काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक सेवा विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उनले हुलाकको नीति परिवर्तन आवश्यक रहेको बताए ।
मुलुक रूपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा उनले राखे । उनले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकूल बनाउनमा गम्भीरताका साथ लागेको जानकारी दिए ।
हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण भएकाले यसलाई आधुनिकीकरण गरी प्रविधि मैत्री बनाउन जरुरी रहेको उनको भनाइ छ । ‘अब हुलाकको नीति परिवर्तन हुन्छ,’ मन्त्री गुरूङले भने, ‘हुलाकलाई प्रविधिमैत्री बनाउने विषयमा मन्त्रालय सधैँ संवेदनशील छ ।’
सो कार्यक्रममा स्थानीय तहका हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । मन्त्री गुरूङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरूलाई आग्रहसमेत गरे ।
‘हुलाक सेवाको प्रभावकारिता केन्द्रमा रहेको गोश्वारा हुलाक कार्यालयबाट सुरू गर्नुहोस्, अरू स्थानीय तहका हुलाक कर्मचारीले आ-आफ्नो क्षेत्रमा सेवा प्रभावकारी बनाउनुहोस्,’ उनले भने ।
सो कार्यक्रममा हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था र स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती तथा कार्ययोजना मन्त्रीसमक्ष जानकारी गराएका थिए ।
FACEBOOK COMMENTS