नेपालका धेरै मानिसहरूलाई फेल्ट र फेल्टिङबारे त्यति राम्रो जानकारी छैन । जानकारी राख्नेहरूले पनि यसबारे खासै चासो र चिन्ता गरेको पाइँदैन । फेल्टबाट उत्पादित सामानहरूमा नेपालीहरूको पहुँच नभएर पनि यसबारे कम जानकारी राखेको हुनसक्छ । यद्यपि, फेल्टजन्य वस्तुको निर्यातबाट नेपाल र नेपाली व्यवसायीले विदेशी मुद्रा भित्र्याइरहेका छन् ।
नेपालीको पहुँच कम भए पनि विदेशी मुद्रा आर्जनमा सशक्त भूमिका निर्वाह गरिरहेको फेल्ट आखिर के हो ? यसबाट के–कस्ता सामग्री उत्पादन तथा निर्यात गरिँदै आएको छ ? फेल्ट उद्योगका समस्या, चुनौती र अवसर के–के हुन् लगायत विषयमा केन्द्रित रहेर हामीले नेपाल ऊनी फेल्ट उत्पादन तथा निर्यातक संघका अध्यक्ष नरेशलाल श्रेष्ठसँग अन्तरङ्ग कुराकानी गरेका छौं ।
प्रस्तुत छ, बागमती आर्टस एण्ड ह्याण्डीक्राफ्टका सञ्चालक समेत रहेका अध्यक्ष श्रेष्ठसँग गरिएको विशेष कुराकानीको सम्पादित अंशः
फेल्ट भनेको के हो ?
फेल्ट भनेको हामीले पारम्पारिक रूपमा राडीपाखी बनाउने ऊनलाई साबुनपानीले जमाएर बनाउने प्रविधि हो । हामीलेचाहिँ अहिले ऊनबाट फेल्ट निर्माण गरिरहेका छौं, जसलाई हामी ऊलन फेल्ट भन्दै आएका छौं, जहाँ हामी ऊनलाई साबुनपानीले जमाएर फेल्ट बनाइरहेका छौं । त्यस्तै एक्रेलिक फेल्ट पनि हुन्छ, जसले हरेक कच्चा पदार्थ (र मेट्रियल्स) हरूलाई जमाएर फेल्ट बनाउँछ । त्यही फेल्टबाट हामीले विभिन्न सामग्रीहरू उत्पादन गर्ने हो । जस्तो, हामीले घर तथा कार्यालयका कोठाहरूमा बिच्छ्याउने अधिकांश कार्पेटहरू पनि फेल्टिङबाटै निर्माण गरिएका हुन्छन् ।
नेपालमा अहिले दुई वटा प्रविधिबाट फेल्टिङ गरिँदै आएको छ । एउटा त साबुन पानीले जमाएर गरिने ऊलन फेल्ट हो भने अर्को ऊनलाई नै निडिलले जमाउने निडिल फेल्ट हो । जस्तो काँचो माटोबाट हामी विभिन्न सामग्रीहरू बनाउँछौं त्यस्तैगरी फेल्टबाट पनि हामीले विभिन्न वस्तुहरूको आकार दिएर सामग्रीहरू बनाउन सक्छौं । जस्तै जुत्ता, गुच्चा, झोलालगाय घरयासी र विभिन्न सजावटका सामग्रीहरू बनाउन सकिन्छ । त्यस्तै अर्को पानीबाट जमाउने वेल्ट फेल्ट पनि छ, तर त्यो अहिले नेपालमा त्यति प्रयोगमा छैन ।
नेपालमा फेल्टिङ कहिले भित्रियो त ?
