काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल सार्वजनिक गरेको छ। यससँगै नेपाली मोटरसाइकल बजारमा नयाँ सेग्मेन्टको औपचारिक सुरुवात भएको छ।
राजधानीको स्काइ टावरमा आयोजित भव्य कार्यक्रममा उक्त मोटरसाइकल अनावरण गरिएको हो। करिब ७८.५ मिटर अग्लो टावरमा कार्यक्रम आयोजना गर्नुले यामाहाको नवप्रवर्तनलाई नयाँ उचाइमा लैजाने सन्देश दिएको कम्पनीले जनाएको छ।
कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरूलाई विशेष प्रिभ्यु दिइएको थियो भने दोस्रो चरणमा सञ्चारमाध्यम, डिलर, व्यवसायिक साझेदार तथा राइडिङ समुदायको सहभागिता रहेको थियो।
कार्यक्रममा कम्पनीका अध्यक्ष विष्णु कुमार अग्रवाल, कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालसहित उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा चर्चित व्यक्तित्व वर्षा बस्नेत र श्रीहरी पौडेलको पनि सहभागिता थियो।
साथै यामाहाले अनुप विक्रम शाहीलाई ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ। अनावरणको मुख्य आकर्षण एफजेड सिरिजअन्तर्गतको हाइब्रिड मोटरसाइकल रहेको थियो। सन् २००८ देखि चर्चित यस सिरिजलाई निरन्तरता दिँदै कम्पनीले १४९ सीसी फ्युल–इन्जेक्टेड इन्जिनसँग स्मार्ट मोटर असिस्ट प्रविधि जोडिएको हाइब्रिड प्रणाली सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार नयाँ मोटरसाइकलले इलेक्ट्रिक असिस्टमार्फत उच्च एक्सेलेरेशन, स्टार्ट–स्टप प्रणाली, सुधारिएको माइलेज र कम उत्सर्जन प्रदान गर्छ। विशेषगरी सहरी यात्रालाई लक्षित गर्दै डिजाइन गरिएको यस प्रणालीले कम स्पिडमा सहज पावर डेलिभरी दिने बताइएको छ।

इन्धनको बढ्दो मूल्य र ट्राफिक जामको समस्यालाई मध्यनजर गर्दै हाइब्रिड प्रविधि व्यवहारिक समाधानका रूपमा अघि सारिएको कम्पनीको भनाइ छ। मोटरसाइकलले ६० किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज दिने दाबी गरिएको छ। सुरक्षा र आरामका हिसाबले पनि मोटरसाइकलमा विभिन्न सुविधा समावेश गरिएको छ। १३५ केजी तौल भएको बाइकमा सिंगल–च्यानल एबीएस, रियर डिस्क ब्रेक, चौडा रेडियल टायर लगायतका विशेषता रहेका छन्।

कार्यक्रमस्थलमा “एक्सपिरियन्स जोन” पनि तयार गरिएको थियो, जहाँ एफजेड सिरिजको विगतदेखि वर्तमानसम्मको विकास यात्रा प्रस्तुत गरिएको थियो। सहभागीहरूले मोटरसाइकलको डिजाइन, प्रविधि र विशेषताबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका थिए।

नेपालभर १०० भन्दा बढी डिलरशिप र सेवा केन्द्रमार्फत यामाहाले ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ। कार्यक्रममा बोल्दै अध्यक्ष विष्णु कुमार अग्रवालले नेपालमा हाइब्रिड प्रविधि भित्र्याउनु यामाहाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले नेपाली राइडरका लागि उन्नत र विश्वस्तरीय प्रविधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापनमा सीईओ दीपक कुमार अग्रवालले साझेदार र ग्राहकप्रति आभार व्यक्त गर्दै नेपालको यातायात क्षेत्रलाई आधुनिक बनाउने दिशामा कम्पनी प्रतिबद्ध रहेको बताए। यस अनावरणसँगै नेपालमा हाइब्रिड मोटरसाइकल युगको औपचारिक सुरुवात भएको विश्लेषण गरिएको छ।
FACEBOOK COMMENTS