काठमाडौं । सरकारले निजामती कर्मचारीका ट्रेड युनियनलाई तीन दिनभित्र कार्यालय खाली गर्न ‘अल्टिमेटम’ दिएको छ ।
भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै निजामती कर्मचारीका ट्रेड युनियनले सरकारी जग्गामा बनाएका कार्यालय भवन तथा अरू भौतिक संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।
तोकिएको अवधिभित्र आवश्यक कागजात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा नबुझाए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
मन्त्रालयका शाखा अधिकृत विवेक विडारीको हस्ताक्षर रहेको सूचनामा सरकारी सम्पत्तिको संरक्षण र कानुन कार्यान्वयनका निम्ति यो कदम चालिएको उल्लेख छ । सरकारी स्वामित्वको जग्गा भोगचलन गरी बनाइएका भवन, संरचना वा बहालमा दिइएका ठाउँहरू खाली गरी मन्त्रालयमा बुझाउन सूचनामार्फत निर्देशन दिइएको छ ।
सूचनामार्फत आठ ट्रेड युनियनलाई आफ्ना कार्यालय र संरचना खाली गर्न भनिएको छ । नेपाल निजामती कर्मचारी युनियन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ र मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका कार्यालय हटाउन भनिएको हो ।
सरकारले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेशमार्फत टे्रड युनियनसम्बन्धी प्रावधान पनि हटाएको थियो ।