काठमाडौं । बीमा र बैंकिङ क्षेत्रमा लामाे अनुभव सँगालेका कमल गाैतम युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति नेपाल बीमा प्राधिकरणबाट भने स्वीकृत हुन बाँकी रहेको बताइएको छ ।
गत कात्तिक ८ गते कम्पनीका सीईओ श्रवणकुमार रावलको हृदयघातका कारण निधन भएपछि रिक्त भएको पदमा गौतमलाई नियुक्त गरिएको हो ।
करिब डेढ महिनापछि कम्पनीले सीईओ पाएको हो । हाल डोरिन्द्रराज दाहालले निमित्त सीईओका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।
नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेशनल बैंकिङ करिअर सुरू गरेका गौतमसँग हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, सनराइज बैंकमा काम गरेको अनुभव छ । उनले इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रहेर पनि काम गरेका छन् ।
इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसीसी बैंकमा गाभिएपश्चात नायब महाप्रबन्धकबाट गौतमले अवकाश लिएका थिए ।
करिब ३ दशकको बैंकिङ अनुभव सँगालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् । यसअघि उनले एभरेष्ट इन्स्योरेन्समा पनि सीईओका रूपमा काम गरेका थिए ।
उनी हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एकआपसमा गाभिएपछि बनेको हिमालयन एभरेष्टको डेपुटी सीईओ पनि भएका थिए । गत फागुन २ गते उनले पदबाट राजीनामा दिएका थिए ।
FACEBOOK COMMENTS