नेपालमा फेल्टिङ गरेर सामग्रीहरू उत्पादन गर्न थालिएको त्यति लामो इतिहास हामीसँग छैन । यद्यपि, गाउँघरतिर राडीपाखी र बख्खुहरू भने धेरै पहिलादेखि नै बनाइँदै आएको थियो । कतिपय ठाउँहरूमा ऊनबाट धागो बनाएर ऊनको धागोबाट राडीपाखी र बख्खुलगायत उपयोगी सामग्रीहरू बनाइने गरिन्थ्यो तर, त्यतिबेला पनि फेल्टबाटै यस्ता सामग्रीहरू निर्माण गरिएको हामी पाउँछौं । त्यसैको विकसितरूपमा आएको नवीन प्रविधि फेल्टिङ हो । नवीन प्रविधिको प्रयोगबाटै हामी व्यावसायिकतातर्फ उन्मुख भएका हौं ।
जहासम्म फेल्टिङ नेपाल भित्रिएको प्रसङ्ग छ, त्यसबारे ठ्याक्कै तिथिमिति नभए पनि अहिले काठमाडौंको कालिमाटीमा अवस्थित निरभ भट्टराईको संस्था एसीपी छ, उहाँले जर्मनी हो वा स्वीट्जरल्याण्डको डिजाइनर ल्याएर नेपालबाट फेल्टका वस्तुहरू उत्पादन थालेको पाइन्छ । नेपालमा फेल्टबाट वस्तुहरू उत्पादन गर्ने तथा व्यावसायिकरूपमा उत्पादन थाल्ने शुरूवातकर्ताका रूपमा यो संस्थालाई चिनिन्छ । मैले भन्दाखेरि नेपालमा फेल्ट शुरू भएको २५–३० वर्षको अवधिमा आजको ग्रुमिङ आएको हो ।
जुनबेला हामी घरेलु प्रविधिबाटै राडीपाखी र बख्खुलगायत आवश्यक सामग्रीहरू ऊनबाट बनाउँथ्यौं ती सामानहरू घरायसी प्रयोगमै सीमित भएका थिए । जसको बजारीकरण गरेर व्यावसायिकीकरण गर्न सकिएको थिएन । अहिलेको प्रविधिबाट भने हामीले व्यावसायिकरूपमा सामान निर्यात गरेर विभिन्न देशबाट मुद्रा भित्र्याउन समेत सफल भइरहेका छौं ।
अहिले फेल्टबाट के–कस्ता सामग्रीहरू निर्माण भइरहेका छन् ?
फेल्टबाट हजारौंहजार प्रकारका सामानहरू बनाउन सकिन्छ । यही र यतिनै भन्ने छैन । फेल्टबाट हामी असीमित सामानहरू उत्पादन गर्न सक्छौं । अहिले हामीले बढी उत्पादन गरिरहेको सामानहरूमा स्लिपर जुत्ता, ब्याग, पर्स, कार्पेट, ड्रायर बल, क्याटकेप, वर्ड हाउसलगायत हुन् । त्यस्तै फेल्टबाट विभिन्न किसिमका मूर्तिहरू र बगैंचासमेत बनाउन सकिन्छ ।
फेल्टबाट उत्पादित सामग्रीहरू नेपाली बजार कस्तो छ ?
पछिल्लो समय नेपालीहरूले पनि हाम्रा उत्पादनहरू आंशिकरूपमा प्रयोग गर्न थालेका छन् । चाइनिज प्रडक्ट भन्दा केही महङ्गो छ हाम्रो प्रडक्ट । तर, हाम्रो सामानको आफ्नै किसिमको मौलिकपन छ । त्यसकारण नेपालीहरूले पनि प्रयोग त गर्छन्, तर नेपाली बजार हामी उत्पादनकर्ताका लागि पर्याप्त भने छैन । जस्तो फेल्टिङ गरिएका कार्पेट, स्लिपर (जुत्ता), विभिन्न प्रकारका टोपीहरूलगायत सामग्री नेपालीले प्रयोग गर्ने क्रम बढेको छ । तर, हाम्रो मुख्य बजारचाहिँ नेपाल नभइ विदेश नै भइरहेको छ । किन भने हामीले उत्पादन गरेका ९९.९ प्रतिशत सामान विदेश निर्यात भइरहेको छ ।
विदेशमाचाहिँ कुन–कुन देशमा पुर्याउनुहुन्छ नेपाली उत्पादन ?
केही गल्फ कन्ट्रीहरूबाहेक विश्वमा अन्य सबै मुलुकमा प्रायः नेपाली उत्पादनहरू पुगिसकेको छ । सामान्यतः गर्मी हुने देशहरूमा हाम्रा सामानहरू जाने गरेका छैनन् तर जुन देशमा जाडो धेरै हुन्छ ती देशमा हाम्रा उत्पादनहरू पुग्ने गरेका छन् । बढी जाडो हुने मुलुकहरूबाट नै हाम्रा सामानको माग अत्यधिक भइरहेका छन् ।
अलि धेरै व्यापार हुने देशहरू कुन–कुन हुन ?
