काठमाडौँ । अमेरिका, इजरायल र इरानबीच जारी तनावपूर्ण युद्धको अवस्थामा फारसको खाडीस्थित खार्ग टापुको महत्व अचानक बढेको छ । अमेरिकी प्रशासनले इरानको प्रमुख तेल निर्यात केन्द्र मानिने यस टापुबारे सैन्य विकल्पसमेत अध्ययन गरिरहेको चर्चा भइरहेको छ ।
खार्ग टापु इरानको तेल अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण केन्द्र मानिन्छ । इरानबाट निर्यात हुने करिब ८० देखि ९० प्रतिशत कच्चा तेल यही टापुबाट विश्व बजारमा पठाइन्छ । यहाँ ठूलो तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्यांकी तथा जहाजमा तेल भर्ने सुविधा रहेको छ । दैनिक करिब ७० लाख ब्यारेलसम्म तेल ट्यांकर जहाजमा भर्ने क्षमता रहेको बताइन्छ ।
सन् १९६० को दशकमा विदेशी लगानीपछि यस स्थानलाई ठूलो तेल निर्यात केन्द्रका रूपमा विकास गरिएको थियो । त्यसयता खार्ग टापु इरानको तेल आपूर्तिको मुख्य आधार बनेको छ। विश्लेषकहरूका अनुसार यदि यो केन्द्र प्रभावित भयो भने इरानको अर्थतन्त्रमा ठूलो असर पर्न सक्छ ।
विश्लेषकहरुले अमेरिकी प्रशासनले युद्धपछि पनि इरानको सम्पूर्ण अर्थतन्त्र ध्वस्त पार्ने उद्देश्य नराखेको बताइरहेका छन् । अमेरिकाले विगतदेखि केही महत्वपूर्ण ऊर्जा संरचनालाई प्रत्यक्ष निशाना नबनाउने नीति अपनाउँदै आएको छ । यदि यस्ता महत्वपूर्ण संरचनामा आक्रमण भयो भने इरानले व्यापक प्रतिकार गर्न सक्ने र क्षेत्रीय द्वन्द्व झन् फैलिन सक्ने विश्लेषण गरिएको छ ।
युद्धको वातावरणका बीच पनि खार्ग टापुबाट तेल निर्यात भने जारी रहेको बताइएको छ । अन्तर्राष्ट्रिय निगरानी संस्था तथा स्याटेलाइट तथ्यांकअनुसार युद्ध सुरु भएयता पनि इरानले निरन्तर रूपमा ट्यांकर जहाजमार्फत तेल पठाइरहेको छ । केही रिपोर्टका अनुसार फेब्रुअरी अन्त्यदेखि अहिलेसम्म करिब एक करोड बीस लाख ब्यारेलभन्दा बढी तेल बाहिर पठाइएको अनुमान छ ।

इरानले कतिपय अवस्थामा ‘डार्क फ्लीट’ भनिने ट्यांकर जहाज प्रयोग गर्ने गरेको पनि उल्लेख गरिएको छ । यी जहाजहरूले आफ्नो लोकेशन देखाउने ट्र्याकिङ प्रणाली बन्द गरेर यात्रा गर्ने भएकाले तिनलाई निगरानी गर्न कठिन हुन्छ । खार्ग टापु इरानको तटबाट करिब २५ देखि ३० किलोमिटर टाढा फारसको खाडीमा अवस्थित छ ।

यो टापु विश्वकै महत्वपूर्ण समुद्री तेल मार्ग मानिने होर्मुज जलडमरूमध्यको निकै नजिक पर्छ । विश्वभर खपत हुने करिब २० प्रतिशत तेल यही समुद्री मार्गबाट ओसारपसार हुने अनुमान छ । यदि यस क्षेत्रमा आक्रमण भयो वा जहाज आवागमन अवरुद्ध भयो भने विश्व बजारमा तेल आपूर्ति प्रभावित हुन सक्ने र मूल्य तीव्र रूपमा बढ्न सक्ने जोखिम रहेको विश्लेषण गरिएको छ ।

