काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता भएको छ ।
बुधबार दुई पार्टीबीच फागुन २१ को निर्वाचन सहकार्य तथा पार्टी एकताको प्रक्रिया अघि बढाउन चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।
सहमति पत्रमा राष्ट्रिय परिवर्तन पार्टीका उपाध्यक्ष दिनेशचन्द्र खनाल र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचन परिचालन तथा वार्ता संवाद समितिका संयोजक जनार्दन शर्माले हस्ताक्षर गरेका छन् ।
सहमतिको विवरण:
देशको गम्भीर अर्थ राजनीतिक संकट भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिमा देखिएको व्यापक भ्रष्टीकरण विरुद्धमा भएको पछिल्लो जेनजी आन्दोलनले उठाएको चुनौतीपूर्ण ऐतिहासिक कार्याभार पुरा गर्ने लक्ष्यका साथ प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र राष्ट्रिय परिवर्तन पार्टीबीच निम्न सहमति भएको छ ।
१– विभिन्न कालखण्डमा भएको न्यायपूर्ण संघर्ष र पछिल्लो समयमा भएको जेनजी आन्दोलन सम्मका महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै घाइते तथा बेपत्ता योद्धाहरुलाई उच्च सम्मान गर्दै उहाँहरुको सपनालाई साकार पार्ने प्रतिबद्धता गर्दछौं ।

२– आसन्न फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा दुई पार्टीबीच सहकार्य गर्ने सहमति भयो साथै आजकै दिनबाट पार्टी एकताको लागि छलफल अगाडी बढाउने सहमति भयो ।

३– देश तथा विदेशमा बस्ने परिवर्तनशील, देशभक्त शक्तिहरु र विशेषगरी जेनजी पुस्तालाई हाम्रो अभियानमा सहभागि हुन आह्वान गर्दछौं ।

४– भ्रष्ट, अनैतिक र अहंकारी प्रवृतिहरुलाई निर्वाचन र विभिन्न मोर्चाबाटै परास्त गर्न नयाँ तथा उन्नत वैकल्पिक शक्तिहरु र नवयुवाहरुलाई हातेमालो गर्न अपिल गर्दछौँ ।

FACEBOOK COMMENTS