काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच भएको जर्सी प्रायोजन सम्झौताअन्तर्गत एक्सट्रिम इनर्जीको लोगोअंकित जर्सी सार्वजनिक गरिएको हो।
क्यान र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच दुई वर्षे जर्सी प्रायोजन सम्झौता माघ २ गते शुक्रबार सम्पन्न भएको थियो। सोही सम्झौताअनुसार तयार पारिएको नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
बुधबार आयोजित जर्सी अनावरण कार्यक्रममा क्यानका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको विकासमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। जर्सी प्रायोजनले खेलाडीलाई प्रोत्साहन, आत्मविश्वास तथा व्यावसायिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।