काठमाडौं । नेपालमा हवाई कार्गो सेवालाई थप डिजिटल बनाउन यती एअरलाइन्सले ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याउने भएको छ ।
उपाय सिटी कार्गो प्रा.लि.सँग रणनीतिक साझेदारी गरी यतीले यो सेवा सुरुवात गर्न लागेको हो । ग्राहकहरुले यती एअरलाइन्समा कार्गो पठाउनका लागि उपायको अत्याधुनिक लजिस्टिक्स प्लेटफर्म प्रयोग गरी घरमै बसीबसी ‘डोर टु डोर कार्गो सेवा’ बुक गर्न सक्ने छन् ।
अब कार्गो पठाउन एअरपोर्ट वा कार्यालय धाउनु पर्ने छैन । उपायले बुकिङ अनुसार ग्राहकको घरमै सामान लिन आउने र गन्तव्यसम्म पुर्याइदिने सम्मको सेवा प्रदान गर्ने छ ।
डिजिटल बुकिङ र ट्रयाकिङ: मोबाइल वा वेबमार्फत् सजिलै बुकिङ गर्न सकिने र सामानको स्थिति रियल–टाइममा ट्र्याक गर्न सकिने छ । यती एअरलाइन्ससँगको यो साझेदारीले नेपालको कार्गो सेवा क्षेत्रमा नवीन युगको सुरुवात गर्नेछ ।
यस सेवा सुरुवात गर्नुको मुख्य उद्देश्य एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘यती एयरलाइन्सको प्रतिबद्धता सदैव नेपाललाई छिटो र भरपर्दो रूपमा जोड्ने हो । उपायको प्रविधि र दक्षता तथा हाम्रो हवाई सञ्जाल संयोजन हुँदा देशभरका व्यवसाय र व्यक्तिगत ग्राहकका लागि विश्वसनीय कार्गो सेवा सम्भव हुनेछ ।’
दुवै कम्पनीले आगामी दिनमा सेवालाई अझ आधुनिक बनाउन एआइ आधारित रुट अनुकूलन, स्वचालित हबहरु र डेटा–आधारित लजिस्टिक समाधान जस्ता नवीन प्रविधि लागू गर्ने तयारी समेत गरेका छन् ।
FACEBOOK COMMENTS