चितवन । नेकपा एमालेको दसौं महाधिवेशन उद्घाटन समापन भएपछि सहमतिमा नेतृत्व चयनका लागि अन्तिम कसरत सुरु भएको छ। शुक्रबार राति अबेरसम्म सहमतिको प्रयास भए पनि जुटिसकेको छैन।
पदाधिकारीमा आकांक्षी धेरै भएपछि सहमति बन्न नसकेको नेताहरूले बताएका छन्। अध्यक्षमा दाबी गरिरहेका भीम रावलले नछाड्ने अडान लिएपछि शनिबार बिहान पनि छलफल गर्ने तयारी छ। ‘राति निकैबेर छलफल भयो। केही प्राविधिक विषय बाँकी नै छन्। अध्यक्षकै उम्मेदवार हुँ। यसमा शंका छैन’, रावलले भने। हाल उपमहासचिव रहेका घनश्याम भुसालले उद्घाटन सत्र सकिएपछि शुक्रबार साँझ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
उद्घाटन सत्रअगाडि ओलीले धेरैजसो नेतालाई राखेर सहमतिको प्रयास गरेका थिए। साँझ पनि एकचरण छलफल भएको थियो तर नेताहरूले आफ्नो अडान कायमै राखेका कारण सहमति बन्न सकेको छैन।
अध्यक्षमा सहमति जुटे पनि वरिष्ठ उपाध्यक्षदेखि अन्य पदाधिकारीमा पनि उत्तिकै समस्या रहेको छ। ‘पहिलो कुरा त ओलीलाई नै चुनौती देखियो। ओलीले अध्यक्षमा चुनाव जित्ने एक सय प्रतिशत सत्य हुँदा पनि रावलले छाड्न नसक्दा अन्य पदाधिकारीलाई पनि मनोनयन दर्ता गर्ने बाटो खुल्नेछ’, राति अबेरसम्म छलफलमा सहभागी एक नेताले भने।
उनका अनुसार रावलले आफ्नो उचित व्यवस्थापन भए अध्यक्षमा छोड्ने संकेत देखाएका छन् तर त्यसबारे केही सोचिएको छैन। ‘रावललाई उम्मेदवारी दर्ता नगर्न ठूलै दबाब छ तर उनको कहाँ कसरी व्यवस्थापन हुन्छ भन्नेबारेमा केही सोचिएको छैन, त्यसकारण उनले छाड्न मानेका छैनन्’,ती नेताको दाबी छ।
उपाध्यक्ष र महासचिवमा पनि उत्तिकै समस्या रहेको छ। उपाध्यक्षमा सोचेभन्दा फरक ढंगले घटनाक्रम विकास भइरहेको नेताहरूले बताएका छन्। त्यस्तै महासचिवमा विष्णु पौडेल,शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको सशक्त दाबी रहेको छ। बिहीबारदेखि नै अध्यक्ष ओलीले चितवनमा बसेर नेताहरूसँग परामर्श थालेका थिए।
उनले वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका ईश्वर पोखरेल र सुवास नेम्वाङसँग पनि छलफल गरेका छन्। तर दुवै नेताले वरिष्ठ उपाध्यक्ष छाड्न सकेका छैनन्। ओलीको सूचीमा नेम्वाङको नाम कतै नदेखिएपछि उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेको स्रोतले जनाएको छ। ‘उहाँलाई व्यवस्थापन गर्ने विषयमा कहीं कतै नाम छैन। त्यसकारण पनि उहाँले वरिष्ठ उपाध्यक्षमा दाबी छाड्नुभएको छैन’, स्रोतले भन्यो। विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएपछि सोही विषयमा ओली खेमामै रस्साकस्सी चलेको हो।
ओलीले महासचिवको दाबी गरिरहेका उपमहासचिव विष्णु पौडेल,सचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग पनि छलफल गरेका थिए।
उनीहरूबाट पनि शुक्रबार राति अबेरसम्म सहमतिका लागि कुनै प्रगति भएको छैन। ‘महासचिवमा विष्णु पौडेललाई छाड्न ओलीको दबाब देखिन्छ तर शंकर पोखरेललाई पनि छोडिहाल्नुस् भनेर भन्न सकेका छैनन्,’स्रोतले भन्यो।
सचिव गोकर्ण बिष्टले सर्वसम्मत नेतृत्व चयन गर्दा नै सन्देश राम्रो जाने भएकाले त्यसका लागि पहल हुनु स्वाभाविक भएको बताए। नेताकार्यकर्ता र जनताले एमालेको नेतृत्व सर्वसम्मत होस् भन्ने चाहेका छन्। त्यसकारण सर्वसम्मतिको प्रयास हुनु स्वाभाविक हो’,बिष्टले भने।
एमालेका वडा र गाउँपालिकाको नेतृत्व सर्वसम्मत चयन भएको थियो। महाधिवेशन प्रतिनिधि पनि करिबकरिब सर्वसम्मत चयन भएका थिए। महाधिवेशनको हलमा आइपुग्नुअघिसम्म पार्टीभित्र कम्तीमा पदाधिकारी सर्वसम्मत चयन हुने चर्चा गरिएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS