यो तेस्रो लहर हैन, दोस्रो लहर नै हो ।
दैनिक ३०–३५ जनाको मृत्यु हुँदा राज्यले सामान्य ठान्नु, मृत्युदर घटाउन आवश्यक व्यवस्था नगर्नु तथा संवेदनशील नहुनु बिडम्बना हो ।
अधिकांश अस्पतालका आईसीयु, अक्सिजन बेड भरिएका छन् । जनरल बेड भरिएका छैनन् । यसको अर्थ हुन्छ, सिकिस्त भएपछि मात्र पीसीआर गर्नेको संख्या बढी छ । लक्षण देखिएमा तुरुन्त जाँच गरेर उपचार गर्ने हो भने आईसीयुमा पुग्नु पर्दैन ।
परीक्षण सधैं १५–१६ हजार जनामा मात्रै गर्नुको कारण दोस्रो लहर लम्बिएको छ । दिनमा ५०–६० हजारको परीक्षण गर्ने तथा संक्रमितलाई होम आइसोलेशन वा अस्पतालमा राख्ने हो भने दोस्रो लहरको आयु छोटो हुन्छ ।
पहिले एग्रिमेन्ट गरेकाबाहेक अन्य खोप कहिले आउँछ ? कुन देशबाट आउँछ ? त्यो निधो भएको छैन । सरकारले पत्र पठाउँदैमा वा दूताबासमा कुरा गर्दैमा खोप आउँदैन । खोपको विश्वव्यापी माग ठूलो छ तर उत्पादन सीमित छ । तसर्थ सरकारले अग्रिम भुक्तानी गरेर भारत, चीन, रुस, अमेरिका, बेलायत आदि देशबाट तथा कुटनीतिक लबिङमार्फत कोभ्याक्सबाट खोप ल्याउने ठोस पहल गर्नु आवश्यक छ ।
जनताले लकडाउनको पहाड बोक्न सक्ने अवस्था छैन । लकडाउन नगर्ने उपाय भनेको जनस्वास्थ्यका मापदण्ड पालना गराउने/गर्ने नै हो । प्रहरी तथा प्रशाशनले सहरमा काम गरेजस्तो गर्ने तर मान्छेको भीडभाड हुने भित्री बस्तीमा वेवास्ता गर्दा संक्रमण घट्न सकेको छैन । संसारमा जनस्वास्थ्यका मापदण्ड पालना नगराउने देश नेपालमात्र हो ।
भिजन भएका विज्ञको योजना अनुसार सरकार चल्नुपर्नेमा एकपछि अर्को सरकारी समिति बनाउनुको अर्थ छैन । सीसीएमसीको काम प्रभावकारी छैन । भर्खर स्वास्थ्य राज्यमन्त्रीको संयोजकत्वमा कर्मचारी सम्मिलित अर्को समिति बनाउनुको अर्थ छैन । कर्मचारीले आफ्नो काम गरिरहेका छन् । सल्लाहकार समितिमा सरकार बाहिरका स्वतन्त्र विज्ञको समिति बनाउनु पर्ने थियो ।
तेस्रो लहर आयो भने ठूलो क्षति हुँदैन । तथापि एकजनाको मृत्यु हुनु पनि त्यो परिवारको लागि १००% क्षति हो ।
खोपको भण्डारण, परिवहन तथा मापदण्डमा गुणस्तर कायम गर्न नसकेमा खोपले काम गर्दैन । पूरै डोज खोप लगाएका व्यक्तिहरू किन अस्पताल भर्ना भएका छन् ? कति महिनामा एन्टिबोडी कस्तो भएको छ ? बुस्टर डोज आवश्यक छ कि छैन ? यसको अध्ययन हुनु जरुरी छ ।
नाकमुनी र चिउँडोमा खोप लगाउने तथा खोपको लाइनमा बस्नेबाट संक्रमण फैलिएको छ । सहि तरिकाले मास्क लगाउन सिकाउने, खोप केन्द्र बढाउने तथा खोप केन्द्रमा पूर्णतया जनस्वास्थ्यका मापदण्ड पालना गराउन ढिलो भइरहेको छ ।
अहिले भाइरल ज्वरो बढिरहेको छ । कोभिड र भाइरल ज्वरोको लक्षण मिल्दोजुल्दो हुन्छ । तसर्थ यो बारे आम नागरिकलाई सूचित गर्नु राज्यको दायित्व हो ।
कोरोनाको नयाँ प्रजातिबारे निरन्तर अध्ययन/अनुसन्धान गर्ने तथा एन्टिबोडी छल्ने प्रजाति आए÷नआएको पत्ता लगाउने काम नियमित गर्नुपर्दछ ।
दोस्रो लहरमा संक्रमण भएर प्राप्त एन्टिबोडी, खोप, भारत तथा विदेशबाट आउने व्यक्तिले खोप लगाएको तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेको संख्या बढेको र दोस्रो लहरमा स्वास्थ्य संस्थामा अक्सिजन बेड बढेको कारण तेस्रो लहरले धेरै क्षति गर्दैन । तसर्थ आँत्तिनु पर्दैन ।
कोरियामा चौथो लहर तथा इरानमा पाँचौं लहर फैलिएको छ । तसर्थ तेस्रो लहर आउन नदिनका लागि यसपटक हामी आम नागरिकले घरेलु वातावरणमा सुरक्षित तरिकाले चाडपर्व मनाउनु जरुरी छ ।
बालबालिकाको खोप फागुन वा चैतमा ल्याउने सरकारको सेडुअल परिवर्तन गर्नु जरुरी छ । जति सक्दो छिटो खोप ल्याएर शैक्षिक संस्था सुरक्षित रूपमा सञ्चालन गर्नुपर्दछ । कोभ्याक्ससँग यसका लागि समन्वय गर्नु पर्दछ ।
परिणाममुखी काम गर्नका लागि भिजन र समर्पण चाहिन्छ । राइट म्यान : राइट प्लेस नहुनु नै हाम्रो बिडम्बना हो ।
FACEBOOK COMMENTS