काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट महत्वकांक्षी नभएको दाबी गरेका छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
आइतबार पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीले भने, ‘बजारमा २५ खर्बको बजेट आउँछ रे भन्ने व्यापक हल्ला थियो ।
तर, अन्तिममा बजेट आयो २१ खर्बको हाराहारीमा । धरैले बजेट ठूलो आयो, महत्वकांक्षी आयो भनियो पनि । आकारमा बजेट त्यस्तो महत्वकांक्षी होइन ।’
जिडीपीको सापेक्षतामा सानो आकारको बजेट ल्याएको उनको जिकिर छ । बजेटले ऋण थप्यो भन्ने विषयमा स्पष्ट पार्दै अर्थमन्त्रीले भने, ‘भूकम्प र कोरोना महामारीको समयमा हाम्रो ऋण बेस्सरी बढेकै हो । त्यसबेला भन्दा अहिले कममै छौँ । यसपालि हामीले ४१० अर्ब आन्तरिक ऋण २४७ अर्ब बाह्य ऋण लिएका छौँ । यो लिएको ऋण पहिले थोपरिएको ऋणमै जाने रहेछ ।’

अर्को वर्षदेखि ऋण नेटमा हिसाब गर्नेबारे गभर्नरसँग पनि छलफल गरिरहेको उनले जानकारी दिए । अर्को वर्ष तयारीका साथ नयाँ विधि अपनाइने उनले बताए ।

अर्थमन्त्रीका अनुसार यो साल वैदेशिक ऋण ७२ अर्ब तिरिने भएको छ । ऋण ६५७ अर्ब लिएको र तिरेको रकम ३१८ अर्ब रहेको छ ।

त्यस्तै, उनले तलब वृद्धि २१ प्रतिशत नै भएको उनले दाबी गरे । अर्थमन्त्रीले भने, ‘तलब वृद्धि २१ प्रतिशत नै हो है, डाउट नहोस् । झुक्क्यायो, ढाँट्यो भन्ने कुराहरू आइरहेको छ । त्यस्तो होइन । १० प्रतिशत बेसमै भएको हो, बढेको बेसमा अर्को १० प्रतिशत भएको हो तर पर्फमेन्स रिलेटेड मेजर शुरु गर्नका लागि । अहिले सबैले पाउँछन् । रिफर्मपछि त्यो एडजस्टेबल हुनसक्छ । त्यसपछि दिइने प्रोत्साहन भत्ता प्रोत्साहनकै लागि हुनेछ ।’