हाम्रो सबैभन्दा ठूलो मार्केट अमेरिका हो । अमेरिकासहित क्यानडा, अष्ट्रेलिया, जापान र युरोपका सबै देशहरूमा हाम्रो सामान जान्छ । जस्तोः जर्मन, स्वीट्जरल्याण्ड, इटली, स्पेन, डेनमार्क, बेल्जियम, फ्रान्सलगायत मुलुकमा पनि हाम्रा सामानहरू धेरै गइरहेका हुन्छन् । पछिल्लो समय इजरायलसम्म पनि नेपाली ऊनी फेल्टका सामग्रीहरू जान थालेका छन् ।
फेल्टजन्य वस्तुहरू त अन्य मुलुकहरूबाट पनि उत्पादन, विक्रीवितरण र निर्यात हुने गरेको पाइन्छ । नेपाली व्यवसायीले यसको निर्यातमा प्रतिस्पर्धा गर्नु परेको छ कि छैन ?
प्रतिस्पर्धाविनाको व्यापार त सोच्ने कुरै भएन नि । जुनसुकै व्यापारमा प्रतिस्पर्धा चलिरहेको हुन्छ । जहाँसम्म नेपाली फेल्टजन्य वस्तुको व्यापारको कुरा छ, यसका लागि हामीले मुख्यतया अहिले छिमेकी मुलुकद्वय चीन र भारतसँगै प्रतिस्पर्धा गरिरहेका छौं । साथै कीर्जिकिस्तान र उज्वेकिस्तानसँग पनि हामीले राम्रै प्रतिस्पर्धा गर्न परिरहेको छ ।
मुख्यतः अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको नेपाली फेल्टजन्य वस्तुको उत्पादन, माग र आपूर्तिको अवस्था कस्तो छ ?
हामीले फेल्टका उत्पादनहरू उत्पादन र निर्यात गर्न थालेको लामो इतिहास नभए पनि नेपाली वस्तुको माग हरेक वर्ष वृद्धि भइरहेको छ । त्यसै अनुसार हामीले पनि उत्पादनलाई बढाउँदै लगेका छौं । जसले गर्दा माग बढी हुने र उत्पादन गर्न नसक्ने अवस्था अहिलेसम्म कसैको पनि छैन । मागका आधारमा हामीले जनशक्ति वृद्धि, फ्याक्ट्रीको क्षमता वृद्धि र एक–आपसमा समन्वय गरेर तथा सहायक सप्लायर्सहरूलाई दिएर भए पनि माग ‘डिले’ गरेका छैनौं ।
जस्तो हामीले सरसरर्ती हेर्दा सन् २००० देखि यता अहिले सन् २०२१ सम्म आइपुग्दा फेल्टजन्य सामग्रीहरूको माग तथा निर्यात प्रत्येक वर्ष वृद्धि हुँदै आएको छ । तथ्याङ्क हेर्ने हो भने गएको वर्ष करीब ३ अर्ब रूपैयाँको निर्यात भएकोमा यो वर्ष बढेर ५ अर्ब रूपैयाँ भन्दा माथि पुगेको छ । शुरूवाती चरणमा पाँच लाख रूपैयाँदेखि १० लाख रूपैयाँबाट शुरू भएको निर्यातको अवस्था आजको स्थितिमा आइपुग्नु हामी व्यवसायी र नेपालका लागि खुशीको कुरा हो ।
तपाईंहरूले उत्पादन गरेका सामग्रीहरू कुन–कुन माध्यमबाट विदेश निर्यात हुँदै आएको छ, समस्याहरू के–के छन् ?
