चितवन । देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।
महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले जनाएको छ । एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनमा देशभरबाट ६ लाख नेता कार्यकर्ता आएको दाबी गरिन् । उनले महाधिवेशनमा सहभागीको संख्या अत्यधिक भएर आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको जानकारी दिइन् ।
देशभरका ७७ जिल्ला, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वटै वडाबाट आएका लाखौं जनता, स्वेदशी तथा विदेशी पाहुनाबीच एमाले अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । महाधिवेशन उद्घाटन हुनुपूर्व नवलपुर र चितवनका विभिन्न स्थानबाट जनप्रदर्शन गरिएको थियो ।
उद्घाटन अगाडि आयोजित (यालीमा एमाले र अध्यक्ष ओलीको पक्षमा नारासमेत लगाइएको थियो । उद्घाटनका क्रममा राष्ट्रिय जनसांस्कृतिक मञ्चका कलाकारले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा एमालेको सरकारका पालामा भएका महत्वपूर्ण उपलब्धि समेटेर तयार गरिएको डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नारायणगढ बजारमा सवारी चलेका थिएनन् । बजार क्षेत्रमा कार्यक्रममा सहभागीहरूको भिड देखिएको थियो । पूर्वी क्षेत्रबाट आउने सवारीसाधन पास नभएका कारण झन्डै ३ किलोमिटरसम्म सहभागीले पैदल यात्रा गरेका थिए । जिल्लाका ७ स्थानबाट बाजागाजासहितको जुलुस निकालिएको थियो ।
एमाले महाधिवेशनमा आएका नेता, कार्यकर्ता, शुभेच्छुक, प्रतिनिधि तथा पर्यवेक्षकहरूले नारायणी नदी किनार भरिभराउ भएको थियो । महाधिवेशनको उद्घाटन सत्र प्रत्यक्ष रूपमा हेर्नका लागि नवलपुर र चितवनतर्फ नारायणी नदीकिनारमा ठूला ठूला एलईडी डिस्प्लेसमेत राखिएको थियो ।
चितवनको इतिहासमा यति धेरै मानिस जम्मा भएको यो पहिलोपटक भएको जिल्ला अध्यक्ष रावलको भनाइ छ । महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा नअटाएपछि कार्यकर्ताहरू नारायणगढ बजारमा छरिएका थिए ।
५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ राखिएको थियो । सुरक्षाका लागि प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गरेको थियो । नारायणगढ बजार क्षेत्रमा मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइए पनि आत्यावश्यक सवारीसाधन चल्न पाएका थिए ।
महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका ८ सय, सशस्त्र प्रहरीको ४ सय ५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन भएका थिए । त्यस्तै, चितवनसँग सिमाना जोडिएको नवलपुरको गैंडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । महाधिवेशन स्थलमा आवतजावत सहज बनाउन आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको थियो ।
आज शनिबारबाट बन्दसत्र सुरु हुने भएको छ । महाधिवेशनमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुने भएका छन् । बन्दसत्रमा निर्वाचित र मनोनीत गरी २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
यसअघि २७ कात्तिकमा देशभरिबाट १ हजार १ सय ९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । यही ७ मंसिरमा बसेको स्थायी कमिटी बैठकले कुल निर्वाचित प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । यसैगरी, महाधिवेशनमा १ सय ३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।
चितवनको सौराहामा चुनावको प्रक्रियाका लागि कार्यालय स्थापना गरिएको छ । महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाही हुने उनले स्पष्ट पारे । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ ।
चुनावमा १ सयवटा विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । ९२ वटा मेसिन चुनावका लागि प्रयोग गरिने र तीनवटा मेसिन नमुना मतदानका लागि कार्यालय अगाडि खुला राखिनेछ । पाँचवटा मेसिन जगेडामा राखिने र कुनै मेसिनमा गडबडी आएमा प्रयोगमा ल्याइने आयोगले जनाएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS