दिपक पराजुली
हेटौडा, २४ फाल्गुण -लामो समय चर्चाको बिषयको रुपमा रहेको भीमफेदी कुलेखानी सुरुङ्गमार्गले मुर्तरुप लिने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार निर्माणको केहि समयमा नै यसलाई गौरवको आयोजनाको रुपमा घोषणा गरेका थिए। पोस्ट बहादुर बोगटी नाम दिइएको यस भीमफेदी कुलेखानी सुरुङ्गमार्गको अध्ययन अन्तिम चरणमा पुगेको छ। बैशाखको पहिलो हप्तासम्म बिस्तृत अध्ययन प्रतिबेदन तयार गरी बैशाख भित्रै टेन्डर गरिने भौतिक पूर्वाधार बिकास मन्त्रालयले जनाएको छ। सुरुङ्ग निर्माणका लागि गरिने पाँच वटा सर्भे करिब सकिएको र भूगर्भीय हिसाबमा पनि सुरुङ्ग निर्माणका लागि उक्त क्षेत्र उपयुक्त रहेको भूगर्भशास्त्री र्इश्वर दाहालले बताए। अध्ययनको क्रममा ५० मिटर भित्रबाट ढुंगा माटो निकालेर अध्ययन गरिएको उनको भनार्इ छ। सुरुङ्गमार्ग निर्माण कार्यमा अनवरत रुपमा लागिरहेको र तोकिएको समय सिमा भित्रै टेण्डर आब्हान गरिने यातायात महाशाखा प्रमुख सहदेव भण्डारीले बताए। उनका अनुसार अहिले डिजाइनमा १० ,माटो परिक्षणमा २० ,टोपोग्राफी ,जियोफिजिकल र ड्रोन सर्भेका लागि पाँच पाँच गरि कुल ४५ प्राविधिक निर्माणस्थलमा खटिएका छन् । कतिपय प्राविधिकहरु फिल्डमा नै टेन्ट टाँगेर बस्दै आएका छन् । प्राविधिकहरु खटाईएकाले केहि दिनमा नै बिस्तृत अध्ययन प्रतिबेदन आउने मन्त्रालयको भनार्इ छ ।
यो सुरुङ्गमार्ग तयार भएमा प्रदेशको राजधानी हेटौडा र काठमाण्डौ सहज हिसाबले जोडिने छ । यस सडक खण्ड देश कै मेरुदण्डको रुपमा रहने भएकोले प्रदेश सरकारले यसलाई बिशेष महत्व दिएको छ। प्रस्तावित ३.५ किलोमिटर सुरुङ्गमार्गको निर्माण पछि नेपालले दिर्घकालिन विकासको लक्ष्य समात्न सक्ने र आर्थिक विकाससँगै काठमाण्डौ केन्द्रित जनसंख्यालार्इ समेत विकेन्द्रिकृत गर्न सकिने मुख्यमन्त्री डोरमणि पौडेलको भनार्इ छ। उनले सुरुङ्गमार्ग निर्माण पछि हेटौडा भीमफेदी र सिस्नेरी काठमान्डौ सडक खण्ड पनि फराकिलो बनाउने योजना रहेको बताए। यो सुरुङ्गमार्ग निर्माणसँगै भारतबाट अमलेखगंजसम्म आएको पाइप लाइनलाई काठमान्डौसम्म पुर्याउने योजनामा प्रदेश सरकार रहेको छ । तसर्थ पनि यो योजना बहुआयमिक र महत्वकांक्षी छ।
भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले शुक्रबार निर्माणस्थलको निरिक्षण तथा अनुगमन गरेका छन्। प्राविधिकका अनुसार हाल १२ मिटरको दुइतर्फी यातायात संचालन हुने एउटा र नजिकै एकतर्फी मात्र यातायात संचालन गर्न मिल्ने ५ मिटर चौडाको अर्को सुरुङ्गमार्ग निर्माण हुनेछ। दुइवटै सुरुङ्गमार्गलार्इ मध्यभागमा जोड्ने तेस्रो सुरुङ्ग समेत निर्माण हुनेछ। जुन बिभिन्न कारणले यातायात अबरुद्द हुदा उपयोगी हुनेछ।मुख्यमन्त्रीको महत्वाकांक्षी र प्रदेशको गौरवको आयोजना हुनुका साथै केन्द्रिय सरकार पनि सुरुङ्ग निर्माणको पक्षमा भएकोले यो योजना सफल हुनेमा मन्त्री फुयाल बिश्वस्त् छन्।
FACEBOOK COMMENTS