हाम्रा उत्पादनहरू हामीले धेरैजस्तो स्थलमार्गबाटै निर्यात गरिरहेका छौं । कतिपय अवस्थामा हामीले हवाई सेवाको पनि प्रयोग गर्नुपरिरहेको छ । यो क्षेत्रमा अहिले सबका सब अवस्थाहरू ठिकठाक भए पनि ढुवानीमा भने हामीले विभिन्न खालका समस्याहरू झेलिरहेका छौं । विश्वव्यापी कोरोना भाइरस सङ्कटबाट उत्पन्न परिस्थितिका कारण अहिले हामीले ढुवानीका लागि कन्टेनरहरू पाइरहेका छैनौं । पाएमा पनि निकै महङ्गो शुल्क तिर्न परिरहेको छ । ५÷६ महिनाअघिसम्म ३ हजार डलर तिर्दा पाइने कन्टेनर अहिले ८ हजार डलर तिर्दा पनि पाइरहेका छैनौं ।
कन्टेनर नपाउँदा नेपालमा उत्पादित फेल्टजन्य अरबौं रुपैयाँ बराबरको सामान निर्यात गर्न सकिरहेका छैनौं । हामीले यी सामान पठाउन पाएनौं भने हाम्रो लगानी जोखिममा पर्नाका साथै राज्यलाई समेत असर पर्ने भएकाले यसबारेमा सम्बन्धित निकायहरूले सहजीकरण गरिदिन अनुरोध गर्दछु । राज्यले कतिपय अनावश्यकरूपमा खर्च गरिरहेको पैसा सदुपयोग गरेर भए पनि व्यवसायीको समस्या समाधानतिर लागिदिन सरकारलाई विशेष आग्रह गर्न चाहान्छु ।
तपाईंहरूको उद्योगमा प्रयोग हुने कच्चा पदार्थ (ऊन) कहाँबाट आउँछ ?
ऊनी फेल्टबाट सामान उत्पादन गरिरहेका जति पनि नेपालका उद्योगहरू छन् ती सबैले न्यूजील्याण्डबाट कच्चा पदार्थ (ऊन) ल्याउने गरेका छौं । पहिले–पहिले टिबेटबाट पनि आउने गरेको थियो, तर अहिले कच्चा पदार्थका लागि हामी पूर्णरूपमा न्यूजील्याण्डसँग निर्भर छौं । कच्चा पदार्थ आयातका लागि न्यूजील्याण्ड सरकारसँग नेपाल सरकारले समझदारी गरेको छ । जसका कारण नेपाललाई ड्युटी–फ्रि (भन्सार छूट) छ । नेपालका मानिसहरूले काम पाउन भनेर दुई वटा देशका सरकारहरूले यस्तो समझदारी गरेका हुन् । जसले हामीलाई कच्चा पदार्थ आयातमा सहजता मिलेको छ ।
नेपाली ऊनले माग धान्न नसकेर विदेशबाट ऊन आयात गर्नुभएको हो ?
होइन, हामी नेपाली ऊन नै प्रयोग गर्दैनौं । किनभने न्यूजील्याण्डबाट आउने ऊन उन्नत जातको भेडाको हो । त्यो कम म्याक्रोनको अर्थात् धेरै नरम हुन्छ । हाम्रो नेपालमा पालिने भेडाको ऊनचाहिँ खस्रो, कडा र रेशा छोटो वा बाक्लो हुन्छ । उनीहरूको भेडाको ऊन लामो, रेशा पातलो हुने भएकाले त्यसबाट बन्ने सामग्रीहरूको गुणस्तर राम्रो हुने भएकाले हामीले नेपाली ऊनको सट्टा विदेशी ऊनको प्रयोग गरिरहेका हौं । नेपाली भेडाको ऊनबाट बनाइएका सामानहरू गुणस्तरका हुँदैनन् ।
हामी १४ खर्ब रूपैयाँ बराबरको आयात गर्छौं भने १ अर्ब रूपैयाँ बराबरको बल्लतल्ल निर्यात गर्छौं । निर्यात बढाउन सकेमा व्यापार घाटा कम गर्न सकिन्छ, तर खोइ त निर्यात बढाउन सरकारले पहल गरेको ? निर्यात बढाउने के योजना छ सरकारसँग ? निर्यात वृद्धिका लागि हामीसँग कुनै छुट्टै विभाग छैन । उद्योग विभाग छ, तर निर्यात विभाग छैन । हामीसँग आपूर्ति मन्त्रालय छ, तर निर्यात मन्त्रालय छैन । यो हदसम्म सरकार कमजोर हुनु, सरकारसँग निर्यात बढाउने योजना नहुनु र स्थायी सरकार भनिएका ब्युरोक्रेसीले राजनीतिक प्रभाव र दबाबमा उपयुक्त ढङ्गले काम गर्ने वातावरण नहुनुले नेपालको व्यापारघाटा बढेकोबढ्यै गरेको हो ।
नेपाली ऊन त फेल्टिङमा प्रयोग भएनन् नै, नेपालमै कच्चा पदार्थ उत्पादन गर्नसक्ने अवस्थाचाहिँ छ कि छैन ?
