काठमाडौं, चैत १६ –विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन । अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीहरुको संख्या बढ्दो छ । तर, अब यो बाध्यता हटेको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने अत्याधुनिक शल्यक्रिया सेवाको थालनी गरेको छ ।जर्मन र ताइवानबाट विशेष तालिम प्राप्त गरी स्वदेश फर्किएका नेपाली चिकित्सकहरुको सहयोगमा नर्भिकले यो सेवाको सुरुवात गरेको हो ।
उच्चतम अत्याधुनिक प्रविधिको प्रयोग गरी नर्भिकमा डा. किशोर भण्डारी र डा.मनीष बज्राचार्यको टिमले यस्तो शल्यक्रिया सेवा दिन सुरु गरेको हो । अस्पतालकाे अनुसार यस्तो सेवा नेपालका कुनै पनि अस्पतालले उपलब्ध गराएका छैनन् ।
के हो अनुहारको असामान्य आकृति ?
अनुहारको माथिल्लो र तल्लो हड्डीबीचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई फेसियल डिफर्मिटिज भनिन्छ । यसको शल्यक्रियाद्वारा गरिने उपचार विधिलाई अर्थोजिन्याथिक सर्जरी भनिन्छ ।
शारिरीक विकास हुने क्रममा अनुहारका हड्डीबीचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारका फेसियल डिफर्मिटिज उत्पन्न हुनसक्छन् । जस्तै अनुहारको माथिल्लो भागको हड्डी चाहिने मात्रामा विकास नहुनु, तल्लो भागको हड्डी अस्वभाविक रुपले धेरै विकास हुनु, च्यूडो बांगिएर अनुहारको आकृति असामान्य हुनु, माथि र तलको दाँतको समन्वय नमिल्दा मुख बन्द नहुनु आदि । यसको अलावा बाल्यकालमा अनुहारमा लागेका चोटपटककको सही उपचार नहुँदा पनि युवा अवस्थामा अनुहारको बनावट असामान्य रुपले विकास हुनसक्छ ।
यसकाे उपचार कसरी गरिन्छ ?
डा. किशोर भण्डारीका अनुसार सामान्यतया यस्तो अपरेशनअघि दाँतमा ब्रेसेज बाँधिन्छ र अपरेशनद्वारा अनुहारको माथिल्लो र तल्लो हड्डीलाई नयाँ पोजिसनमा सारी टाइटेनियम प्लेट्स र स्क्रूले फिक्स गरिन्छ । सम्पूर्ण शल्यक्रिया मुखभित्रबाट गरिन्छ, जसले गर्दा अनुहारमा कुनै पनि प्रकारको दाग देखिदैँन ।
यस्तो शल्यक्रिया अवधि ४–६ घण्टाको हुन्छ । शल्यक्रियापछि धेरैमा ३ दिन मात्र अस्पताल बस्नुपर्ने हुन्छ । बिरामीले काम, पढाई वा दैनिक कामबाट १–२ हप्तासम्मका लागि विदा लिनुपर्ने हुन्छ । ६ हप्तासम्म झोलिलो खानेकुरा मात्र खानु पर्छ । शल्यक्रियाको २–३ हप्तापछि ब्रेसेज बाँध्ने काम सुरु हुन्छ र यो प्रक्रिया ६ महिनादेखि डेढ वर्षसम्म जारी रहन्छ ।
नर्भिकमा यस खालको शल्यक्रियामा संसारभरिमै उत्कृष्ट मानिने भर्चुअल सर्जिकल प्लानिङ(भीएसपी) अर्थात कम्प्युटुरको सहायताले अनुहारको बनौट निर्कयाैल गरिने आधुनिक तथा उच्चतम प्रविधि प्रयोगमा ल्याएको छ ।
FACEBOOK COMMENTS