विश्लेषकहरूले खार्ग टापुको तेल टर्मिनल ध्वस्त पारियो वा नियन्त्रणमा लिइयो भने इरानको सबैभन्दा ठूलो आय स्रोत रोकिन सक्छ । तेल बिक्रीबाट प्राप्त हुने रकम इरान सरकार र उसको सैन्य संरचनाको मुख्य आर्थिक आधार मानिन्छ । यस्तो आय घटेमा इरानका लागि दीर्घकालीन युद्ध सञ्चालन गर्न कठिन हुन सक्ने अनुमान गरिएको छ ।

यद्यपि यस्तो आक्रमणले विश्व बजारमा पनि ठूलो प्रभाव पार्न सक्छ । ऊर्जा क्षेत्रका विशेषज्ञहरूका अनुसार यदि खार्ग टापुबाट तेल आपूर्ति रोकियो भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिव्यारेल करिब १० डलरसम्म बढ्न सक्ने सम्भावना हुन्छ ।

हाल इरानले दैनिक करिब ३३ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने क्षमता राख्छ । साथै करिब १३ लाख ब्यारेल कन्डेन्सेट र अन्य तरल इन्धन पनि उत्पादन हुन्छ । यसरी विश्व ऊर्जा आपूर्तिमा इरानको हिस्सा करिब ४.५ प्रतिशत रहेको अनुमान छ ।
इरानका प्रमुख तेल क्षेत्रहरू अहवाज, मरून र गचसरानबाट पाइपलाइनमार्फत तेल सिधै खार्ग टापुसम्म ल्याइन्छ । यहाँ ठूलो भण्डारण ट्यांकीमा तेल राखेर ट्यांकर जहाजमार्फत विभिन्न देशमा पठाइन्छ । टापुमा करिब तीन करोड ब्यारेल तेल भण्डारण गर्न सक्ने क्षमता रहेको छ । हाल करिब एक करोड ८० लाख ब्यारेल तेल भण्डारणमा रहेको अनुमान गरिएको छ, जुन सामान्य अवस्थामा १० देखि १२ दिनको निर्यात बराबर मानिन्छ ।
युद्ध सुरु हुनुअघि इरानले खार्ग टापुबाट तेल निर्यात उल्लेखनीय रूपमा बढाएको पनि रिपोर्टहरूमा उल्लेख गरिएको छ । फेब्रुअरी १५ देखि २० बीच दैनिक तेल निर्यात ३० लाख ब्यारेलभन्दा बढी पुगेको थियो, जुन सामान्य अवस्थाभन्दा झन्डै तीन गुणा बढी हो । विश्लेषकहरूका अनुसार सम्भावित युद्धको जोखिमलाई ध्यानमा राख्दै इरानले पहिले नै धेरै तेल निर्यात गर्ने प्रयास गरेको हुन सक्छ ।
खार्ग टापु विगतमा पनि रणनीतिक बहसको केन्द्रमा रहँदै आएको छ । सन् १९७९ को इरान बन्धक संकटका बेला अमेरिकी राष्ट्रपति जिमी कार्टरलाई यो टापु नियन्त्रणमा लिने सुझाव दिइएको थियो, तर उनले त्यस्तो कदम चालेनन् । १९८० को दशकमा इरान-इराक युद्धका क्रममा इराकी आक्रमणबाट यस टापुको तेल संरचनामा ठूलो क्षति पुगेको थियो। पछि इरानले त्यसलाई पुनः निर्माण गरेको थियो ।
इरानका लागि खार्ग टापु रणनीतिक महत्वको रहेको र यसमा ट्रम्प प्रशासनको नजर परेको विश्लेषण शुरु गरिएको छ । यस टापुमा आक्रमण गर्ने भन्दा पनि इरानलाई आफ्नो नियन्त्रणमा लिएर यसको तेल संरचना कब्जामा लिने रणनीतिमा त अमेरिका छैन भन्ने आशंका शुरु भएको छ ।
यसैले हालसम्म अमेरिका र उसका सहयोगी देशहरूले इरानका सैन्य तथा परमाणु क्षमतामा दबाब बढाउने रणनीति अपनाएका छन् । तर अप्रत्यक्ष रुपमा अमेरिका र इजरायलको लक्ष्य खार्ग टापु नै भएको जानकारहरुको दाबि छ । साथै आगामी दिनमा यो सानो टापुले क्षेत्रीय द्वन्द्वको दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषण गरिएको छ ।
FACEBOOK COMMENTS