अवश्य छ, नहुने र नसक्ने त कुरै भएन । त्यसका लागि हामीले नेपाल सरकारसँग पनि छलफल गरिरहेका छौं । न्यूजील्याण्डबाटै उन्नत जातका भेडा ल्याएर विडिङ गराई ऊन उत्पादन गर्न सकिन्छ । यसो गर्दा नेपालीहरूमा थप रोजगारी सृजना हुने, आयआर्जन बढाउन सकिने तथा विदेशमा जाने युवा जनशक्ति र पैसालाई समेत थप रोक्न सकिन्थ्यो ।
तपाईं त नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको नेतृत्वमा यसअघि पनि दुई कार्यकाल हरनुभयो, पुनः नेतृत्वमा फर्किनुभएको छ । के–के छन् योजनाहरू ?
फेल्ट उद्योगलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि तालिमको व्यवस्था गर्ने र कच्चा पदार्थ परीक्षणका लागि प्रयोगशाला निर्माणको पहल गर्नु मेरो मुख्य लक्ष्य छ । नेपालले आफ्नै प्रयोगशाला (ल्याब) बनाओस् भन्ने हामी सबै उद्योगी–व्यवसायीको चाहना पनि छ ।
जस्तो कि हामीलाई अहिले पचासौं हजार जना दक्ष जनशक्तिको खाँचो छ । तर दक्ष जनशक्ति छैन । अदक्ष कामदारहरूलाई लिएर उद्योग सञ्चालन गरिरहनुपरेको छ । त्यो पनि काम सिकेपछि विदेश गइदिने परीपाटीले झन् समस्या परिरहेको छ । यो समस्या समाधानका लागि सरकारसँगको समन्वयमा तालिम केन्द्र सञ्चालन गर्ने मेरो उद्देश्य छ । हुन त यसअघि पनि हामीले नेपाल सरकारसँग केही बजेट लिएर फेल्ट एसोसिएशनमार्फत नै बेलाबखत तालिमहरू सञ्चालन गर्दै आएका छौं, तर त्यो पर्याप्त भइरहेको छैन ।
हामीलाई चाहिने पचासौं हजार जनशक्तिलाई नियमित तालिम सञ्चालन गर्न सक्यौं भने सबैका लागि राम्रो हुन्छ । त्रिपुरेश्वरमा उद्योग मन्त्रालयअन्तर्गतको एउटा तालिम केन्द्र छ, त्यो तालिम केन्द्रलाई हामीले लामो समयका लागि भाडामा लिएर तालिम केन्द्र बनाउने सोच मेरो छ । त्यस्तै हामीकहाँ आउने कच्चा पदार्थको ‘क्वालिटी कन्ट्रोल’का लागि ल्याब पनि नभइरहेको अवस्था छ । अहिले हामीले ल्याउने कच्चा पदार्थको आयात र उत्पादित वस्तुको निर्यात गर्न चीन, भारत र हङकङमा पुर्याएर गुणस्तर परीक्षण गर्नुपरिरहेको छ । यसले नेपाली पैसा विदेश पलायन गराइरहेको छ ।
त्यसकारण नेपाल सरकारले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ‘हाइ ग्रेड’को ल्याब स्थापना गरोस् भन्ने हाम्रो चाहना छ । त्यसका लागि पनि सरकारसँग म र मेरो कार्यकाल लबिङमा रहने छ । त्यस्तै गुण नियन्त्रण विभागको बालाजुस्थित प्रयोगशालालाई पनि अपग्रेड गरेर हाइ ग्रेडको बनाउन सकिने अवस्था छ । त्यसका लागि पनि हाम्रो एसोसिएशनले छलफल अगाडि बढाउने छ ।
त्यस्तै नाष्टको प्रयोगशालालाई पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त बनाउन सकिन्छ भने ख्यातीप्राप्त विदेशी प्रयोगशालाहरूको शाखा पनि सञ्चालन गर्न सकिने अवस्था छ । उपलब्ध विकल्पहरूबारे सरकारले निर्णय लिने कुरा हो । त्यसमा हाम्रो एसोसिएशनले भरपूर सहयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता मेरो छ ।
किन भने हामीसँग ल्याब नहुँदा कच्चापदार्थ निर्यातकर्ताले पनि हामीलाई कम गुणस्तरको सामान पठाउने गरेको छ । जस्तो, पहिले २८ म्याक्रोनको ऊन आउँथ्यो तर अहिले क्वालिटी बिग्रेर ३० देखि ३१ म्याक्रोनको ऊनहरू आउन थालेको छ । यसबाट हामीले उत्पादन गर्ने सामानहरूको गुणस्तरमा समेत कमी आउँछ । त्यसकारण पनि हामीलाई प्रयोगशाला जरुरी छ ।
तपाईंहरू निर्यातकर्ता व्यवसायी हुनुहुन्छ । तर, नेपालले निर्यात गर्नै नसकेर व्यापारघाटा चुलिँदो अवस्थामा पुगेको विद्यमान स्थिति छ । यसको कारण के होला ?
