काठमाडौं । ट्युनिसियाले सन् १९५६ मार्च २० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको ऐतिहासिक दिनको अवसरमा आज ७०औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ ।
नेपालको राजधानी काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय प्राङ्गणमा एक विशेष कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाइएको हो । उक्त कार्यक्रममा नेपालस्थित कूटनीतिक तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा ट्युनिसियाका लागि नेपालका वाणिज्य दूत भवानी राणाले शुभकामना व्यक्त गर्दै नेपाल–ट्युनिसिया सम्बन्ध पछिल्लो समय अझ प्रगाढ बन्दै गएको बताइन् । उनले विशेषगरी पर्यटन, व्यापार तथा लगानीलगायत क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा आपसी सहयोग अझ व्यापक हुने विश्वास व्यक्त गरेकी छिन् ।
कार्यक्रममा सहभागीहरूले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउँदै आर्थिक तथा सांस्कृतिक सहकार्यलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
सन् १९५६ को मार्च २० मा फ्रान्सेली औपनिवेशिक शासनबाट मुक्त भएको सम्झनामा ट्युनिसियाले हरेक वर्षको मार्च २० लाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ । औपनिवेशिक शासनबाट मुक्त गराउन ट्युनिसियाली जनताले वर्षौँको सङ्घर्ष र बलिदानी समेत गर्नुपरेको थियो ।


FACEBOOK COMMENTS