काठमाडौं । नेकपा एमालेका नेता पार्वत गुरुङले अहिले जनताबाट अस्वीकृत भएपनि हिजो लोकप्रियतालाई कायम गर्दै अघि बढ्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन्। दोलखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो अवसरलाई फेरि जनताको विश्वास प्राप्त गर्नतिर लाग्नुपर्ने बताए।
उनले भने, ‘नेपाली जनताबाट हामी केही अस्वीकृत भयौँ। जनमतबाट हामी जुन समर्थन प्राप्त थियो, त्यो प्राप्त गर्न सकेनौँ। त्यो गर्न नसकेको कुरोलाई हामीले सहर्ष सम्मान गर्नुपर्छ। यो जनादेशको स्वीकार गर्दै हामीले भावी दिनमा फेरि पनि जनविश्वास प्राप्त गर्न र हिजो त्यो लोकप्रियतालाई कायम गर्न हामीलाई फेरि अवसर हो।’
अहिले कसैलाई आरोप–प्रत्यारोप गरेर, कसैलाई दोष थोपरेर एमाले चोखो हुने, उम्मेदवार चोखो हुने, अरूलाई बेइमान बनाउन नहुने बताए।
उनले थपे, ‘हामीले हाम्रो एजेन्डाहरु, हाम्रा हिजोको समृद्धिका एजेन्डा, विकासका एजेन्डाहरु, हाम्रा जनताको सेवाका एजेन्डाहरु हाम्रा ती एजेन्डाहरु भन्दा अहिले फरक एजेन्डामा छन्। हामीले परम्परागत चुनाव लड्यौँ। हामीले त्यो कुरोको महसुस पनि गर्यौँ। अहिले जनताको बिचको यो लोकप्रियतावादलाई यति छिट्टै विश्वास गर्छन्, यति धेरै यो बिचबाट उहाँहरू त लोकप्रियतावादको एउटा भ्रमबाट यो डिजिटल प्लेटफर्मको एउटा जुन प्लेटफर्म हो यसलाई हामीले कम आँक्यौँ।’उनले पराजयलाई स्वीकार गरेर अब अगाडि बढ्नुपर्ने बताए।
उनले भने, ‘देश फेरि पनि भूराजनीतिको एउटा केन्द्र बनेर यो देशलाई फेरि पनि एउटा कमजोर बनाउने, राष्ट्रियता कमजोर बनाउने, कुनै पनि एउटा विदेशी सेनाको अखडा बनेर देशलाई एउटा कमजोर बनाउने खतरा पनि छ। त्यो खतराप्रति पनि सचेत हुनुपर्छ। हामीले गलत कुरोलाई प्रश्न गर्ने शक्ति निर्माण गर्नुपर्छ।

अहिलेको सस्तो लोकप्रियता, लोकप्रियतावादको दलले गरी नखाने उनको भनाइ छ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको अब बन्ने सरकार दुई तिहाइ नजिकको सरकार छ, शुभकामना दिन चाहन्छु। राम्रो गरेछन् भने हामी राजनीतिक दलहरू, पुराना राजनीतिक दलहरूले स्वीकार्नुपर्छ, सम्मान पनि गर्नुपर्छ। तर मलाई एउटा जहाँसम्म लाग्छ, राम्रो गर्दैनन्। राम्रो गर्ने संकेत छैन। दल विहीनताको, दललाई निषेध गर्ने, दललाई निषेध गरेर एउटा एन्टी दलको एउटा मुभमेन्ट सुरु छ, त्यो कुरोप्रति हामी सचेत हुनुपर्छ।’

उनले अहिलेको राष्ट्रिय सुनामीलाई एमालेबाट चिन्न ढिलाइ भएको बताए।

FACEBOOK COMMENTS