हो नेपालको व्यापारघाट एकदमै चुलिदो अवस्थामा छ । हामी १४ खर्ब रूपैयाँ बराबरको आयात गर्छौं भने १ अर्ब रूपैयाँ बराबरको बल्लतल्ल निर्यात गर्छौं । निर्यात बढाउन सकेमा व्यापार घाटा कम गर्न सकिन्छ, तर खोइ त निर्यात बढाउन सरकारले पहल गरेको ? निर्यात बढाउने के योजना छ सरकारसँग ? निर्यात वृद्धिका लागि हामीसँग कुनै छुट्टै विभाग छैन । उद्योग विभाग छ, तर निर्यात विभाग छैन । हामीसँग आपूर्ति मन्त्रालय छ, तर निर्यात मन्त्रालय छैन । यो हदसम्म सरकार कमजोर हुनु, सरकारसँग निर्यात बढाउने योजना नहुनु र स्थायी सरकार भनिएका ब्युरोक्रेसीले राजनीतिक प्रभाव र दबाबमा उपयुक्त ढङ्गले काम गर्ने वातावरण नहुनुले नेपालको व्यापारघाटा बढेकोबढ्यै गरेको हो । यदि सरकारले निर्यात प्रवर्द्धनका लागि दीर्घकालीन प्रभाव पार्नेगरी उचित कदम चाल्ने हो भने मुलुकको व्यापार घाटा क्रमशः कम गर्दै लैजान सकिन्छ ।
धेरैजासो देशहरूमा निर्यात मन्त्रालय हुन्छ, तर हामीकहाँ एउटा सानो निर्यात तथा व्यापार प्रवर्द्धन केन्द्र (टीपीसी) छ । त्यसलाई पनि चाहेजति अधिकार नदिएर शक्तिहीनजस्तै बनाइएको छ । हाम्रो सुझाव त के हो भने त्यही टीपीसीलाई अपग्रेड गरेर निर्यात बोर्ड वा निर्यात विभाग बनाऔं भन्ने हो । केही बजेट व्यवस्थापन गरेर त्यसले निर्यात हुन नसक्नुकाबारे खोजीनीति गरोस् र उचित कदम चालोस् भन्ने हाम्रो धारणा रहँदै आएको छ ।
निर्यात किन भएन वा कम किन भयो भनेर सरकारले खोजी गर्नुपर्छ । व्यवसायीमैत्री कानून निर्माण गरिदिनुपर्छ, कानून निर्माणमा स्टेक होल्डरहरूको सहभागिता गराउने, कहाँ के समस्या परेको छ त्यसको तत्काल समाधान गर्ने, कानूनले अड्चन गरेका कुराहरू आवश्यकताअनुसार खुला गर्ने, व्यवसायीहरूलाई निर्यातमा लक्ष्य तोकिदिने र सरकारले त्यसका लागि सहयोगी भूमिका निर्वाह गर्नेलगायत भूमिका निर्वाह गर्ने हामीसँग कुनै बलियो निकाय नै भएन । जसका कारण निर्यात भएन मात्रै भनियो, किन र कसरी हुन सकेन भनेर कहिल्यै खोजिएन । यो अवस्थामा निर्यात वृद्धि गर्न धेरै गाह्रो छ ।
सरकारको यति धेरै कमजोरीहरू औंल्याउनुभयो, खासमा तपाईंहरूले भनेजस्तो गर्न सरकार किन चाहँदैन होला ?
