पुनरावलोकन:
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गीकरणमा पुनरावलोकन गरेको छ। नेप्सेले गत साउन २९ गते सूचीकृत कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरेको थियो। यसरी वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन पनि नेप्सेले आग्रह गरेको थियो।सोही आधारमा परेका आवेदनअनुसार नेप्सेले वर्गीकरण पुनरावलोकन गरेको हो।
FACEBOOK COMMENTS