काठमाडौं । ट्युनिसियाको ६९औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । नेपालको राजधानी काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय प्राङ्गणमा एक विशेष कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाइएको हो ।
नेपालका लागि ट्युनिसियाकी अवैतनिक वाणिज्यदूत भवानी राणाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल ट्युनिसिया चेम्बर अफ कमर्सका अध्यक्ष ईश्वर जीसीलगायत नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको सहभागिता थियो । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, सिटिजन्स बैंक इन्टरनेशनलका अध्यक्ष प्रवलजंग पाण्डेलगायत नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीहरू, पत्रकार र वाणिज्यदूतको कार्यालयका कर्मचारीहरूको उपस्थिति पनि कार्यक्रममा थियो ।
कार्यक्रममा वाणिज्यदूत राणाले ट्युनिसियाको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । द्विपक्षीय पर्यटन प्रवर्द्धन र आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारमा आफूले पहल गर्दै आएको जानकारी दिँदै उनले ट्युनिसिया युरोपेली मुलुकसँग जोडिएको भएर नेपाललाई युरोपतर्फ समेत व्यापार विस्तार गर्न सहज हुने धारणा व्यक्त गरिन् ।
यसैगरी, नेपाल–ट्युनिसिया चेम्बर अफ कमर्सका अध्यक्ष ईश्वर जीसीलगायत वक्ताहरूले वाणिज्यदूत राणाको पहलकदमीबाट दुई देशबीच व्यापारिक कारोबार वृद्धि गर्न सहज भएको धारणा व्यक्त गरे । वक्ताहरूका अनुसार नेपालबाट गलैँचा र हस्तकलाका सामान ट्युनिसिया निकासी हुने गरेको छ भने ओलिभ आयल र हेलिकोप्टरका मेसिनरी पार्ट्सहरू ट्युनिसियाबाट आयात हुने गरेको छ ।
कार्यक्रममा ट्युनिसियाको उद्योग वाणिज्य तथा पर्यटन क्षेत्र, आयात–निर्यातको अवस्था तथा नेपालसँगको सम्बन्धलगायत विषयमा तयार पारिएको श्रव्यदृश्य सामाग्री पनि प्रस्तुत गरिएको हो । वाणिज्यदूत राणा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वध्यक्ष हुन् । ट्युनिसियाले उनलाई २०७९ सालमा वाणिज्यदूत नियुक्त गरेको थियो ।
सन् १९५६ को मार्च २० मा फ्रान्सेली औपनिवेशिक शासनबाट मुक्त भएको सम्झनामा ट्युनिसियाले हरेक वर्षको मार्च २० लाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ । औपनिवेशिक शासनबाट मुक्त गराउन ट्युनिसियाली जनताले वर्षौँको सङ्घर्ष र बलिदानी समेत गर्नुपरेको थियो । स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्रता सङ्घर्षमा योगदान दिने राष्ट्रसेवकहरूलाई सम्मान गरिएको छ ।
सो अवसरमा ट्युनिसियामा देशभर राष्ट्रिय झण्डा फहराइनुका साथै आतिशबाजी देखाइएको थियो भने परेड आयोजना गरिएको थियो ।
FACEBOOK COMMENTS