यो बारेमा म के भनौं र । अनविज्ञता वा लाचारीपन हो जस्तो लाग्छ मलाई । मेरो विचारमा उहाँहरूमध्ये धेरैलाई निर्यात नै थाहा छैन । थाहा भए पनि थाहा नपाएजस्तो गर्नेको संख्या धेरै छ । जस्तो फेल्ट भनेको उहाँहरूलाई थाहा छैन । पस्मिना कसरी बनाइन्छ उहाँहरूलाई थाहा हुँदैन, कसरी औद्योगिक काम हुन्छ, कसरी कच्चा पदार्थ आउँछ यो सबै विषयबारे उहाँहरू चासो राख्नुहुन्न । अहिलेसम्म जेजति भएका छन् निजी क्षेत्रको एक्लो प्रयासबाट मात्रै भइरहेका छन् भन्ने मेरो बुझाइ हो ।
निर्यात वृद्धि गर्न सरकारले ठूला–ठूलो प्याकेजहरू ल्याउनुपर्ने हो । हाम्रै छिमेकी देश भारतले निर्यात वृद्धिका लागि ठूलो औद्योगिक ग्राम नै बनाइरहेको हामीले देखेका छौं । जस्तो सर्वसाधारणले जग्गा किन्न गयो भने १० हजार रूपैयाँ स्क्वायरफिट मूल्य हुन्छ भने निर्यात कम्पनीले किन्यो भने शर्तसहित ३ हजार रूपैयाँ स्वायरफिटमै पाइन्छ । किनभने त्यहाँ निर्यातलाई प्रवर्द्धन गर्न राज्यले नै योजना बनाइसकेको हुन्छ । तर, हामीकहाँ त्यस्तो परिपाटी छँदै छैन । नेपालमा पछिल्लो समय केही कामको शुरूवात भए पनि त्यो प्रभावकारी र पर्याप्त छैन ।
पछिल्लो समय बजारमा देखिएको तरलताको अभावले फेल्ट व्यवसायीलाई कस्तो असर पारिरहेको छ ?
फेल्ट उद्योग र यससँग सम्बन्धित मात्रै नभइ तरलता अभावको मार सम्पूर्ण उद्योगी–व्यवसायीलाई परिरहेको छ । एप्रुभ भएको लोनमा पैसा पाइएको छैन, लिइएको लोनमा बैंक आफैंले करीब दोब्ब ब्याज वृद्धि गरिरहेको छ, ओभरड्राफ्टको सीमा घटाउने दबाब बैंकहरूले दिइरहेका छन् । यसबाट हामी आम उद्योगी–व्यवसायीहरू मारमा अवश्य परेका छौं । तरलता अभाव देखाएर पहिल्यै लिएको लोनमा समेत खर्च बढ्छ भन्दै ब्याज बढाउनु बैंकहरूको पनि बद्मासी हो ।
करीब ६ महिनाअघिसम्म बैंकहरूले ऋण लिन तानातान गर्ने अवस्था थियो, तपाईंको विचारमा अहिले एप्रुभ भएको लोनमा पैसा नै दिनै नसक्ने गरी पैसाको अभाव कसरी हुन सक्या होला ?
विकास बजेटको खर्च कम हुनु, नेपाल राष्ट्र बैंकले सीडीसी रेसियो कडा पार्नुलगायत कारणले यस्तो भएको मेरो बुझाई छ । यद्यपि, यो मात्रै कारण पर्याप्त छैन । बजारमा यो समस्या आउनुमा कोही न कोहीले केही षडयन्त्र गरेको हुनुपर्छ । अन्यथा ६ महिनाअघिसम्म फालाफाल भइरहेको पैसा एकाएक बजारबाट कसरी हरायो ? यसबारे उचित छानविन हुनुपर्छ भन्ने मेरो मान्यता छ । किनभने हाम्रो अर्थतन्त्रलाई ध्वस्त बनाउने तत्वहरू सक्रिय भएको पनि हुन सक्दछन् ।
FACEBOOK COMMENTS